२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता : आर्मी सेमिफाइनलमा

धनगढी — त्रिभुवन आर्मी क्लब प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार साँझ भएको खेलमा आर्मीले वाग्मती युवा क्लबलाई ७–० ले पराजित गर्‍यो । 

वीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता : आर्मी सेमिफाइनलमा

कैलालीको धनगढी रंगशालामा अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्‍यो । १७ औं मिनेटमा इन्दिरा राई, २९ औं मिनेटमा अमिशा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरे । पहिलो हाफको २८ औं मिनेटमा आर्मीले आत्मघाती गोल उपहार पायो । वाग्मतीकी सुस्मिता तामाङले आत्मघाती गोल गर्न पुगिन् ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन् । उनले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गरिन् । दोस्रो गोल पेनाल्टीमार्फत भएको हो । अमिशाले खेलको ९० औं मिनेटमा गोल थपिन् । आर्मीले सेमिफाइनलमा नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिकाबीचको विजेतासॅग खेल्नेछ ।

वनदेवी युवा क्लब (वीवाईसी) को आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै अर्को विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेको छ । समूह ‘ए’ मा रहेको पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्ट्स एकेडेमी चितवनको विजेतासँग खेल्नेछ । सोमबार एपीएफ र विराटनगरबीच खेल हुनेछ ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहित ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रत्येक प्लेयर अफ द म्याचलाई ५ हजार, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित : वैशाख ४, २०७९ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?