२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

पपुवा न्यु गिनीको फाइनलमा पुग्ने आशा कायमै

विनोद पाण्डे

काठमाडौँ — कप्तान असाद भाला र टोनी उराले सानदार अर्धशतक बनाउँदै पपुवा न्यु गिनी (पीएनजी) को त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पुग्ने आशालाई कायमै राखेका छन् । पीएनजीले शुक्रबार मलेसियालाई ८ विकेटले पराजित गर्‍यो ।

पपुवा न्यु गिनीको फाइनलमा पुग्ने आशा कायमै

भाला र उराले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बाउन्ड्रीको वर्षा गरेपछि पीएनजीले प्रतियोगितामा पहिलो विजय हात पारेको हो । पहिलो तीन खेल हारेर पीएनजी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा पुगेको थियो ।

भालाले ५१ बलमा ७४ र उराले ३४ बलमा ८६ रन बनाएपछि पीएनजीले १ सय ९७ रनको लक्ष्य १७.५ ओभरमा १ सय ९९ रन बनाउँदै पुरा गर्‍यो । भालाले ८ चौका र १ छक्का तथा उराले २ चौका र १० छक्का प्रहार गरे । यी दुईले अविजित १ सय ३७ रनको साझेदारी गरेका थिए ।

मोहम्मद वाफिकले इनिङ्सको पहिलो बलमै लेगा सिएकालाई बोल्ड गरेका थिए । भालाले चार्ल्स अमिनीसँग दोस्रो विकेटमा ६२ रन जोडे । अमिनीले २२ बलमा ५ चौकासहित २८ रन बनाए ।

यसअघि पीएनजीले टस जितेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । मलेसियाबाट कप्तान अहमद फैजले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६३ तथा सैयद अजिजले ३५ बल खेली ८ चौका र ३ छक्का प्रहार गरी ६४ रन बनाए । पीएनजीका काबुआ मोरेआले ३ विकेट लिए ।

नेपाल लगातार तीन खेल जितेर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । मलेसियाले नेपाललाई पराजित गरेमा फाइनल पुग्ने छ तर पराजित भएमा पीएनजीले नेपालसँग सोमबार फाइनल खेल्ने छ । मलेसिया र पीएनजीले क्रमश: ३ र ४ खेलमा १/१ विजय हात पारेका छन् ।

प्रकाशित : चैत्र १८, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?