कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेम्वाङको उम्मेदवारी, शेर्पामाथि आरोप

‘अब नेपाली फुटबल अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनुपर्छ’

जोमसोम — अखिल नेपाल फुटबल संघ (एन्फा) को चारवर्षे कार्यकालका लागि निर्वाचन हुन ठीक एक महिनाअघि अध्यक्ष पदका लागि पंकजविक्रम नेम्वाङले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

नेम्वाङको उम्मेदवारी, शेर्पामाथि आरोप

निर्वाचन असार ६ मा हुनेछ । वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले त्यसअघि पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनका प्रत्याशी रहने वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भने आधिकारिक रूपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ ।

शुक्रबार कार्यक्रमपछि नेम्वाङले सातदोबाटोस्थित एन्फा मुख्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी घोषणा गर्नेक्रममा उनले वर्तमान अध्यक्ष शेर्पामाथि आर्थिक अनियमिताको आरोप लगाए । उनले भनेका छन्, ‘हामीले आर्थिक नियमावाली त बनायौं, तर आर्थिक अनियमिता बढ्दै गयो । अहिले फिफाले लेखा परीक्षक पठाएर त्यसबारे छानबिन गरिरहेको छ । अहिले एन्फामा फिफाको नाकाबन्दी चलिरहेको छ । यो अवस्था किन आयो भने अहिले एन्फामा भ्रष्टाचार चलिरहेको छ । नीतिगत भ्रष्टाचार पनि भइरहेको छ ।’

उनले थपेका छन्, ‘अब नेपाली फुटबल अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनुपर्छ ।’ त्यही अवसरमा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गरे । उनले अध्यक्ष शेर्पा आफ्नो जिम्मेवारीमा पूर्णतः असफल रहेको दाबी गरे । उनले भने, ‘खेलाडीहरूले अध्यक्ष शेर्पाले फुटबल चलाउन सक्नुहुन्न, त्यसैले तपाईंहरू आउनुपर्छ भनेका छन् । त्यसैले म खेलाडीको उम्मेदवार हुँ । अध्यक्ष शेर्पालाई फुटबलको माया छैन । खेलाडीको मतलब छैन ।’

शेर्पा र नेम्वाङले एउटै मोर्चामा रहेर विगतमा तत्कालीन अध्यक्ष गणेश थापालाई आर्थिक अनियमिताको आरोप लगाउँदै एन्फाको सत्ता हत्याएका थिए । अहिले नेम्वाङले शेर्पाविरुद्ध त्यही आर्थिक अनियमितताको आरोप ‘चुनावी हतियार’ बनाएका छन् ।

अध्यक्ष शेर्पाको चर्को आलोचना गर्नेमा एन्फाका पूर्व प्रवक्ता किरण राई पनि रहे । उनले उम्मेदवारी घोषणा कार्यक्रममा भने, ‘अध्यक्ष शेर्पाले क्रमिक रूपमा गल्ती गरिरहनुभएको छ । सुध्रिने अवस्था नै रहेन । हामीले अध्यक्षलाई धेरै सहयोग गरेका थियौं । तर उहाँ पूर्णतः असफल हुनुभएको छ । खेलाडी र मुख्य प्रशिक्षकबीचको विवादलाई लिएर उहाँले राजीनामा गर्नुहुन्छ जस्तो लागेको थियो । शेर्पा नेतृत्वको पछिल्लो चार वर्ष नेपाली फुटबलका लागि कालो अवधि हो ।’

उनले अध्यक्ष शेर्पालाई आगामी निर्वाचनमा उम्मेदवारी नदिनसमेत सल्लाह दिएका छन् । उनले थपे, ‘मेरो उहाँविरुद्ध कुनै व्यक्तिगत असहमति छैन । तर, तपाईं (कर्माछिरिङ) चुनाव लड्ने सोचलाई छोड्नुहोस् । तपाईं चुनावमा नआएकै राम्रो, किनभने तपाईं असफल हुनुभएको छ । एन्फाका कर्मचारी तपाईंको नियन्त्रणमा छैनन् । तपाईंको काम भनेको कुनै मैदानमा गएर सेल्फी खिच्ने मात्र भएको छ । यो तपाईंको काम होइन ।’

उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विवादमा केही गर्न नसकेकाले आफूले प्रवक्ताबाट राजीनामा दिएको दाबी पनि गरे ।

प्रतिवेदन आफैंमा अन्योलपूर्ण

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादलाई लिएर अनुसन्धान गर्न गठित छानबिन समितिले पेस गरेको प्रतिवेदन आफैंमा अन्योलपूर्ण देखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । सबैलाई दोष देखाएर आफैं भने अस्पष्ट देखिएको छ । एन्फा कार्यसमितिको बैठकले पूर्वखेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । कमिटीका सदस्यमा पूर्वखेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका थिए ।

एन्फा सचिवालयलाई बुझाइएको प्रतिवेदनमा प्रशिक्षक र खेलाडी दुवैलाई दोषी देखाइएको छ । तर, प्रतिवेदन विवादको ठोस कारण औंल्याउन र त्यसको समाधान देखाउन असफल देखिएको छ । प्रतिवेदनले सबै पक्षलाई सचेत गराउन मात्र भनेको छ । प्रतिवेदनमा भनिएको छ, खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न ।

मुख्य प्रशिक्षकले खेलाडीलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षण क्याम्पबाट बाहिर जानु भनेपछि उनीहरू टिम छाड्न बाध्य भएको देखिन्छ । तर तिनै खेलाडीले होटलको विषयलाई लिएर वादविवाद सिर्जना गरेर मुख्य प्रशिक्षकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउनुलाई छानबिन समितिले खेलाडीलाई दोषी मानेको छ । सहायक प्रशिक्षक, गोलरक्षक प्रशिक्षक, टिम समन्वयकर्ता र फिजियोले वैशाख १३ गते राति होटल नछाड्न गरेको आग्रह नमान्नुलाई पनि खेलाडीको गल्ती मानेको छ ।

यस्तै प्रतिवेदनमा खेलाडीले घटनाक्रमलाई लिएर पत्रकार सम्मेलन गर्नु पनि गलत भनिएको छ । अझ समितिले भनेको छ, एन्फा र राज्यले पुर्‍याउन सक्ने उचित सेवा–सुविधा प्रदान गर्दै आएकामा त्यस्ता विषयमा फेरि विवाद नगर्न खेलाडीलाई सचेत गराउन भनेको छ । खेलाडीले अमर्यादित र अनुशासनहीन कार्य गरेका धेरै उदाहरण रहेका हुनाले त्यसमा शून्य सहनशीलता अपनाउन पनि समितिको सिफारिस छ । प्रतिवेदनमा मुख्य प्रशिक्षक अल्मुताइरीलाई एकलौटी र स्वेच्छाचारी भनी औंल्याइएको छ ।

प्रशिक्षणबाहेक अन्य काममा समेत मुख्य प्रशिक्षकले हस्तक्षेप गर्ने प्रवृत्ति रहेको हुनाले त्यसलाई सच्चाउन सुझाइएको छ । खेलाडीले बन्द प्रशिक्षण छाडेर गएकामा मुख्य प्रशिक्षकको केही त्रुटि रहेको मानेको छ र एसिया कप छनोटपछि प्रशिक्षकलाई अर्को विकल्प खोज्न सुझाइएको छ । प्रतिवेदनमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायको सबैभन्दा बढी आलोचना गरिएको छ । उनमा राष्ट्रिय टिमको नेतृत्व गर्ने क्षमता नै नभएको समितिले जनाएको छ ।

त्यसैले उनलाई उक्त जिम्मेवारीबाट हटाउन भनिएको छ । यस्तै सहायक प्रशिक्षक, गोलरक्षक प्रशिक्षक, टिम समन्वयकर्ता र फिजियोको कार्यक्षमता बढाउन पनि सुझाव दिएको छ । एन्फा सचिवालयलाई समितिले अन्त्यमा के सुझाएको छ भने विद्रोह गरेका १० खेलाडी र प्रशिक्षकलाई एकै स्थानमा राखेर मनमुटाव मिलाएर समझदारी कायम राख्न आवश्यक वातावरण बनाउनु भनेको छ । त्यस अर्थमा न खेलाडीलाई कारबाही गर्न भनिएको मान्न सकिन्छ, न त मुख्य प्रशिक्षकलाई नै कारबाही गर्न भनिएको मानिने छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?