कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मछिन्द्रको चुनौती र दबाब

ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले एएफसी कप २०२२ को प्रारम्भिक छनोटमा मंगलबार श्रीलंकन सुपर लिग विजेता ब्लु स्टार स्पोर्टिङ क्लबविरूद्ध प्रतिस्पर्धा गर्दै
राजु घिसिङ

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अनिश्चित बनेको छ । एनएसएल आफैं विवादमा फसेको छ । त्यो बेग्लै कुरा हो । तामझामपूर्ण एनएसएलका १० मध्ये ६ टिममा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रका खेलाडी ‘मार्की’ भइसकेका थिए । यसले पनि घरेलु फुटबलमा मछिन्द्र अहिले कति बलियो छ भन्ने देखाउँछ ।

मछिन्द्रको चुनौती र दबाब

मछिन्द्रले अपराजित रहँदै लिग उपाधि रक्षा गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तोकेअनुसार लिगको सातौं चरणमा शीर्षस्थानमा रहेपछि मछिन्द्रले एएफसी कप २०२२ को छनोट खेल्ने अवसर पाएको हो । टोली पहिलोपल्ट लिगको उपाधि जित्दा (२०७६ साल) भने एएफसी क्लब लाइसेन्स अभावमा एएफसी कपमा जान पाएन । त्यसको फाइदा त्रिभुवन आर्मी क्लबले लियो । आर्मीले एएफसी कप छनोटमा प्रारम्भिक चरणको पहिलो खेल नै जितेको थियो, जसले श्रीलंकन पुलिसलाई दशरथ रंगशालामा ५–१ ले सिकार बनाएको थियो । आर्मी बैंग्लुरुसँग हारेपछि प्लेअफमा पुग्न भने सकेन ।

घरेलु फुटबलको नयाँ शक्तिको रूपमा आउँदै दोस्रोपल्ट लिग च्याम्पियन हुँदा भने मछिन्द्रले एएफसी क्लब लाइसेन्स पनि पायो । त्यसैले एएफसी कप २०२२ को छनोटमा देशको प्रतिनिधित्व गर्ने मौका पाएको मछिन्द्रले पहिलोपल्ट एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्दै छ । छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा मछिन्द्रले पनि श्रीलंकन क्लब नै प्रतिद्वन्द्वी पाएको छ । त्यसैले दशरथ रंगशालामा मंगलबार ब्लु स्टार स्पोर्टिङ क्लबको सामना गर्दा मछिन्द्र कम्तीमा आर्मीको उचाइमा पुग्ने दबाबमा हुनेछ । अर्थात् प्रारम्भिक छनोटको दोस्रो चरणमा पुग्ने दबाबबाट गुज्रिने छ ।

दक्षिण एसियाली क्षेत्रमा प्रतिस्पर्धा गर्ने मछिन्द्रले एएफसी कपको समूह चरणमा पुग्ने लक्ष्य बनाएको छ । तर, लक्ष्यप्राप्तिका लागि टोलीलाई सजिलो छैन । पहिलो त ब्लु स्टारलाई पन्छाउनुपर्छ । त्यसपछि इन्डियन सुपर लिग (आईएसएल) क्लब एटीके मोहन बगानलाई पराजित गर्न सके मछिन्द्र प्लेअफमा पुग्नेछ । अनि प्लेअफमा पनि जित हात पार्न सकेमात्रै मछिन्द्रले लक्ष्य पूरा गर्नेछ, समूह चरणमा स्थान सुरक्षित गर्नेछ । छनोटका यी तीन चरण छिचोल्दै मछिन्द्रलाई आई लिग च्याम्पियन गोकुलम केरला (भारत), बंगलादेश प्रिमियर लिग/फेडेरेसन कप विजेता बसुन्धरा किङ्स र धिवेही प्रिमियर लिग च्याम्पियन माजिया (माल्दिभ्स) को सामना गर्ने अवस्थामा पुग्न असम्भव छैन तर यो बाटो निकै कठिन भने पक्कै हुनेछ ।

‘ब्लु स्टार श्रीलंकाको सुपर लिग च्याम्पियन हो, सेट राम्रो छ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘जो परे पनि (प्रतिस्पर्धी) हाम्रा लागि खेल महत्त्वपूर्ण हुनेछ । हामीलाई घरेलु मैदानको दबाब पनि हुनेछ । क्लबहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दबाबपूर्ण हुन्छ नै । दबाब थेगेरै खेल जितेर समूह चरणमा पुग्ने लक्ष्य छ । हामी समूह चरणमा पुग्यौं भने त्यो नेपालका लागि राम्रो हुनेछ ।’ यसपालिको लिग अघिदेखि (कात्तिक) नै निरन्तर तयारी गरेको पनि उनले बताए । एसियाली क्ल्ब फुटबलमा च्याम्पियन्स लिगपछिको महत्त्वपूर्ण प्रतियोगितामा प्रशिक्षकको रूपमा उनको पनि ‘डेब्यु’ हुनेछ ।

