कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा सन्जुको परिवारजन शोकाकुल

रुपा गहतराज

नेपालगन्ज — कोठामा राखिएको सिसाका र्‍याक पदक, प्रमाणपत्र र पुरस्कारले भरिएका छन् । सम्मानका फोटोहरूले घरका कोठा सजिएका छन् । तिनै सम्मानले उनको कोठामा रौनकता थपिएको छ । तर, मंगलबार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित सन्जु चौधरीको घरको वातावरण स्तब्धपूर्ण थियो । 

बाँकेमा सन्जुको परिवारजन शोकाकुल

१३ औं सागमा भारोत्तोलनबाट स्वर्ण जितेकी सन्जुले राजधानीमा आफ्नो प्राण त्यागेको खबर पाएपछि उनको घरको रौनकता हराएको छ । आफन्तजन, साथीसंगीहरू सन्जुका पदक र सम्मान हेरेर आँसु थाम्न सकिरहेका थिएनन् । बुवा उसै छट्पटाइरहेका थिए । आमा डाँको छाड्दै रोइरहेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएकी छोरीले ‘झुन्डिएर आत्महत्या’ गरी भन्ने कुरा उनीहरूले विश्वास गर्न सकेका छैनन् ।

प्रशिक्षणकै क्रममा केही दिनदेखि ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् । आमा सुन्दरमतिका लागि छोरीसँग सोमबार दिउँसो गरेको कुराकानी नै अन्तिम बन्यो । उनी केही बोन्छिन् न त केही सोध्छिन् । मेरी छोरीलाई ल्याइदेऊ मात्र भनिरहन्छिन् । बुवा चामु चौधरी घरको भित्र–बाहिर गर्दै छट्पटाइरहन्छन् । ‘हामीले त केही बुझ्न सकेका छैनौं,’ उनले भने, ‘कसरी भयो, किन भयो ? केही सोच्न सकेका छैनौं ।’

दुई बहिनी र एक भाइमा सन्जु कान्छी छोरी थिइन् । उनी निकै अनुशासित त थिइन् । आत्मबल पनि त्यत्तिकै बलियो रहेको परिवारका सदस्य मान्छन् । ‘ऊ निकै आँटिली केटी हो । ज्ञानी पनि थिइन्, त्यसरी हरेस खाने मान्छे होइनन्,’ सन्जुका ठुलोबुवा ज्वालाप्रसाद थारुले भने, ‘केही नभई यस्तो दुर्घटना आफै भएन होला ।’ सन्जुको परिवार शिक्षा रोजगारीका लागि नेपालगन्जमा बस्दै आएका छन् । सन्जुका बुवाआमा भेरी अस्पतालका कार्यरत छन् ।

सानैदेखि खेलकुदमा रुचि देखाएपछि परिवारले पनि उनलाई खेल्ने छुट दियो । उनी निर्धक्क भएर खेलकुदमा सक्रिय रहिन् । सुरुआती चरणमा एथलेटिक्सबाट खेल क्षेत्रमा प्रवेश गरेकी सन्जुले क्रिकेट हुँदै भारोत्तोलनमा आफ्नो भविष्य खोजिरहेकी थिइन् । दुई महिना जति बसेर वैशाख ६ गते काठमाडौं गएकी सन्जुलाई अभ्यासमा बाधा पुग्छ भनेर परिवारले फोनसमेत गर्दैनथे ।

‘सोमबार पनि आमासँग म बिजी छु अहिले फोन गर्छु भनेर फोन काटी,’ दिदी मन्जुले सुनाइन्, ‘पछि फोन पनि गरिन् । तर, आज यस्तो खबर सुन्नुपर्‍यौं ।’ उनीहरू बाँके राप्तीसोनारी गााउँपालिकाकी स्थायी बासिन्दा हुन् । सन्जुको शव बुधबार नेपालगन्ज ल्याइने भएको छ । परिवारका अनुसार राप्तीसोनारीमा ३ बेलासपुरमा उनको अन्त्येष्टि गरिनेछ ।

शोकमा बाँकेवासी
आशालाग्दी खेलाडी सन्जुले मृत्युले बाँकेको खेलक्षेत्र स्तब्ध भएको छ । बाँकेका खेलाडी, प्रशिक्षक, खेलकर्मीले यस्तो दुःखद घटना जिल्लाका लागि मात्र नभएर राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएका छन् । भारोत्तोलन संघका निवर्तमान अध्यक्ष रतन टण्डनले सन्जुको मृत्युको खबरले आफू स्तब्ध भएको बताए । सन्जुलाई भारोत्तोलनमा डोर्‍याएका समसुद्दिन सिद्दिकीले घटनाको गहिराइमा गएर सन्जुको मृत्युको कारण खोज्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : वैशाख २८, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?