प्रशिक्षक दासानायकेले टिमको सम्पूर्ण ध्यान तेस्रो एकदिवसीयमा केन्द्रित रहेको बताए
काठमाडौँ — एक अर्को दिन, क्रिकेटमा यसको राम्रै अर्थ लाग्छ । नेपालले शनिबार जिम्बावे ‘ए’ माथि शनिबार दोस्रो एकदिवसीयमा ९ विकेटको सजिलो जित निकाल्यो । यसमा जिम्बावेको प्रदर्शन धेरै अर्थमा बिर्सनलायक रह्यो । त्यहीं नेपालको जितलाई सानदार भन्न सकिन्थ्यो । त्यसको अघिल्लो दिन पहिलो एकदिवसीयमा दुवै टिमको प्रदर्शन ठीक उल्टो थियो । एक रातमै कसरी एउटै टिम र उही खेलाडीको प्रदर्शन फरक भयो त ? यसको उत्तर हो, शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिएको खेल ‘एक अर्को दिन’ को थियो ।
दोस्रो एकदिवसीयमा नेपालको सुरुआती मनसाय नै जित निकाल्नु थियो । त्यसैले टस जितेर नेपालले पहिले ब्याटिङ रोजेन, लक्ष्य पछ्याउनु नै ठीक मान्यो । प्रशिक्षक पुबुदु दासानायके चाहन्थे, दोस्रो खेलसँगै तीन एकदिवसीय शृंखला जिम्बावेली टोलीको नरहोस् । जिम्बावे यो खेलमा विजयी रहेको भए, तेस्रो एकदिवसीय खेल औपचारिकमै सीमित हुन्थ्यो । तर अब नेपालले दोस्रो खेल जितेपछि शृंखला १–१ को बराबरीमा पुगेको छ । यस्तोमा तय भयो तेस्रो, अन्तिम र निर्णायक खेल रोमाञ्चक हुने ।
‘यो खेल हामी जित्न चाहन्थ्यौं, त्यसैले पहिले ब्याटिङ गर्न चाहनौंं । हामीसामु टस जितेर पहिले ब्याटिङ गर्न सक्ने अवसर थियो, तर त्यो जोमिखपूर्ण हुन सक्थ्यो,’ खेलपछि विश्लेषण गर्दै प्रशिक्षक दासानायकेले भने । उनले माने, एक दिनको खराब प्रदर्शन अर्को दिन दोहोरिनुपर्छ भन्ने छैन् । पूरा खेलको कथा ठ्याक्कै यस्तै रह्यो । अब नेपालसामु ट्वान्टी–२० शृंखलाको बराबरीपछि एकदिवसीय शृंखला जित्ने अवसर हुनेछ ।
सस्तोमा समेटिएको जिम्बावे
पहिलो बलमै पहिलो विकेट । यो भन्दा मीठो सुरुआत अरू के नै हुनसक्छ र ? नेपालले दोस्रो एकदिवसीयमा चिताएको सुरुआत पायो । यसको नतिजा रह्यो जिम्बावे ‘ए’ टिम ३१.५ ओभरमा ८७ रनमात्र बनाएर अलआउट भयो । करण केसीको पहिलो बलमै जिम्बावेली प्रारम्भिक ब्याटर इनोसेन्ट आइआले आरिफ शेखलाई क्याच थमाए । त्यसपछि त जिम्बावेले नियमित अन्तरमा विकेट गुमायो । एक समय त्यस्तो आयो, जतिबेला जिम्बावेले ३० रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको थियो ।
अर्का प्रारम्भिक ब्याटर चेपास झुवाओले १० रन बनाए । उनी पनि करणकै सिकार बने र त्यसका लागि आरिफले नै विकेट लिए । त्यतिबेला जिम्बावेली टिमको आत्मविश्वास कति धेरै डगमगाएको थियो भने पूरा टिम निराश देखिन्थ्यो । जिम्बावेली टिमका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर जोनाथन क्याम्पबेलको नाममा रह्यो । उनले २७ रन बनाए । तर, उनी नमीठोसँग रनआउट भए । त्यसपछि ब्राड इभान्सले २० रन बनाए । उनी नटआउट रहे ।
सातौं विकेटका लागि जोनाथन र लुक जोन्गवेबीचको ३५ रनको साझेदारीले जिम्बावेलाई केही राहत दिएको थियो । नेपाली बलरमध्ये करण र सोमपाल कामीले समान तीन विकेट लिए । करण नै ‘प्लेयर अफ द म्याच’ रहे । कप्तान सन्दीप लामिछानेले पनि २ विकेट लिए भने एक विकेट सागर ढकालको नाममा रह्यो । नेपालले चार बलरमात्र प्रयोग गरेको थियो । जिम्बावेका आठ ब्याटरले दोहोरो अंक छुन सकेनन्, त्यसैले टिमको प्रदर्शन खराब रहेको प्रस्ट देखिन्थ्यो ।
जितसम्म पुग्न हतारो
शनिबार पनि पानी पर्ने पूरा सम्भावना थियो । त्यसैले नेपालले जितसम्म पुग्न हतारो नै देखायो । प्रारम्भिक ब्याटरद्वय सुनील धमला र आसिफले ७९ रनको साझेदारी गरे । सुनील ३८ रन बनाएर आउट भए । आसिफ भने ३४ रनमा नटआउट रहे । जित ११.२ ओभरमै प्राप्त भयो । प्रशिक्षक दासानायकेले जितमा खुसी व्यक्त गर्दै टिमको माथिल्लो क्रमका ब्याटरबाट अझ राम्रो प्रदर्शनको अपेक्षा रहेको सुनाए । उनको निचोड थियो, मध्यक्रमको ब्याटिङ धेरै हदसम्म ठीकठाक चलिरहेको छ ।
प्रशिक्षक दासानायकेले अब आफ्नो टिमको सम्पूर्ण ध्यान तेस्रो एकदिवसीयमा केन्द्रित रहेको बताए । उनको लक्ष्य सिरिज जित्नु नै हुनेछ । उनले थपे, ‘पहिलो वान डेमा हाम्रो प्रदर्शन धेरै हदसम्म खराब रह्यो । तर म चाहन्थे, टिम धेरै खाले दबाबबाट गुज्रियोस् । मलाई के पनि लागेको थियो भने त्यो खेलमा नेपालले केही अझ राम्रो गर्न सकेको भए जित पनि हात लाग्न सक्थ्यो । अबका दिनमा नेपालले धेरै निर्णायक खेल खेल्नु छ र त्यसका लागि हामी टिम अझ मजबुत होस् भन्ने चाहन्छौं ।’
प्रकाशित : वैशाख २५, २०७९ ०७:१६