२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सातदोबाटो सेमिफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — लगातार दोस्रो जित निकाल्दै सातदोबाटो युथ क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ ले पराजत गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

सातदोबाटो सेमिफाइनलमा

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा तीनवटै गोल दोस्रो हाफको अन्तिम १३ मिनेटभित्र भयो । ८२ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । पेनाल्टी बक्सभित्र रहेका सुशिलले दायाँ बार च्याप्दै प्रहार गरेको बल गोलमा परिणत भयो ।

लगत्तै ८५ औं मिनेटमा निरोज चौधरीले गोल थप्दै सातदोबाटोको अग्रता दोब्बर बनाए । करिब २२ यार्ड टाढाबाट निरोजले गरेको सशक्त प्रहार एपीएफका खेलाडीको ढाडमा ठोक्किँदै पोस्टको दिशा लिन पुग्यो । एपीएफका दिपेश धिमालले खेलको इन्ज्युरी सयममा एक गोल फर्काए पनि त्यो सातदोबाटोलाई रोक्न पर्याप्त भएन । कर्नर बललाई सातदोबाटोका डिफेन्डरले क्लियर गर्न नसक्दा दिपेश गोल फर्काउन सफल भएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बल अधिकांश समय एपीएफको नियन्त्रणमा रहे पनि गोल गर्न सकेनन् । सातदोबाटोले खेलको १२ औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । प्रशान्त अवस्थीको वान टच प्रहार एपीएफका गोलकिपर युया कुरियामाको शरीरमा लागेर फर्किएको थियो ।

२० औं मिनेटमा एपीएफका दिपेश धिमालको कडा प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले कठिनसँग बचाए । २७ औं मिनेटमा एपीएफका विदेशी खेलाडी आर्मोन्ड बिएडमले पोस्टतर्फ अघि बढाएको बल सातदोबाटोका पिटर सेगुनले गोल गर्नबाट रोकिदिए । ५८ औं मिनेटमा एपीएफका आवास लामिछानेको कडा प्रहार सातदोबाटोका गोलकिपर अभिषेक रोक्न सफल भए । सातदोबाटोका आशिष राईको प्रहार ७७ औं मिनेटमा एपीएफका गोलकिपर युयाले पञ्च गरेर जोगाए ।

एपीएफका प्रशिक्षक कुमार थापाले पहिलो हाफमा अवसरमा गोल गर्न नसक्नु नै पराजित हुनुको कारण रहेको बताए । झापाको गर्मीले गर्दा पनि खेलाडीहरूले अपेक्षित खेल पस्किन नसकेको उनको भनाइ थियो । सातदोबाटोका प्रशिक्षक उज्वल मानन्धरले निर्धारित समयमै नतिजा निकाल्ने आफूहरूको रणनीति सफल भएको बताए । टिममा जुनियर खेलाडी भए पनि पाएको मौकामा गोल गर्न सक्नु नै आफूहरूको सफल रणनीति भएको उनको तर्क थियो ।

सातदोबाटोका गोलकर्ता सुशील राई म्यान अफ द म्याच भए । मंगलबार थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन २४, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?