सिटीमा हल्यान्डको आगमन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीमा हल्यान्डको आगमन

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले आफ्ना प्रतिद्वन्द्वी टोलीहरूलाई कडा चेतावनी दिँदै स्टार स्ट्राइकर इर्लिङ हल्यान्डलाई बोरुसिया डर्टमन्डबाट अनुबन्धन गरेको मंगलबार घोषणा गरेको छ । प्रिमियर लिग च्याम्पियन टोली सिटीले ६ करोड युरो तिर्न तयार भएपछि नर्वेजियन अन्तर्राष्ट्रिय खेलाडी हल्यान्ड इतिहाद जान लागेका हुन् । 

‘हामीले बोरुसिया डर्टमन्डसँग इर्लिङ हल्यान्डका लागि २०२२ को जुलाई १ देखि लागू हुने गरी सरुवा गर्न सहमति जनाएको म्यानचेस्टर सिटी निश्चित गर्दछ,’ सिटीको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीसँग क्लबले सहमतिको अन्तिम रूप दिन बाँकी छ ।’

कीर्तिमानी गोल गर्दै आएका सर्जियो अगुइरो गत वर्ष सिटीका छाडेर गएपछि टोलीले लामो समयदेखि विशेषज्ञ स्ट्राइकरको खोजी गर्दै आएकामा २१ वर्षे अग्ला स्ट्राइकर हल्यान्डलाई लिएको हो । गत सिजनमा सिटीले टोटेनहमबाट इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई ल्याउन खोजे पनि त्यो अन्तिममा असफल भएको थियो ।

हल्यान्डका बुवा अल्फे–इन्गेले सन् २००० देखि २००३ सम्म सिटीबाट खेलेका थिए । २०२० को जनवरीमा आरबी साल्जबर्गबाट डर्टमन्ड आएयता हल्यान्डले सानदार प्रदर्शन गर्नेक्रममा ८८ खेलमा ८५ गोल गरेका थिए । उनको सिटीसँग सम्भावित सरुवालाई लिएर सोमबारदेखि नै विभिन्न चर्चा चलिरहेको थियो । समाचारहरूमा जनाइअनुसार उनले स्वास्थ्य परीक्षण नै गरिसकेको जनाइएको थियो ।

सिटीले बुधबार खेल्ने उल्भससँगको प्रिमियर लिग खेलअगाडि व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार पत्रकार सम्मेलनमा हल्यान्डका सरुवालाई लिएर बोल्न अनिच्छुक थिए तर सम्झौता भइसकेको आँकलन गरिएको थियो । ‘यो स्थिति सबैलाई थाहै छ, तर म यसबारेमा बोल्दिनँ किनभने मलाई अर्को सिजन भविष्यलाई लिएर कुरा गर्न मनपर्दैन ।’

उनले अगाडि भनेका थिए, ‘तर म यही माहोलमा भन्छु, बोरुसिया डर्टमन्ड र म्यानचेस्टर सिटीले मलाई सम्झौता पूरा नभएसम्म नबोल्न भनेको छ, त्यसैले म बोल्दिनँ, त्यसका लागि म माफी चाहन्छु । समय आएपछि म यसबारेमा बोल्ने छु ।’ सिटीले यस सिजनको प्रिमियर लिगमा सर्वाधिक ८९ गोल गरिसकेको छ तर पछिल्ला दुई सिजनमा प्रायजसो मुख्य स्ट्राइकरबिनै खेलिरहेको छ । रियाद महारेजले सर्वाधिक २४ गोल गरेका छन् भने रहिम स्टर्लिङले १६, केभिन डी ब्रुयनले १५ र फिल फोडेनले १४ गोल गरेका छन् ।

यस सिजनको प्रिमियर लिग समाप्त हुनु तीन खेलअगाडि सिटीले लिभरपुलमाथि ३ अंकको अग्रता लिएको छ । टोली ५ वर्षमा चौथो पटक लिग उपाधि नजिक छ । तर टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग समग्रमा ६–५ ले पराजित भएको थियो । इतिहादमा छैटौं सिजन बिताइरहेका ग्वार्डिओलाले सबैखाले सफलता पाए पनि उनी युरोपियन प्रतियोगितामा असफल रहँदै आएका छन् । हल्यान्डको आगमनमा सिटीले च्याम्पियन्स लिगमा पनि प्रभुत्व जमाउने विश्वास लिएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा सन्जुको परिवारजन शोकाकुल

