कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथासँग मनाङ स्तब्ध

सुम्निमा चाम्लिङ

इटहरी — मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब बिहीबार १२ औं अन्तर्राष्ट्रिय कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

सगरमाथासँग मनाङ स्तब्ध

इटहरी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ गोलले हराएको थियो ।

सगरमाथाले उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी भने रोलिङ क्लब झापालाई पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।

सगरमाथालाई फाइनलमा पुर्‍याउन आशिष लामाले दुई, आभाष लामिछाने र भुवन बस्नेतले समान एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफमा २–० को स्पष्ट अग्रता कायम राख्दै मनाङले सगरमाथालाई दबाबमा राखेको थियो ।

दोस्रो हाफमा पुनरागमन गर्दै सगरमाथाले जित निकाल्न सफल भयो । पहिलो हाफको दोस्रो मिनेटमा केचा यानिकको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले बचाए । १२ औं मिनेटमा हेमन्त थापाको पासमा सुनील राईले गरेको हेड पुनः विशालले जोगाए । दोस्रो हाफको २० औं मिनेटमा पेनाल्टीबाट आशिषले गोल गरे । गोलपछि घरेलु दर्शकको साथ पाउँदा सगरमाथाका खेलाडीमा उत्साह थपियो । २४ औं मिनेटमा फेरि आशिषले गोल थप्दै खेल २–२ को बराबरीमा ल्याए । उनले गोल गरेको दुई मिनेटपछि २६ औं मिनेटमा भुवन बस्नेतको वान टच प्रहार गोलमा परिणत भयो । ३९ औं मिनेटमा भुवनको पासमा आभाष लामिछानेले गोल थप्दै टिमको जित सुनिश्चित गराए ।

मनाङका तर्फबाट कप्तान अञ्जन विष्ट र आफिज ओलावालेले गोल गरेका थिए । पहिलो हाफको आठौं मिनेटमा प्रवेश कुँवरको पासमा ओलावालेले गरेको हेड पोस्टमाथिबाट बाहिरियो । सुमन लामाको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन । १५ औं मिनेटमा कमल श्रेष्ठको प्रहार पोस्टलक्षित हुन सकेन ।

२० औं मिनेटमा अञ्जनले फ्रिकिकमा लोभलाग्दो गोल गरेका थिए । सुमन लामाको पासमा ओलावालले ३० औं मिनेटमा गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँचौं मिनेटमा ओलावालेको पासमा अञ्जनले गरेको प्रहार पोस्ट बाहिर जानु मनाङका लागि दुर्भाग्य थियो । इन्ज्युरी समयमा पनि अञ्जनको फ्रिकिक पोस्ट माथिबाट बाहिरियो ।

सगरमाथाका प्रशिक्षक युविन गुरुङ पेनाल्टी पाउनु खेलको ‘टर्निङ प्वाइन्ट’ मान्छन् । ‘पेनाल्टी हाम्रा लागि टर्निङ प्वाइन्ट भयो,’ उनले भने, ‘दोस्रो हाफमा बनाएको खेल रणनीतिले समेत जित निकाल्न सफल भयौं ।’

मनाङका प्रशिक्षक राजेन्द्र तामाङ पनि पेनाल्टी दिनु हारको टर्निङ प्वाइन्ट मान्छन् । उनले भने, ‘सगरमाथाले पेनाल्टी पाएपछि खेलाडी निराश भए । थप गोल गरेपछि अझ खेलाडीबीच तालमेल नमिल्दा हार भयो ।’ म्यान अफ द म्याच सगरमाथाका भुवन बस्नेतले १० हजार रुपैयाँ पाए ।

प्रकाशित : चैत्र २५, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?