रोहितको शतक, पीएनजीद्वारा नेपाल पराजित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहितको शतक, पीएनजीद्वारा नेपाल पराजित

विनोद पाण्डे

काठमाडौँ — रोहित पौडेलको शतकका बाबजुत नेपाल शुक्रबार पपुवा न्यु गिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ६ रनले पराजित भएको छ । रोहितले १ सय ७ बलमा १ सय २६ रन बनाएपछि नेपालले २ सय ९३ रनको विशाल लक्ष्य लिएर आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ८६ रनमात्र बनाउन सक्यो । रोहितले ७ चौका ४ छक्का प्रहार गरे ।

रोहितले ९१ बलमा शतक पूरा गरेका थिए । रोहितको शतक नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको दोस्रो शतक हो । यसअघि पारस खड्काले २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ रन बनाएका थिए । रोहितको १ सय २६ रन सबै खाले अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बने । रोहित र आरिफ शेखले पाँचौं विकेटमा १ सय ४ रनको साझेदारी गरे । यो नेपालको सबैभन्दा ठूलो साझेदारी हो । नौ दिन अघिमात्र यी दुईले नै पीएनजीविरुद्ध नै शारजहाँमा १ सय रन जोडेका थिए । आरिफले ६४ बलमा दुई चौकासहित ३४ रन बनाए ।

भीम सार्की १८ बलमा १ छक्का प्रहार गर्दै १७ र पवन सर्राफ १० बलमा ७ रन बनाई आउट भए पनि खेलको अन्त्यमा सोमपाल कामी र कमलसिंह ऐरीले नेपाललाई विजयनजिक पुऱ्याएका थिए । अन्तिम ओभरमा १० रन चाहिने अवस्थामा यी दुईले २ रनमात्र बनाउन सके ।

यसअघि कुशल भुर्तेल र अनिल साहले आठौं ओभरमा ३६ रन जोड्दै मध्यम खाले सुरुआत दिलाए पनि दशौं ओभरको पहिलो बलमा नेपाल ४५–३ को स्थितिमा पुगेको थियो ।

चार वर्षपछि पुनरागमन गरिरहेका अनिल २१ बलमा ६ रन बनाई आउट भए । त्यसको अर्को बलमा कुशल इनसाइड एज लागि बोल्ड भए । उनले २८ बल खेल्दै ६ चौका प्रहार गरी ३२ रन बनाए ।

डेब्यु गरिरहेका देव खनाल ६ बल खेल्दै खाता खोल्नु अघि आउट भए । दीपेन्द्रसिंह ऐरी पनि १५ रन बनाई आउट भइ दबाबमा परेको अवस्थामा रोहत र आरिफको शतकीय साझेदारीले नेपाललाई खेलमा फर्काउने प्रयार गरेको थियो ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको पीएनजीले ८ विकेट गुमाई २ सय ९२ रनको स्कोर बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको यो सबैभन्दा बढी रन हो । सन् २०१९ मा यूएईले दुबईमा यसअघि ६ विकेट गुमाई २ सय ५४ रन बनाएको थियो, जुन खेल नेपालले पारस खड्काको शतकमा ४ विकेटले जितेको थियो ।

सोमपाल कामीले चौथो ओभरमै हिरी हिरीलाई ४ रनमा आउट गरे पनि कप्तान असाद भाला र चाल्र्स अमिनीले अर्धशतक बनाउँदै पीएनजीलाई राम्रो स्कोरमा उभ्याए । ओपनर टोनी उराले ४७ बल खेल्दै ८ चौकासहित ३८ रन बनाई राम्रो साथ दिए ।

भालाले ६० रन बनाए । दीपेन्द्रको बलमा बोल्ड हुनुपूर्व उनले ५५ बल खेली ११ चौका प्रहार गरे । उनले अमिनीसँग तेस्रो विकेटमा ७४ रनको साझेदारी गरे । सेसे बाउ शून्यमा आउट भए पनि अमिनीले रिले हेकुरेसँग पाँचौं विकेटमा ६१ रनको साझेदारी गरे ।

हेकुरेले ४० बल खेली ५ चौका प्रहार गरी ३१ रन बनाए । उनलाई पवन सर्राफले बोल्ड गरे । अमिनीले ७७ रनको सानदार इनिङ्स खेले । उनले १ सय ३ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे । नोमार्न भानुआले २८ बलमा ४७ रन बनाई पीएनजीको स्कोरलाई मजबुत बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । सोमपालले २ विकेट लिनेक्रममा ९ ओभरमा ८१ रन खर्चन पुगे । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३२ रनमात्र खर्चेर २ विकेट लिएका थिए । कमलले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

यी दुई टोलीबीच शनिबार दोस्रो खेल हुनेछ ।

प्रकाशित : चैत्र ११, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस बैठक : प्रदेश सभापतिहरू गठबन्धनको विपक्षमा

'गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै हुनेछ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। यस क्रममा अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् ।

उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निर्णय गर्न नहुने तर्क गरेका छन् । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भने झैं कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।

यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदी गठबन्धन गर्ने जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने संकेत गरेका थिए ।

लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीय स्तरबाटै गर्न सकिने संकेत गरेका थिए । उनले यदी यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निर्णय गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदैआएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, चुनावी गठबन्धनबारे निर्णय हुने


प्रकाशित : चैत्र ११, २०७८ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×