नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
त्रिकोणात्मक ट्वान्टी २० शृंखला

नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १ सय ६९ रनको मध्यम लक्ष्यमात्र दिएको छ । पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनमात्र बनाउन सकेको हो । 

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले राम्रै सुरुआत गरे पनि सेमो कामिआले एकै ओभरमा उत्कृष्ट बलिङ प्रर्दशन गर्दै खेलको नक्सा परिवर्तन गरेका थिए ।

ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए पनि दीपेन्द्रसिंह ऐरी र आसिफ शेख ब्याटिङ गरिरहँदा नेपाल राम्रो स्कोरतर्फ अगाडि बढेको थियो ।

कामिआले एकै ओभरमा ३ विकेट लिएर पीएनजीलाई खेलमा फर्काएका थिए । उनले शेख दाजु भाई आसिफ र आरिफसहित दीलिप नाथलाई आउट गरे । आसिफले २९ बल खेली १ छक्कासहित २९ रन बनाए । आरिफ र दीलिप २/२ बल खेल्दै शुन्यमा आउट भए ।

दीपेन्द्रले नेपालबाट सर्वाधिक ५४ रन बनाए । उनले ३८ बल खेली ५ चौका प्रहार गरे । आफ्नो इनिङ्सका क्रममा दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने खेलाडी बने । मोहम्मद आदिल अलामले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए ।

दीपेन्द्र र करण केसीले २४ बलमा ५४ रनको अविजित साझेदारी गरे । करण १२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी खेलिरहेका छन् ।

नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।

प्रकाशित : चैत्र २१, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

दीपेन्द्रको एक हजार रन

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध त्रिकोणात्मक टवान्टी २० शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दीपेन्द्रले यो सफलता हात पारेका हुन् ।

उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले मलेसियाविरुद्धको पछिल्लो खेलमा अविजित १ सय १० रन बनाएका थिए, जुन नेपाली खेलाडीको ट्वान्टी २० मा उच्च स्कोर पनि हो ।

दीपेन्द्रको नाममा एक शतक र चार अर्धशतक रहेको छ । उनले यसै शृंखलामा पारस खड्काको ७ सय ९९ रनलाई उछिन्दै नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध लर्डसमा खेल्दै ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रको यो ३९ औं खेल हो । पारसले ३३ खेलमा बनाएका थिए ।


प्रकाशित : चैत्र २१, २०७८ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×