कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

बास्केटबल लिग हुने

काठमाडौँ — नेपाल बास्केटबल लिग (एनबीएल) को तेस्रो संस्करण जेठ ७ गतेदेखि साउन ७ सम्म हुने भएको छ । पुरुषतर्फ आठ टिमले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रोपल्ट आयोजना गर्न लागिएको महिला लिगमा पाँच टिम सहभागी हुनेछ ।

कोभिड–१९ महामारीयता पहिलोपल्ट आयोजना गर्न लागेको एनबीएलमा पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन टाइम्स इन्टरनेसनल, पहिलो संस्करणको विजेता गोल्डेनगेट, दुईपल्ट फाइनल खेलेको आर्मीसहित रोयल बास्केटबल क्लब, बूढानीलकण्ठ नगरपालिका, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले प्रतिस्पर्धा गर्नेछन् । क्याम्पियन सोलो नयाँ टिम हो । महिलातर्फ डिफेन्डिङ च्याम्पियन पुलिस, ललितपुर हाई क्लब, रोयल बास्केटबल र आईएस नेपालको सहभागिता निश्चित भएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एनबीएलमा ‘होम एन्ड अवे’ का आधारमा ‘डबल लिग’ हुनेछ र लिग चरणका शीर्ष चार टिम प्लेअफमा छनोट हुनेछन् । प्लेअफ ‘बेस्ट अफ थ्री’ का आधारमा हुनेछ भने फाइनल एक खेलमै टुंगिनेछ । पुरुषतर्फ ५ सय ५६ र महिलातर्फ २० खल हुनेछन् । एनबीएलका विजेताले २ लाख र उपविजेताले १ लाख तथा महिलातर्फका विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, दुवै विधाका मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) र हरेक खेलका एमभीपी पनि पुरस्कृत हुनेछन् ।

नेपाल बास्केटबल संघको स्वीकृतिमा टर्नपाइक इभेन्टले फ्रेन्चाइज प्रतियोगिता (लिग) आयोजना गर्ने घोषणा गरिसकेको अवस्थामा एनबीएलका उपाध्यक्ष अरुण कार्कीले भने, ‘कुनै द्वन्द्वबिना हामी जानेछौं । नेपाल सरकारसँग स्वीकृति लिएकाले निजी रूपमा हामी पनि गर्नेछौं (एनबीएल) । संघको प्राविधिक सहयोगलाई सधैं स्वागत गर्नेछौं ।’ संघसँग स्वीकृतिका लागि अनुरोध गरे पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गरे । ‘यो (एनबीएल) निजी लिग हो, त्यो (फ्रेन्चाइज लिग) संघले गर्छ । जहाँसम्म लाग्छ द्वन्द्व हँॅुदैन, यी दुई लिग पूरै फरक हुन्,’ राष्ट्रिय टिमका कप्तान सदीश प्रधानले भने, ‘संघले केही अब्जेक्ट नगरोस्, खेलाडीले खेलिरहन पाओस् । जति धेरै खेल्न पायो, खेलाडीलाई त्यति राम्रो हो ।’

एनबीएल सञ्चालनमा ९० लाखदेखि १ करोडसम्म खर्च लाग्ने बताइएको छ ।

प्रकाशित : चैत्र २८, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×