२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

मनाङ सेमिफाइनलमा

सुम्निमा चाम्लिङ

इटहरी — मनाङ मर्स्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले आइतबार कञ्चनजंघा फुटबल क्लब दार्जिलिङलाई २–० को गोल अन्तरले पराजित गर्‍यो ।

मनाङ सेमिफाइनलमा

इटहरी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा अफेज ओलावाले गरेको दुई गोल मद्दतमा मनाङ अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो हाफको १६ औं मिनेटमा शिशिर लेखीबाट पाएको बललाई सदुपयोग गर्दै ओलावाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल गोलमा परिणत भयो । दोस्रो हाफको ३३ औं मिनेटमा ओलावाले अर्को गोल गरे ।

२७ औं मिनेटमा कमल श्रेष्ठको वान टच प्रहार कञ्चनजंघाका गोलरक्षक निगम सिंहले उत्कृष्ट बचाउ गरे । ३९ औं मिनेटमा ओलावाले नितिश थापाको पासमा गरेको प्रहार असफल भयो । खेलको अन्तिम समयमा अञ्जन बिस्टले गरेको प्रहारले पनि सही दिशा लिन सकेन ।

पहिलो खेलको तुलनामा कञ्चनजंघाले खेल सुधार गरे पनि केही राम्रो अवसर सदुपयोग गर्न सकेन । खेलको सातौं मिनेटमा कञ्चनजंघाका अमिर लामाको प्रहार पोस्ट नजिकबाट बाहिरियो । दोस्रो हाफको २९ औं मिनेटमा अनित राईले दिएको पास उत्तम राईले फिनिसिङ गर्न नसक्दा गोल हुन सकेन । मनाङका अलावाले प्लेयर अफ द म्याचमा चुनिँदै १० हजार रुपैयाँ पाए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले शनिबार परेको झरीका कारण खेल सन्तुलित नभएको बताए । एकपछि अर्को गर्दै प्रतिस्पर्धामा सहभागी भइरहेका कारणले खेलाडी थकित भएकाले खेल सोचेजस्तो नभएको थपे । कञ्चनजंघाका खेलाडीहरूमा फिटनेसको समस्या भएका कारण जित निकाल्न सहज भएको उनले बताए ।

कञ्चनजंघाका प्रशिक्षक डिनकेर क्षेत्रीले खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरे पनि स्कोर गर्न चुक्दा पराजित हुनुपरेको बताए । डिफेन्डिङ खेल्दै अट्याक गर्दै खेल्ने रणनीतिअनुसार खेले पनि स्कोरमा चुक्दा प्रतियोगिताबाट बाहिर हुनुपरेको बताए ।

प्रकाशित : चैत्र २१, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?