रुपा गहतराज

नेपालगन्ज — कोठामा राखिएको सिसाका र्‍याक पदक, प्रमाणपत्र र पुरस्कारले भरिएका छन् । सम्मानका फोटोहरूले घरका कोठा सजिएका छन् । तिनै सम्मानले उनको कोठामा रौनकता थपिएको छ । तर, मंगलबार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित सन्जु चौधरीको घरको वातावरण स्तब्धपूर्ण थियो । 


१३ औं सागमा भारोत्तोलनबाट स्वर्ण जितेकी सन्जुले राजधानीमा आफ्नो प्राण त्यागेको खबर पाएपछि उनको घरको रौनकता हराएको छ । आफन्तजन, साथीसंगीहरू सन्जुका पदक र सम्मान हेरेर आँसु थाम्न सकिरहेका थिएनन् । बुवा उसै छट्पटाइरहेका थिए । आमा डाँको छाड्दै रोइरहेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएकी छोरीले ‘झुन्डिएर आत्महत्या’ गरी भन्ने कुरा उनीहरूले विश्वास गर्न सकेका छैनन् ।

प्रशिक्षणकै क्रममा केही दिनदेखि ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् । आमा सुन्दरमतिका लागि छोरीसँग सोमबार दिउँसो गरेको कुराकानी नै अन्तिम बन्यो । उनी केही बोन्छिन् न त केही सोध्छिन् । मेरी छोरीलाई ल्याइदेऊ मात्र भनिरहन्छिन् । बुवा चामु चौधरी घरको भित्र–बाहिर गर्दै छट्पटाइरहन्छन् । ‘हामीले त केही बुझ्न सकेका छैनौं,’ उनले भने, ‘कसरी भयो, किन भयो ? केही सोच्न सकेका छैनौं ।’

दुई बहिनी र एक भाइमा सन्जु कान्छी छोरी थिइन् । उनी निकै अनुशासित त थिइन् । आत्मबल पनि त्यत्तिकै बलियो रहेको परिवारका सदस्य मान्छन् । ‘ऊ निकै आँटिली केटी हो । ज्ञानी पनि थिइन्, त्यसरी हरेस खाने मान्छे होइनन्,’ सन्जुका ठुलोबुवा ज्वालाप्रसाद थारुले भने, ‘केही नभई यस्तो दुर्घटना आफै भएन होला ।’ सन्जुको परिवार शिक्षा रोजगारीका लागि नेपालगन्जमा बस्दै आएका छन् । सन्जुका बुवाआमा भेरी अस्पतालका कार्यरत छन् ।

सानैदेखि खेलकुदमा रुचि देखाएपछि परिवारले पनि उनलाई खेल्ने छुट दियो । उनी निर्धक्क भएर खेलकुदमा सक्रिय रहिन् । सुरुआती चरणमा एथलेटिक्सबाट खेल क्षेत्रमा प्रवेश गरेकी सन्जुले क्रिकेट हुँदै भारोत्तोलनमा आफ्नो भविष्य खोजिरहेकी थिइन् । दुई महिना जति बसेर वैशाख ६ गते काठमाडौं गएकी सन्जुलाई अभ्यासमा बाधा पुग्छ भनेर परिवारले फोनसमेत गर्दैनथे ।

‘सोमबार पनि आमासँग म बिजी छु अहिले फोन गर्छु भनेर फोन काटी,’ दिदी मन्जुले सुनाइन्, ‘पछि फोन पनि गरिन् । तर, आज यस्तो खबर सुन्नुपर्‍यौं ।’ उनीहरू बाँके राप्तीसोनारी गााउँपालिकाकी स्थायी बासिन्दा हुन् । सन्जुको शव बुधबार नेपालगन्ज ल्याइने भएको छ । परिवारका अनुसार राप्तीसोनारीमा ३ बेलासपुरमा उनको अन्त्येष्टि गरिनेछ ।

शोकमा बाँकेवासी
आशालाग्दी खेलाडी सन्जुले मृत्युले बाँकेको खेलक्षेत्र स्तब्ध भएको छ । बाँकेका खेलाडी, प्रशिक्षक, खेलकर्मीले यस्तो दुःखद घटना जिल्लाका लागि मात्र नभएर राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएका छन् । भारोत्तोलन संघका निवर्तमान अध्यक्ष रतन टण्डनले सन्जुको मृत्युको खबरले आफू स्तब्ध भएको बताए । सन्जुलाई भारोत्तोलनमा डोर्‍याएका समसुद्दिन सिद्दिकीले घटनाको गहिराइमा गएर सन्जुको मृत्युको कारण खोज्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : वैशाख २८, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×