२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

महिला क्रिकेट खेलाडी सम्मानित

यू—१९ महिला क्रिकेट टोलीलाई सरकारले आर्थिक सहयोग गर्ने अर्थमन्त्री बरालको घोषणा
प्रतीक्षा काफ्ले

कास्की — सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदूरपश्चिम मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो । आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । खेलाडीलाई सम्मानपत्रसहित फूलको माला र अबिरले सम्मान गरिएको थियो ।

महिला क्रिकेट खेलाडी सम्मानित

गण्डकी प्रदेश यू—१९ महिला क्रिकेट टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्निका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, नीरु जिटी, सेरिना थापा मगर, मनीषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङपेम ल्याम्बु शेर्पा र प्रीति पराजुली रहेका छन् । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापकमा एलिसा लामिछाने रहेका छन् ।

१२ मध्ये १० जना खेलाडी स्याङ्जाका मात्रै रहेकाले स्याङ्जा क्रिकेट संघका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । टोलीमा कास्की र नवलपुरका खेलाडी पनि समावेश थिए । सम्मानको क्रममा मन्त्री बरालले प्रदेश सरकारले प्रारम्भिक चरणमा जनही ५० हजार पुरस्कार दिने घोषणा गरेका छन् । बरालले प्रदेशको नाम उँचो राख्न खेलाडीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त टोलीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको बताए । खेलाडीको प्रोत्साहनस्वरूप केही न केही गर्नुपर्छ भन्ने भाव रहेको बताउँदै उनले भने, ‘राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनुभएको तपाईं सम्पूर्ण खेलाडी, अफिसियल, खेल संघलगायतलाई विशेष धन्यवाद दिन चाहन्छु । यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महसुस गरेका छौं ।’

प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठूलो खुसी प्रदान गरेको उल्लेख गर्दै खेल क्षेत्रमा लाग्नेहरूको जीवनको भविष्य निश्चित गर्नुपर्ने बताए । सम्भावना भएका खेलाडी पलायन हुने अवस्थालाई अन्त्य गर्नुपर्ने उनको धारणा थियो । गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालीन योजनाअनुसार लगानी आवश्यक भएको बताए । गण्डकी प्रदेशका खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसी छाएको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसावले बढी प्राथमिकता दिनुपर्ने बताए ।

क्रिकेटको क्षेत्रमा पहिलोपटक ठूलो उपलब्धि हात पारिएको क्रिकेट संघले जनाएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले क्रिकेटले पहिलोपटक गण्डकी प्रदेशलाई खुसी दिएको बताउँदै खेल क्षेत्रमा अझै पनि सरकारले बजेट उपलब्ध गराउन नसक्दा खेल सिकाउन नपाउनुको साथै क्रिकेट मैदान नभएको समस्या राखे ।

प्रकाशित : चैत्र १४, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?