२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तेक्वान्दोमा वाग्मतीलाई सर्वाधिक गोल्ड

भूषण यादव

वीरगन्ज — नेपाल, भारत र बंगलादेशका गरि १३ वटा टिम सहभागी रहेको अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा वाग्मती प्रदेशले सर्वाधिक गोल्ड मेडल जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बल दोस्रो र आयोजक वीरगन्ज टोली तेस्रो भएको छ ।

तेक्वान्दोमा वाग्मतीलाई सर्वाधिक गोल्ड

वाग्मती प्रदेशका खेलाडीले ५ वटा गोल्ड, २ वटा सिल्भर र पाँचवटा ब्राउन्ज मेडल हासिल गरेको छन् । विभागीय टोली सशस्त्र प्रहरीले ४ वटा गोल्ड, २/२ वटा सिल्भर र ब्राउन्ज जितेका छन् । यसैगरी आयोजक वीरगन्जको टिमले तीनवटा गोल्ड, ५ वटा सिल्भर र तीनवटा ब्राउन्ज मेडल प्राप्त गरेका छन् । बंगलादेशका खेलाडीले २ वटा सिल्भर र ३ वटा ब्राउन्ज मेडल जिते । भारतको टोलीले दुईवटा सिल्भर मेडल जितेका छन् । प्रथम भएको वाग्मती प्रदेशलाई नगद ५० हजार, दोस्रो भएको सशस्त्र प्रहरी बललाई २५ हजार रुपैयाँ र प्रतियोगितमा तेस्रो भएको आयोजक वीरगन्ज टीमलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

शनिबार राति भएको फाइनल खेलमा ४१ केजी तौल समूहमा वाग्मतीकी पुनम खत्री, ४४ केजी तैल समूहको खेलमा वाग्मती प्रदेशकै सदिक्षा कार्की, ५३ केजीमा वाग्मतीकै सामना खडकी र ४९ केजी समूहमा सशस्त्र प्रहरीकी गिता बिस्टले गोल्ड मेडल जितेका थिए ।

यसैगरी पुरुष तर्फको ४१ केजी तौल समूहमा आयोजक वीरगन्ज टोलीका सिधान्त प्रजापति, ४८ केजी तौल समूहमा आयोजक वीरगन्जकै एम.डी.ओशामा हवारी, ५८ केजी सूमहमा सशस्त्र प्रहरीका एमडी रफियान, ४५ केजी समूहमा मधेस प्रदेशका निश्चल धामी, ५० केजी समूहमा आयोजक वीरगन्जका आफताब आलम, ४३ केजीमा आयोजक टोलीकै सुदिप नेपाली, ७४ केजीमा सशस्त्र प्रहरी बलका उमेर राजभण्डारीले गोल्ड मेडल हासिल गरेका थिए ।

प्रतियोगिताको बेस्ट फाइटर पुरुषको उपाधि अफताब आलम घोषित भएका थिए । बेस्ट महिला फाइटरको उपाधि गीता विष्टले पाइन् । दुवै खेलाडीले जनही २५/२५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको ९ वटा, भारतको ३ र बंगलादेशको एउटा टिमले प्रतिस्पर्धा गरेका थिए । पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले आयोजना गरेको प्रतियोगितमा ४४ केजी देखि लिएर ७४ केजी तौल समूहबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाल तेक्वान्दो संघका प्राविधिकसँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रकाशित : चैत्र २७, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?