एएफसी कप २०२२ छनोटको तयारी आधार बनाएर मछिन्द्रले अघिल्लो साता थाइल्यान्डमा दुई खेल खेलेको राष्ट्रिय टिममा आफ्ना खेलाडी पठाएको थिएन । टोलीले लिगमा ११ जित र २ बराबरी खेल्दै दोस्रो भएको अर्को अपराजित आर्मीलाई १२ अंकले पछाडि पारेको थियो । तर, मोफसलका प्रतियोगितामा मछिन्द्रको प्रदर्शन फितलो रह्यो । अघिल्लो आइतबार सर्लाहीको वाग्मतीमा भएको राजर्षिजनक कपको फाइनलमा हेटौंडाको पिप्ले युवा क्लबविरुद्ध टाइब्रेकरमा हारेको मछिन्द्र आहा–रारा (पोखरा) र खप्तड गोल्डकप (धनगढी) मा त फाइनल पनि पुगेन । तसर्थ मछिन्द्रको प्रदर्शन एकरुपको छैन, उतारचढाव नै देखिन्छ ।

मछिन्द्रले २४ खेलाडी लिएर लिगको उपाधि रक्षा गरेको थियो । त्यसमध्ये २३ खेलाडी मैदानमा उत्रिएका थिए । त्यही टिमले एएफसी कप छनोट खेल्दै छ । मछिन्द्रलाई नाइजेरियाली डिफेन्डर नुरैन करिम, क्यामरुनी मिडफिल्डर आन्द्रेस निआ र अजरबैजानी फरवार्ड नुर्लान नोभ्रुजोभको साथ छ । फरवार्ड विमल घर्तीमगरको पुनरागमनले गति लिइरहेको छ । लिगका सर्वोत्कृट खेलाडी सुनील बल र मनीष डाँगी चोटमुक्त हुँदै फर्किएका छन् । प्रशिक्षक कटुवालले एनएसएलका मार्कीहरू विशाल श्रेष्ठ (गोलकिपर), विशाल राई, कप्तान सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विमल, रन्जित धिमालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाबाट आएको ब्लु स्टारलाई कमजोर आँक्न मिल्दैन । ब्लु स्टारले दशरथ रंगशालामा एएफसी प्रेसिडेन्ट्स कप २००४ को सेमिफाइनल खेलेको थियो । टोलीले यही रंगशालामा १८ वर्षपछि खेल्दै छ । ब्लु स्टारका प्रशिक्षक राजामान्य डेभासगयामले भने, ‘मछिन्द्र बलियो टिम हो । हामीले त्यहीअनुसार तयारी गरेका छौं । दोस्रो चरण पुग्ने लक्ष्य छ र यसका लागि नअत्तालिकन खेल्नेछौं ।’

प्रारम्भिक छनोटको पहिलो चरणमा क्लब भ्यालेन्सिया (माल्दिभ्स) र पारो एफसी (भुटान) मंगलबारै मालेमा खेल्दैछन् । यो खेलको विजेतालाई दोस्रो चरणमा अबाहनी लिमिटेड ढाका (बंगलादेश) ले पर्खिरहेको छ । प्रारम्भिक छनोटको दोस्रो चरणका दुई विजेताले प्लेअफ खेल्नेछ । त्यसको विजेता टिम एएफसी कप २०२२ मा दक्षिण एसियाली क्षेत्रको समूह चरणमा पुग्नेछ ।

एएफसी कपमा नेपाली क्लब

सन् २०१५

एएफसी प्रेसिडेन्ट्स कप २०१४ को समूह विजेता भएकाले मनाङ एएफसी कपमा छनोट । तर, आर्थिक अभावको कारण मनाङले नाम फिर्ता लिएको ।

सन् २०१६

एन्फाले टिम नपठाएको

सन् २०१७

राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार प्रारम्भिक चरणको छनोटमा पहिलो हुँदै प्लेअफमा पुगेको । तर, एन्फाले टिम दर्ता नगरेकाले थ्रीस्टारले एएफसी कपको प्लेअफ खेल्न पाएन । त्यसको क्षतिपूर्तिस्वरुप एन्फाले थ्रीस्टारलाई १ करोड ५० लाख रुपैयाँ दियो ।

सन् २०१८

एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा गर्न नसक्दा नेपाली टिमले सहभागी हुन नपाएको ।

सन् २०१९

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली क्लब । सिधै समूह चरणमा प्रवेश पाएको मनाङ २ बराबरी र ४ हार नतिजासहित समूहको अन्तिम स्थानमा रहेको ।

सन् २०२०

एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा गर्न नसक्दा नेपाली टिम एएफसी कपबाट वञ्चित ।

सन् २०२१

ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसँग एएफसी क्लब लाइसेन्स नहुँदा लिग उपविजेता त्रिभुवन आर्मीले एएफसी कपको छनोट खेलेको । छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई दशरथ रंगशालामा ५–१ हरायो । दोस्रो खेलमा बैंग्लुरुविरुद्ध गोवामा ५–० ले हारेपछि प्लेअफ पुग्न असफल ।

आजको खेल

मछिन्द्रविरुद्ध ब्लु स्टार (श्रीलंका)

दशरथ रंगशाला (१७ः०० बजे)

प्रकाशित : चैत्र २२, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×