कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला बक्सरको तयारी

काठमाडौँ — नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) र विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मा भाग लिने नेपालका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४८ केजी तौलमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागकी स्वर्णधारी मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा १३ औं सागकै रजत विजेता पुनम रावलले भाग लिनेछन् ।

चारै खेलाडी भर्खरै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका हुन् । त्यसमा पुनमले कांस्य पदक जितेकी थिइन् । उनले जितेको पदक १२ वर्षपछि नेपालले बक्सिङमा जितेको अन्तर्राष्ट्रिय जितेको पदक हो । १२ वर्षअघि हालका आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले कांस्य पदक जितेका थिए । अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिनेछन् छन् । प्रतियोगितामा ८३ देशका ३९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ५० हजार र २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

यो प्रतियोगिता १९ औं एसियाली खेलकुदको तयारीलाई पनि महत्त्वपूर्ण हुने संघको विश्वास छ ।


प्रकाशित : वैशाख १४, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?