१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

थ्रीस्टारमाथि संकटाको बदला

अर्जुन राजवंशी

बिर्तामोड — थ्रीस्टार क्लबसँग ‘ए’ डिभिजन लिगमा भोगेको हारको बदला लिँदै संकटा क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मंगलबार संकटाले २–० को जित निकाल्यो । लगातार दोस्रो जित निकाल्दै संकटा अगाडि बढेको हो । डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा संकटाबाट दुवै गोल विदेशी खेलाडीले गरे ।

थ्रीस्टारमाथि संकटाको बदला

२५ औं मिनेटमा यानिकले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । फोडे फोफानाले मैदानको बीच भागबाट अघि बढाएको बल यानिकलाई मिलाइदिएका थिए । बक्सभित्र रहेका यानिकले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ६३ औं मिनेटमा फोफानाले गोल गर्दै संकटाको जित निश्चित गरेका थिए । उनले लक्ष्मण रुचालको पासमा आकर्षक गोल गरेका हुन् । खेलमा स्ट्राइकर चल्न नसक्दा थ्रीस्टार स्कोरविहीन रह्यो । पहिलो हाफमा राम्रो पास खेलिरहेको थ्रीस्टार दोस्रो हाफमा तालमेल मिलाउन नसक्दा गोल फर्काउन असफल रह्यो ।

थ्रीस्टार दोस्रो मिनेटमै गोल गर्ने अवसरबाट चुकेको थियो । रितिक खड्काले बक्सभित्रबाट गरेको हेडर संकटाका गोलरक्षक रोहित कार्कीले विफल तुल्याएका थिए । ३७ औं मिनेटमा कर्नर बललाई संकटाका यानिकले गरेको हेड बल बार नजिकैबाट बाहिरियो । ३९ औं मिनेटमा थ्रीस्टारका आयुश घलानले बक्स नजिकैबाट गरेको सशक्त प्रहार अकासिएको थियो ।

थ्रीस्टारले ४१ औं मिनेटमा पाएको फ्रिकिक प्रहार पनि सदुपयोग गर्न सकेन । ४६ औं मिनेटमा थ्रीस्टारका रितिकले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलरक्षक रोहितले बचाउ गरे । थ्रीस्टारका सन्जोग राईले हेडमार्फत प्रहार गरेको बललाई ५० औं मिनेटमा उनै रोहितले पञ्च गरेर फर्काए । उक्त बललाई पुन: रितिकले प्रहार गरे पनि पोस्टको दिशा दिन सकेनन् । संकटाका उत्तम राईले गरेको प्रहार ७० औं मिनेटमा थ्रीस्टारका गोलरक्षक प्रिसोले विफल तुल्याएका थिए ।

संकटाका गोलकिपर रोहित कार्की प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

थ्रीस्टारका प्रशिक्षक रवीन्द्र सिल्पकारले लिगपछि तयारीबिना नै झापा आएकाले जित हासिल गर्न नसकेको बताए । ‘लिगपछि सबै खेलाडी घर गएका थिए । उनीहरू घरघरबाटै झापा आएका हुन् । तयारी नगर्दा जित निकाल्न सकेनौं,’ उनले भने ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल प्रतिस्पर्धात्मक भए पनि नतिजा सुरक्षित गर्न आफ्ना खेलाडीहरू सफल बनेकामा सन्तुष्टि व्यक्त गरे । उनले भने, ‘फुटबलमा पाएको मौका सदुपयोग गर्नु नै मुख्य कुरा हो, मेरा केटाहरूले त्यही गरेका हुन् ।’

बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र पाहुना टोली एम एफसी दार्जिलिङबीच खेल हुनेछ । मंगलबार आयोजकले खेल हेर्न महिला दर्शकलाई नि:शुल्क प्रवेश दिएको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?