स्यान्टु र सिक्का विजेता- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्यान्टु र सिक्का विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले ११ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११, ११–९ को सेटमा हराए । एक सातामा स्यान्टुको यो दोस्रो उपाधि हो । उनले चैत १९ मा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिसमा भारतीय खेलाडीलाई हराउँदै उपाधि जितेका थिए । आर्मीका दीप साउन र एपीएफका संयोग कपाली तेस्रो भए ।

महिलातर्फ फाइनलमा सिक्काले आर्मीकी स्वेच्छा नेम्बाङलाई ११–४, ११–४, ११–२, ११–७ को सोझो सेटमा सहजै हराइन् । सिक्काको सिनियरमा यो पहिलो एकल उपाधि हो । आर्मीकी रविना महर्जन र पुलिसकी सोनु थापा मगर तेस्रो भए । दुवैका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार प्राप्त गरे ।

ह्वीलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५, ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५, ११–३ ले हराएर स्वर्ण जिते । स्टेन्डिङको महिला सिंगल्समा रायकोशा शाही मेनुका गौतमलाई ४–११, ११–७ र ११–४ ले हराएर विजेता भइन । मिडियातर्फ पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोस्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिलबहादुर तामाङ तेस्रो भए ।

स्कुलतर्फ आदर्श विद्यामन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो । एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पार्‍यो । विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, प्रायोजक केबी साम आल्मुनियका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले पुरस्कृत गरे ।

प्रकाशित : चैत्र २७, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : उत्तर प्रदेश र आर्मी विजयी

कान्तिपुर संवाददाता

भैरहवा — प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार दुई खेलमा भारतको उत्तर प्रदेश क्लब–११ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी बंगलादेशमाथि ८ विकेटको जित पाएको छ । ७८ रनको लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । विवेक सिंह ३३ बलमा ५ चौकासहित ३५ रनमा अविजित रहे ।

कप्तान शुभम चौधरीले १५ बलमा ३ चौकासहित १७ बनाए । राहुलकुमार १५ र नितिन राम १ रनमा आउट भए । मोहम्मद मोसरफ र राज बमले १–१ विकेट लिए ।

सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गरेको ट्यालेन्ट हन्ट एकेडेमी १८.२ ओभरमा ७७ रनमा समेटियो । मोहम्मद उमरले २० र आशिष रत्नमले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रिन्स शाहीले १५ रन खर्चेर ४ विकेट लिए । तेजस सिंहले १३ रन खर्चेर ३ विकेट लिए ।

अर्को खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ५१ रनले हरायो । १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ १९.१ ओभरमा ८८ रनमै अलआउट भयो । एपीएफका कप्तान प्रदीप ऐरीले ४ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए । रित गौतम १२ र लोकेश बम ९ रन बनाए । सन्दीप जोरा ९, सुमित महर्जन १२ र अमर राउटेला ४ रनमा आउट भए । आर्मीका सोमपाल कामीले १८ रन खर्चेर ४ विकेट लिए । शाहब आलम, कुशल मल्ल र विक्रम सोबले २–२ विकेट लिए ।

टस जितेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । आर्मीका रोहित पौडेल ५७ बलमा ९ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे । भीम सार्कीले २ चौकासहित २२ रन र कप्तान विनोद भण्डारी १ चौकासहित १९ रन बनाए । ओपनर सन्तोष कार्की ७, राजेश पुलामी २ र हरि चौहान शून्यमा आउट भए । एपीएफका स्पिनर भुवन कार्की र किशोर महतोले समान २ विकेट लिए । अमर राउटेला र नन्दन यादवले १–१ विकेट लिए ।


प्रकाशित : चैत्र २७, २०७८ ०६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×