जीतपुरसिमरा गोल्डकप : एनआरटी फाइनलमा

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको छ ।

जीतपुरसिमरा गोल्डकप : एनआरटी फाइनलमा

सातौं दिनको खेलमा एनआरटीलाई उपाधी नजिक पुर्‍याउन स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे, जसले एनआरटी टीम फाइनलको सौभाग्य पायो । आयोजकका लागि भने आयुश घलान र एलन थापाले समान एक/एक गोलमा मात्र सिमित रहेकाले आयोजक उपाधि होडमा परेन, पराजित भएर फाइनल प्रवेशको मौका गुमायो ।

पाँचौ संस्करणको विजेतासमेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हाबी हुन पुगेको थियो । खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरुङले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाएका थिए । सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन् । उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाउ गरे ।

मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले । आयुश घलानले मिलाएको पासलाई मोहितले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए । यता एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो । खेलको २६औं मिनेटमा रञ्जन विष्टले डिबक्स भित्र पाएको बल नियन्त्रणमा लिन सकेनन् । दर्शन गुरुङले मिलाएको आकर्षक अवसरलाई रञ्जनले सदुपयोग गर्न चुकेका थिए ।

खेलको ३१औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो । रञ्जन बिष्टले मिलाएको पासलाई स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए । उनको गोलसँगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो । खेलमा १–० ले पछि परेपछि दबाबमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखि दबाबबाट मुक्त हुन खोजेको देखिन्थ्यो ।

आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले भने एनआरटीविरुद्ध रणनीति परिवर्तन गर्न आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए । बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो । मोहित गुरुङको क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत खेल १–१ को स्थितीमा पुर्‍याएका थिए ।

आयुशले खेल बराबरीमा ल्याएपछि दर्शकहरु हौसिएका थिए । आयोजकले गोल फर्काएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । आयुशको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बन्न पुग्यो । खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसिङ पक्ष भने प्रशंशनीय थिएन ।

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाँकी रहदा दुई गोल गर्दै जीत सहज बनाएको थियो । आयोजकको रक्षापंक्ती अल्मलिएको फाईदा उठाउँदै खेलको ८५औं मिनेटमा मेसुकेले गोल गरे । लगत्तै खेलको ८७औं मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्‍याए ।

अन्तिम समयमा लगातार गोलको सामना गरेका आयोजक टोली स्तब्ध देखियो । खेलको ईन्जुरी समयमा एलन थापाले गोल गरेपनि टिमलाई अग्रता दिलाउन सकेनन् । डिबक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधैं जाली चुमेको थियो ।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बन्न पुगेको थियो । आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई बाध्य भएर रातो कार्ड देखाएका थिए ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत विहिवार विभागिय टीम एपीएफ क्लब र वाग्मती युवा क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रकाशित : चैत्र १६, २०७८ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?