मन्त्री गहतराजले खेलाडी चौधरीको शवमा ओढाए राष्ट्रिय झन्डा
नेपालगन्ज — भारोत्तोलन खेलाडी सन्जु चौधरीको शवमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवास पुगेर बुधबार बिहान मन्त्री गहतराजले राष्ट्रिय झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मंगलबार काठमाडौंमा मृत भेटिएकी चौधरीको शव बुधबार गृहनगर बाँके ल्याइएको हो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
श्रद्धाञ्जलीसभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए ।
१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक विजेता चौधरी एसियाली खेलकुदको तयारीका क्रममा थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५:३० बजे कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । चौधरीको गृहनगरमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ ।
प्रकाशित : वैशाख २८, २०७९ १७:०५