कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेक्वान्दो प्रशिक्षकका लागि सहयोग अभियान

मोहन बुढाऐर

धनगढी — तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह लिभर (कलेजो) रोगबाट पीडित भएका छन् । उनको उपचारका लागि ५० लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् । ठूलो रकम जोहो गर्ने क्षमता आफूसँग नभएको भन्दै उनले सहयोगका लागि अपिल गरेका छन् ।

तेक्वान्दो प्रशिक्षकका लागि सहयोग अभियान

नेपाल तेक्वान्दो संघले ५० हजार सहयोग गरेको छ । उक्त सहयोग रकम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुभाष शाहीले लिभरपीडित सिंहलाई शुक्रबार हस्तान्तरण गरे । नेपाल तेक्वान्दो संघका सुदूरपश्चिम इन्चार्ज साम्राज्यविक्रम पाण्डेको पहलमा उक्त रकम पठाइएको थियो ।

लिभर ब्रिगिएर उपचाररत प्रशिक्षक सिंहले अहिले आफ्नै पहलमा उपचार गराइरहेका छन् । उनलाई चिकित्सकले लिभर ट्रान्सप्लान्ट गर्न सुझाएका छन् । यसका लागि नेपालमा झन्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफूलाई सक्दो सहयोग आवश्यक रहेको बताए । उनले अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नगुहारेको सुनाए । अब उपचार गर्न सबै रकम आफूले तिर्न नसक्ने भएकाले सहयोगका लागि अपिल गरेका हुन् । ‘खेलाडी हुने बेलादेखि नै ग्यास्ट्रिक र अल्सरको समस्या थियो । धेरै वर्ष खेलेर पचाइयो । स्वास्थ्यमा सुरुमा लापरबाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु,’ प्रशिक्षक सिंहले भने, ‘डाक्टरले औषधी खाएर निको हुँदैन । तर ट्रान्सप्लान्ट गरे १०–१५ वर्षसम्म बाँचिन्छ भनेका छन् । त्यत्रो रकम मसँग छैन । साथीभाइले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्न आह्वान गर्दछु ।’

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका पदाधिकारीबीचमा सहयोग रकम हस्तान्तरण गरिएको हो । प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुआत भएको बताउँदै निरन्तर रूपमा लाग्ने जनाए । उनले तेक्वान्दोमा पुर्‍याएको योगदानको सम्मान गर्न पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाइ छ । ‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरु गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो,’ शाहीले भने ।

प्रकाशित : वैशाख २, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?