कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दुई पुलिसको उपाधि दाबी

धनगढी — धनगढी रंगशालाको फ्लडलाइटमा शनिबार प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन् ।

दुई पुलिसको उपाधि दाबी

वनदेवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिता जित्ने दुवै टिमको दाबी छ । धनगढी रंगशालामा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् ।

उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातिको समयमा खेल्दा केही कठिनाइ भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् ।

‘पहिलो पटक फ्लडलाइटमा खेल्दा आउने समस्याले गाह्रो भइरहेको छ । कुनै बेला लाइटमा समस्या आउँदा खेलको रिदम बिग्रने समस्या छ,’ कप्तान अनिताले भनिन् ‘सात वर्षपछि फाइनल पुगेका छौं । महिला गोल्डकप पहिलो पटक भएको हुँदा हामी सबैलाई उत्साही बनाएको छ । हामी च्याम्पियन हुन्छौं । त्यही हिसाबको तयारी छ ।

एपीएफका प्रशिक्षक जनकसिंह थारूले पनि जित्नका लागि खेल्ने बताए । ‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’

उनले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपीएफले सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने त्यसअघि विराटनगर महानगरपालिकामाथि ८–० को जित पाएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकाले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नका लागि खेल्ने बताइन् । ‘जित्नका लागि खेल्छौं । सबैले त्यहीअनुसार तयारी गरेका छौं ।’ उनले थपिन्, ‘फ्लडलाइटमा नयाँ अनुभव लिइरहेका छौं । रमाइलो पनि भइरहेको छ । दिउँसो खेले भएको भए गर्मी हुन्थ्यो । राति हुँदा सजिलो भएको छ ।’

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि जित्नकै लागि फाइनल खेल्ने बताए । ‘धेरै वर्षपछि फाइनल पुगेका छौं । जित्नका लागि खेल्छौं । मैदानमा केही समस्या छ । बललाई चाहेअनुसार खेलाउन गाह्रो भइरहेको छ । नयाॅ फर्मेसनअनुसार टिमले पनि प्रगति पाइरहेको छ । राम्रै नतिजा आउँछ ।’

पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराएको थियो भने त्यसअघि चन्द्रपुर नगरपालिकामाथि १–० को जित पाएको थियो ।

विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ द म्याचले ५ हजार, विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुशन जोशीले बताए ।

प्रकाशित : वैशाख १०, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?