२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३
जितपुर सिमरा गोल्डकप 

आयोजक जनजागृति सेमिफाइनलमा 

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी जितपुर सिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमरा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

आयोजक जनजागृति सेमिफाइनलमा 

पाँचौँ दिनको खेलमा आयोजकको जितमा सुनील खड्काले १ गोल गर्दै निर्णायक बनायो, जसले आयोजक अन्तिम चारमा पुग्ने अवसर पायो । खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्दतले आयोजक अघिल्लो यात्रा तय गर्न सफल भएको हो ।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकाल्दै सुदूरपश्चिमले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । फ्रेन्ड्समाथि सहज जित निकालेको सुदूरपश्चिमले जनजागृतिविरुद्ध भने आकर्षक खेल प्रदर्शन गर्न सकेन । सुरुवातदेखि नै आयोजकले सुदूरपश्चिमलाई दबाबमा राखेको थियो । जनजागृतिले भने आक्रामक खेल प्रदर्शन गरेको थियो ।

डोना थापासहित ए डिभिजन क्लबका र स्थानीय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजकको प्रदर्शन सुरुवातदेखि नै कसिलो थियो । सुदूरपश्चिमले खेल सुरु भएको दोस्रो मिनेटमै उत्कृष्ट अवसर गुमाउन पुग्दा आयोजक हाबी हुन पुगेको हो । सुदूरपश्चिमका विनोद केसीले डिबक्सभित्र पाएको बललाई पोस्टको दिशा दिन सकेनन् । विनोदले बल नियन्त्रणमा लिन नसक्दा जनजागृतिका रक्षापंक्ति सम्हालेका यानिक केट्चाले क्लियर गरेका थिए । आकर्षक अवसर गुमाएको सुदूरपश्चिमले त्यसपछि खेलमा राम्रो अवसर बनाउन सकेन् ।

पहिलो हाफ जनजागृतिले आफ्नो नियन्त्रणमा लिए पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको थियो । खेलको १०औं मिनेटमा सुनील खड्काको उत्कृष्ट प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुगेको थियो ।

गेममेकरको भूमिकामा देखिएका डोनाले खेलको १३औं मिनेटमा सुनील खड्कालाई अर्को अवसर बनाएका थिए । सुदूरपश्चिमको रक्षापंक्तिलाई झुक्याउँदै डोनाले निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको फितलो प्रहारलाई सुदूरपश्चिमका खेलाडी नियन्त्रणमा लिएका थिए ।

खेलको २७औं मिनेटमा जनजागृतिले अर्को अवसर गुमायो । डोनाको क्रस बललाई आयोजकका मोहित गुरुङ गोल गर्न चुके । आयोजकले लगातार अवसर बनाईहदा सुदूरपश्चिम भने दबाबमा देखिन्थ्यो । झन्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासाङ लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाए पनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिएका थिए ।

दोस्रो हाफको सुरुवातमै सुनील खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्ण रुपमा असफल देखियो ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि जनजागृतिका हेमन्त थापा मगर, सुनील खड्का, मोहित गुरुङले थुप्रै अवसर चुकाएका थिए । खेलको ८३औं मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाउ गरे ।

प्रकाशित : चैत्र १४, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?