३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

स्पोर्ट्स अवार्डमा इतिहास सम्झने प्रयास

पारस, सावित्रा र टमाटा दशककै उत्कृष्ट

काठमाडौँ — इतिहास किन सम्झिनुपर्छ भने यसले वर्तमान र भविष्यलाई धेरै दिएको हुन्छ । धेरै के भन्दा ठोस पात्रहरू पनि । जस्तो, पारस खड्काले खेल्न छाडेको पनि वर्ष दिन भइसक्यो । उनी फेरि अब क्रिकेटको मैदानमा देखिने छैनन् । तर त्यसको अर्थ यो होइन कि उनलाई चटक्कै बिर्सन सक्छौं । पारस थिए त, नेपाली क्रिकेट अहिलेको अवस्थामा छ । 

स्पोर्ट्स अवार्डमा इतिहास सम्झने प्रयास

कुनै समय नेपाली क्रिकेटको केन्द्र टुँडिखेल थियो । त्यसपछि त्यो बिस्तारै कीर्तिपुरको मैदानमा सर्‍यो । झन् पछि नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय अवसर खुल्दै गए । यो यात्राले दुई ठूला लक्ष्य प्राप्त गरेको छ, पहिलो सन् २०१४ को ट्वान्टी–ट्वान्टी विश्वकपमा छनोट हुनु र खेल्नु, अनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनु । यी दुवै उपलब्धिका नायक पात्र हुन्, पारस । पल्सर स्पोर्ट्स अवार्ड २०७७ ले पछिल्लो एक दशकको उपलब्धि सम्झन खोज्दा समग्र नेपाली खेलकुदमै पारस कसरी छुट्न सक्छन् र ? त्यसैले उनी मंगलबार घोषित भए, दशकका पुरुष खेलाडी ।

उद्योगपति शेखर गोल्छाबाट अवार्ड थापेपछि उनले इतिहासमा मात्र सीमित हुन पनि खोजेनन्, भविष्यतिर पनि नजर लगाए र भने, ‘नेपाली क्रिकेटका लागि म सधैं हुनेछु । भविष्यमा नयाँ भूमिका पनि हुन सक्छ । यसका लागि प्रयास पनि गरिरहेको छु ।’ ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको यात्रामा अगाडिका पात्र हुन्, पारस । अनि पर्दा पछाडिबाट उनी र उनको पुस्ताका खेलाडी हुर्काउने, बढाउने काम गरेका पात्र हुन्, प्रशिक्षक जगत टमाटा ।

त्यसैले उनी मात्रै पल्सर स्पोर्ट्स अवार्डमा कसरी छुट्न सक्थे ? उनी घोषित भए, दशककै प्रशिक्षक । पछिल्ला एक दशकको अवधिमा टमाटाको प्रशिक्षणमा नेपालले २०१२ र २०१६ मा गरी दुई पटक आईसीसी यू–१९ विश्वकप खेलेको थियो भने २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । पछिल्लो दशकका लागि छुट्याइएका तीन अवार्डमध्ये दुई क्रिकेटका नाममा रहे भने अर्को फुटबलको नाममा । दशकको महिला खेलाडी बनिन्, सावित्रा भण्डारी । उनले नेपाली राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यु गरेकी थिइन् र त्यसपछि उनले एउटै काम मात्र गरिन्, लगातार गोल गर्ने । घरेलु फुटबलको त झन् के कुरा ? नेपाली फुटबलले पाएका महिला खेलाडीमध्ये उनी सर्वाधिक ठूलो नाम हुन् ।

एलिना भइन्, पपुलर
टेबल टेनिसकी एलिना महर्जनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् । समर्थक, प्रशिक्षक र खेल पत्रकारको मतदानमा उनी नम्बर १ सावित भइन् । उनको खेल जीवनको सबैभन्दा ठूलो विशेषता हो, अधिकांश समय दोस्रो हुने । टेबलटेनिसको पछिल्ला पाँच संस्करणमा उनी लगातार उपविजेता रहिन् । यसपल्ट उनलाई लोकप्रियताको कसीमा नम्बर १ हुन कसैले रोक्न सकेन । अब कसैले उनलाई लिएर भन्न सक्ने छैन, एलिनाको भाग्यमा दोस्रो स्थान मात्र छैन, बरु मज्जाले पहिलो स्थान पनि छ ।

‘टिम अफ द इयर’ नेपाली राष्ट्रिय फुटबल टिम बन्यो । यो टिमले वर्ष ०७७ मा काठमाडौंमा भएको थ्री नेसन्स कप जितेको थियो । दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । सन् १९८४ पछि नेपालले घरेलु भूमिमा जितेको यो नै पहिलो फुटबल उपाधि हो । पुष्पा भण्डारी ‘परफरमर अफ द इयर’ अवार्ड जित्न सफल भएकी छन् । वर्ष ०७७ कोरोनाको कहरले ग्रस्त रह्यो र नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ प्राप्त एउटै सफलता रह्यो ।

