टाइब्रेकरमा पुलिस विजयी

बिर्तामोड — डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब सोमबार दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार क्यामरुनी क्लब एभिनियरलाई टाइब्रेकरमा ५–४ ले हरायो ।

टाइब्रेकरमा पुलिस विजयी

दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा टुंगिँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिसको भाग्य खुल्यो । पुलिसका कप्तान सुमन सुवेदी, अजित भण्डारी, नीरकुमार राई, सौजन याख्खा र जुमानु राईले गोल गरे ।

क्यामरुनका मार्सेल, बेल, टोबेट र मार्टिनको प्रहार गोलमा परिणत भयो । जोस्पिनको प्रहार बारमा लागेर फर्किएको थियो । निर्धारित समयमा दुवै टिम आक्रामक खेल पस्किए पनि दुवै टोली गर्न असफल रहे । पुलिस १२ औं मिनेटमा गोल गर्नबाट चुक्यो । भरत शाहले बक्सभित्रबाट गरेको कडा प्रहार क्यामरुनी गोलकिपर रोड्रिभको शरीरमा ठोक्किएर रिबाउन्ड भयो । रिबाउन्डलाई पुनः रवि पासवानले पोस्टको दिशा दिए पनि गोलकिपर रोड्रिभले पञ्च गर्दै बाहिर पठाए ।

२१ औं मिनेटमा क्यामरुनका रोनीले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । ६७ औं मिनेटमा पुलिसका सौजन याख्खाको फ्रिकिक प्रहार पोस्टको पहिलो बार नजिकैबाट बाहिरियो । खेलमा पुलिसका अञ्जन राई प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मंगलबार पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १५, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?