कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एक वर्षमै ‘मिनी रंगशाला’

बक्सिङका पूर्वखेलाडी सुशील घिमिरेको पहलमा पौने २ करोडमा रंगशाला निर्माण
सुवास विडारी

मकवानपुर — पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एकवर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण कार्य सुरु भएको एक वर्ष १६ दिनमै रंगशालाको शुक्रबार उद्घाटन गरिएको छ । क्लब अध्यक्ष घिमिरेको अगुवाइमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको थियो ।

एक वर्षमै ‘मिनी रंगशाला’

रंगशाला निर्माणका लागि सहयोगी संघसंस्था तथा व्यक्तिहरूले पनि आवश्यक सघाउ पुर्‍याएका थिए । करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए । ‘निर्माण सुरु गरेको एक वर्ष १६ दिनमा हामीले रंगशाला उद्घाटन गरेका छौं । यसमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडावासीको तर्फबाट १ करोड ३९ लाख लगानी भएको छ,’ घिमिरेले भने । उनले विभिन्न सहयोगी संस्था एवं व्यक्तिबाट पनि करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी गराए ।

‘ठ्याक्कै अन्तिम हिसाब निकाल्न बाँकी छ । हालसम्म पौने २ करोड खर्च भएको हाम्रो अनुमान छ,’ उनले भने । उनका अनुसार स्थानीय युवाहरूको श्रमदान धेरै रहेका कारण पनि खर्चमा व्यापक कमी भएको हो । रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ । उनका अनुसार फलाम र कंक्रिटको प्यारापिट निर्माण गरिएको हो । ‘शनिबार सुरु हुने प्रथम वाग्मती प्रदेश खेलकुदको उद्घाटन पनि यहाँ नै हुने भएको छ,’ उनले भने । उनका अनुसार २० हजार क्षमताको रंगशालाको रूपमा यसलाई विकास गरिने छ । ‘हामी अझै भौतिक पूर्वाधार थप्छौं । अहिलेलाई ५ हजार क्षमता भए पुग्छ भनेर उद्घाटन गरेका हौं,’ उनले भने । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र वडाध्यक्ष राजेश बानियाँले संयुक्त रूपमा रंगशालाको उद्घाटन गरे ।


शुक्रबार उदघटन गरिँदै ।

हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसाबले देशमै अग्रस्थानमा रहेको भए पनि रंगशालाको अभावमा यहाँ सञ्चालन हुने फुटबल प्रतियोगिता बाँसको अस्थायी प्यारापिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । ‘रंगशाला निर्माण नहुँदा खेलकुद प्रतियोगिताको व्यवस्थापन निकै फितलो हुँदै आएको थियो । रंगशाला निर्माणपछि आगामी दिनमा फुटबलसहित विभिन्न खेलकुदका गतिविधि आयोजना गर्न सहज हुनेछ,’ घिमिरेले भने । उनले बक्सिङका लागि आफूले कभर्डहल निर्माण गरेर पुनः रंगशाला निर्माण सहजै सम्पन्न हुँदा धेरै खुसी मिलेको बताए । उनको नेतृत्वमा रंगशाला नजिकै बक्सिङ कभर्डहल समेत निर्माण भइसकेको छ ।

रंगशालामा फुटबलसहित एथलेटिक्सको ट्र्याकसमेत निर्माण गरिएको छ । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डको आठ लेनसहितको १० मिटर चौडाइको एथलेटिक्स ट्र्याकसमेत निर्माण गरिएको छ । अब रंगशाला परिसरमै कभर्डहल बनाउने योजना रहेको उनले बताए । ‘अब इन्डोर खेलका लागि आवश्यक पर्ने गरी कभर्डहल निर्माण गर्नेछौं । मिनी रंगशालाको रूपमा यसलाई हामी विकास गर्नेछौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन २८, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×