कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधि चयनमै विवाद र तोडफोड

एन्फा अध्यक्षले जालझेल र षड्यन्त्र गरी चुनावी साधारणसभाका लागि प्रतिनिधि छनोट स्थगित गरेको आरोप
राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो असार ६ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि प्रतिनिधि छनोट गर्न सहिद स्मारक ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबहरूलाई बिहीबार विहान ११ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बोलाएको थियो ।

प्रतिनिधि चयनमै विवाद र तोडफोड

क्लबका प्रतिनिधिहरू समयमै भेला भए । एन्फाको सचिवालयले बी र सी डिभिजन क्लबहरूका कागजात निर्वाचन समितिले दिउँसो ३ बजेमात्रै दियो । समितिले अपरान्ह ४ बजेपछि निर्वाचन कार्यतालिका निकाल्यो । तर, निर्वाचन कार्यतालिकाअनुसार काम अगाडि बढेन ।

बी र सी डिजिनमा १४–१४ क्लब छन्, यसमा ‘बी’ बाट ११ र ‘सी’ बाट ९ क्लब एन्फाको साधारणसभाका लागि मताधिकारसहितको प्रतिनिधि हुन पाउने व्यवस्था छ । एन्फा केन्द्रीय कार्यसमितिमा भएका पदाधिकारी यही प्रतिनिधि छनोटमा सहभागी हुन पाउने कि नपाउने भन्नेमा विवाद निस्कियो । कुनै पनि पदाधिकारी साधारणसभामा मताधिकारसहितको प्रतिनिधि हुन नपाउने एन्फाको विधान र निर्वाचन निर्देशिकामा प्रस्टै लेखिएको भए पनि महासचिव इन्द्रमान तुलाधरले त्यो नियम प्रतिनिधि छनोटको प्रक्रियामा पनि लागू हुने दाबी गरेपछि निर्वाचन समिति अन्योलमा पर्‍यो ।

अध्यक्ष कर्माछिरिङ शेर्पा (महासचिवसहित) र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षवीच विवाद चर्किंदै गयो । आउने निर्वाचनमा शेर्पा र नेम्वाङ अध्यक्षमा उठ्ने तयारीमा छन् । निर्वाचन समितिले पनि निर्णय लिन सकेन र ‘सी डिभिजन मताधिकारका लागि ओसिस क्लबका अध्यक्ष उत्तम बस्नेतले उक्त निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूको विषयउपर लिखित निवेदन उजुरी पेस गरेकामा उक्त विषयमा स्पष्ट रूपमा एन्फा सचिवालयबाट लिखित निर्णय तथा विगतका निर्वाचनका सम्पूर्ण कागजात र प्रक्रियाको पूर्ण विवरण उपलब्ध गराउन अनुरोध’ गर्दै निर्वाचन कार्यतालिका नै स्थगित गर्‍यो । त्यो पत्र समितिले सूचना बोर्डमा टाँस्न सकेन, बेलुकी साढे ७ बजे महासचिव तुलाधरलाई बुझाएर पदािधकारीहरू एन्फा मुख्यालयबाट बाहिरिए ।

रुष्ट देखिएका वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘बी र सी डिभिजनबाट हाम्रो पक्षका साथीहरू आउने भयो । सी डिभिजनमा शतप्रतिशत र ‘बी’ मा बाहुल्य हाम्रै थियो । त्यसैले अध्यक्षज्यूको निर्देशनमा प्रतिनिधि छनोट नै स्थगित गरियो । जालझेल र षड्यन्त्र भयो । यसले नेपाली फुटबलमा राम्रो गर्दैन ।’ उनको आरोपबारे महासचिव तुलाधरले प्रतिक्रिया दिन अस्वीकार गरे ।

अध्यक्ष शेर्पानिकट मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले निर्वाचन समितिका पदाधिकारीहरूलाई छनोट प्रक्रिया नरोके ‘आफ्नो ज्यानको सुरक्षा आफै गर्न’ भन्दै समितिको कार्यकक्षमै धम्की दिएका थिए । त्यसपछि एन्फाका केन्द्रीय सदस्य दावा लामाले निर्वाचन समितिको कम्प्युटर तोडफोड गरिदिए । उनले भने, ‘बिहान ११ बजेदेखि बोलाएको छ, निर्वाचन तालिका सार्वजनिक गरिएको छ, सबै साथीहरूले क्लबबाट निर्णय गरेर चिठी ल्याएको छ, निर्वाचन समितिले एन्फा सचिवालयले सहयोग गरेन भनेको छ, अध्यक्ष र महासचिवले बी र सी डिभिजन क्लबहरू आफ्नो पक्षमा नदेखेपछि फुटबल नै सिध्याउने षड्यन्त्र गरे । त्यसैले आक्रोशित भएको हो ।’ उनले चैत १५ भएको एन्फाको विशेष साधारणसभामा जस्तै क्लबहरूले प्रतिनिधि पठाएको दाबी गर्दै त्यसमा विवाद नभएको बताए ।

प्रकाशित : चैत्र २५, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?