दमक गोल्डकपमा मनाङ विजयी

अर्जुन राजवंशी

बिर्तामोड — दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । शुक्रबारको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सिजनको दोस्रो उपाधि जितेको हो ।

दमक गोल्डकपमा मनाङ विजयी

दमक ३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा मनाङले अघिल्लो पटकको फाइनलमा पुलिससँग भोगेको पराजयको बदला लिँदै उपाधिमाथि कब्जा जमाएको हो । मनाङको जितमा स्ट्राइकर आफिज ओलावाले र मिडफिल्डर शिशिर लेखीले गोल गरे । ५९ औं मिनेटमा गोल गर्दै ओलावालेले मनाङलाई अग्रता दिलाएका थिए । त्यसको ८ औं मिनेटपछि ६७ औं मिनेटमा शिशिर लेखीले गोल थप्दै मनाङको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र, मनाङ च्याम्पियन बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९ औं मिनेटमा ओलावालेले मैदानको मध्य भागबाट लगेको बललाई बक्सभित्र रहेका कप्तान अञ्जन विष्टलाई पास दिएका थिए । तर, कन्डिसन बुझेका अञ्जनले पुनः ओलावालेलाई नै पास दिएका थिए । ओलावालेले पेनाल्टी एरियाबाट वान टच गोल गरे । ६७ औं मिनेटमा उसका मोन्सा अबागानाको फ्री कीक प्रहार पुलिसका गोलकिपर सत्रुधन चौधरीबाट रिबाउण्ड भएको थियो । उक्त बललाई नियन्त्रणमा लिएर शिशिरले सुन्दर गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा दुवै टिमबाट प्रतिस्पर्धात्मक खेल भए पनि दोस्रो हाफमा भने मनाङ हाबी रर्‍यो । आक्रामक खेल खेलेको मनाङले दोस्रो हाफमा पुलिसलाई पोस्ट चार्च गर्ने एउटा पनि मौका दिएन । मनाङले गोलका लागि ८ औं मिनेटबाट पुलिसको पोस्टमा आक्रमण सुरु गरेको थियो । ८ औं मिनेटमा उसका सुमन लामाले मध्य भागबाट लगेको बल डी बक्सभित्रबाट कडा प्रहार गरेका थिए । तर, बल पोस्टको फ्रेमभित्र पर्न सकेन । १५ औं मिनेटमा पुलिसका पुलिसका नीरकुमार राईले गरेको प्रहार मनाङका गोलकिपर विशाल सुनारले नियन्त्रणमा लिए ।

३४ औं मिनेटमा पुलिसका राम वाजेको पासमा रवि पासवानको प्रहार आकासियो । पुलिसले पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्ने राम्रो मौका गुमाएको थियो । नीरकुमारको लामो पासमा मनाङका गोलकिपर विशाल बिट हुँदा खाली पोस्टमा उसका भरत शाहले गोल गर्न सकेनन् । उनको प्रहार पोलमा लागेर फर्किएको थियो । मनाङले ८४ औं मिनेटमा अर्को गोल थप्ने अवसर गुमाएको थियो । उसका मोन्साको पासमा पाएको बल डी बक्समा रहेका ओलावालेले पोस्टमा प्रहार गर्न सकेनन् ।

फाइनल खेलमा मनाङका मिडफिल्डर मोन्सा अबागाना प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपको सर्वोत्कृष्ट खेलाडी मनाङका मिडफिल्डर पुजन उपरकोटी भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिपर मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्स पुलिसका अन्जन राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट कोच मनाङका राजेन्द्र तामाङ, उदयमान खेलाडी दमक ११ का राहुल लिम्बु भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

गोल्डकपमा आयोजक दमक ११ फुटबल क्लबका प्रशीक्षक चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरियो । गिरीले एक थान मोटरसाइकल प्राप्त गरे । त्यस्तै दमकका पूर्व फुटबलर सेसेहाङ आङदेम्बेलाई नगद ५० हजारसहित सम्मान गरियो । चैत ९ देखि सञ्चालित गोल्डकपमा ‘ए’ डिभिजनका तीनसहित १० टिमको सहभागिता थियो । गोल्डकपको आयोजना दमक नगरपालिकाले गरेको थियो ।

प्रकाशित : चैत्र १८, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?