पुष्पाले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथान जितेकी थिइन् । उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेकी थिइन् । सरिता थुलुङले ‘पारा स्पोर्ट्स अनर’ जितिन् । तीन वर्षको उमेरमा पोलियो भएपछि सुनसरीकी सरिताले एउटा खुट्टा गुमाउनुपरेको थियो । पारा एथलेट सरिताले आफू सहभागी फुटबल, ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङ सबैमा पहिलो स्थान हात पार्दै आएकी छन् ।

शाह र राणालाई सम्मान
यसपल्टको अवार्डले सम्झेका दुई ठूला पात्र हुन्, शरदचन्द्र शाह र अजय राणा । यहाँनिर पहिलो प्रश्न, नेपालमा राष्ट्रिय खेलकुद आयोजनाको सोच कसले बनाएको थियो ? दोस्रो प्रश्न, नगरपालिका खेलकुदको सोच कसले तयार पार्‍यो ? यी त भए, देशभित्रकै खेलकुद आयोजनाको सोच । तेस्रो प्रश्न, दक्षिण एसियाली खेलकुद आयोजना गर्नुपर्छ भनेर पहिलोपल्ट भन्ने र त्यसको आधार तयार पार्ने को त ? यो त अन्तर्राष्ट्रिय प्रतियोगिता नै भयो ।

यी सबै प्रश्नको एउटै उत्तर हो, तिनै शाह । यो यस्तो नाम हो, जसलाई बेस्सरी प्रस्तुत नगरेर न त नेपाली खेलकुदको इतिहास लेख्न सकिन्छ, न त त्यो पूरा इतिहास नै हुनेछ । नेपाली खेलकुद अहिले जहाँ छ, जसमा टिकेको छ, ती सबैको आधार कुनै न कुनै रूप तयार पार्ने श्रेय पनि तिनै शाहलाई जान्छ । अहिले पनि केही पुराना पुस्ताका खेलकर्मीलाई सोध्नुपर्छ, नेपाली खेलकुदमा सबैभन्दा तिख्खर व्यक्तित्व अहिलेसम्म कोही आएको छ भने त्यो तिनै शाह नै हो ।

सन् असी र नब्बेको दशकमा उनी नेपाली खेलकुदमा सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तित्व रहे । भौतिक पूर्वाधार र खेल मैदान निर्माणलाई उनले आफ्नो कार्यकालमा तीव्रता दिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा उनले २०३४ देखि २०४५ सम्म नेतृत्व सम्हाले । यही समय उनले जोडेका भौतिक पूर्वाधार र मैदान हामीले अहिले उपयोग गरिरहेका छौं, त्यो पनि पूरा देशभरि । त्यो समयको ७५ जिल्लामा ।

शरदचन्द्र शाहको कार्यकाललाई अहिलेसम्म पनि स्वर्णिम काल मान्ने धेरै छन् । नेपाली खेलकुदले उनको समयको जस्तो कालखण्ड फेरि दोहोर्‍याएर नदेख्ने दाबी पनि गरिन्छ । त्यसैले उनलाई मरणोपरान्त प्रदान गरियो, लाइफ टाइम एचिभमेन्ट अवार्ड । सल्यानी राजाको परिवारमा २०१२ सालमा जन्मेका शाहको ०६९ को असार ५ मा गुपचुप निधन भएको थियो, सिंगापुरमा । नेपाली खेलकुदमा उनले दिएको यिनै योगदानका बावजुत पनि शाहको चर्चा त्यति धेरै हुने गर्दैन, जति हुनुपर्ने थियो ।

सायद यसका लागि पछिल्ला केही वर्ष अनुकूल पनि थिएनन् । उनको व्यक्तित्वको अर्को पाटो पनि छ र त्यो खेलकुद बाहिरको पात्रा विवादास्पद मानिन्छ । तर इतिहासले भन्ने गर्छ, जे जस्तो भएको छ, त्यसलाई ठीक ढंगले इमान्दारीपूर्वक सबैको अगाडि ल्याउनु नै पर्छ । यही इतिहासले भन्ने गर्छ, नेपाली खेलकुदमा उनको गज्जबको योगदान छ । उनका समकालीन राणालाई ‘स्पेसल’ अवार्ड प्रदान गरिएको छ । उनी नेपाली खेलकुदसँग जोडिने पहिलो चिकित्सक मानिन्छन् ।

उनले लामो समयदेखि नेपाली खेलकुदलाई विशेषज्ञ चिकित्सकका रूपमा सेवा प्रदान गर्दै आएका छन् । सुरुआती समय नेपाल सहभागी अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी विशेषज्ञ चिकित्सक रहे । विशेषतः फुटबलसँग आबद्ध रहेर उनले लामो समयदेखि चिकित्सकीय सेवा प्रदान गर्दै आएका छन् । राणालाई नेपाली खेलकुदमा चिकित्सकको आवश्यकता र महत्त्वलाई स्थापित गर्ने व्यक्तित्व मानिन्छ । आधुनिक खेलकुदले भन्छ, खेलकुदमा चिकित्सकीय क्षेत्रको महत्त्व धेरै छ ।

प्रकाशित : चैत्र ९, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?