कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

अनन्त इस्ट बंगालमा खुसी

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्डियन सुपर लिग (आईएसएल) क्लबमा सम्झौता गरेका पहिलो नेपाली फुटबलर अनन्त तामाङले एससी इस्ट बंगालमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन् ।

अनन्त इस्ट बंगालमा खुसी

इस्ट बंगालले बुधबार ट्विट गर्दै अनन्त टिममा आबद्ध भएको घोषणा गर्दै भनेको छ, ‘नेपाली डिफेन्डर अनन्त तामाङलाई सिजनको बाँकी अबका लागि हस्ताक्षर गर्न पाउँदा हामी खुसी छौं ।’ कोलकाताको क्लबको ट्विटमा सेन्टरब्याक अनन्तलाई उद्धृत गर्दै लेखिएको छ, ‘म इस्ट बंगालमा आबद्ध हुन पाउँदा खुसी छु । हरेक तबरले म क्लबलाई सहयोग गर्न तयार छु । मेरा लागि यो गर्वको क्षण हो ।’

ह्यामस्ट्रिङका कारण नेपालविरुद्ध मोरिससका दुई मैत्रीपूर्ण खेल गुमाएका अनन्त सहिद स्मारक ‘ए’ डिभिजन लिगको चार खेल बाँकी छँदा थ्रीस्टार छाड्दै इस्ट बंगालमा अनुबन्धित भएका हुन् । एसियाली खेलाडीको कोटामा रहेका अस्ट्रेलियन सेन्टरब्याक तोमिस्लव मार्सेला ‘ए लिग’ क्लब वेस्टर्न सिड्नी वन्डर्समा गएपछि इस्ट बेंगालले अनन्तलाई बोलाएको थियो ।

साफ च्याम्पियनसिप २०२१ मा नेपाललाई फाइनलसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका २४ वर्षीय अनन्त अहिले गोवामा क्वारेन्टाइन बसिरहेका छन् । आईएसएलमा यो सिजन जम्मा एक जितमात्रै हात पारेको इस्ट बेंगाल १० अंकसहित अन्तिम स्थानमा रहेको छ । मंगलबार मुम्बई सिटीविरुद्ध १–० ले हारेको इस्ट बेंगालले यो सिजन दुई खेल खेल्न बाँकी छ । टोलीले नर्थ इस्ट युनाइटेडविरुद्ध फेब्रुअरी २८ र बेंगलुरुविरुद्ध मार्च ५ मा प्रतिस्पर्धा गर्नेछ । यिनै दुई खेलमा स्पेनी प्रशिक्षक मारियो रिभेराले अनन्तलाई खेलाउने आस गरिएको छ ।

अनन्त नेपाली टिमले साफ यू–१९ च्याम्पियनसिप २०१५, दक्षिण एसियाली खेलकुद २०१६ र २०१९ (यू–२३), बंगबन्धु गोल्डकप २०१६, एएफसी सोलिडारिटी कप २०१६ को उपाधि जित्दाका प्रमुख सदस्य पनि हुन् । आईएसएल सकिएपछि उनी नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश फर्किने छन् । उनी एनएसएलको ‘मार्की’ को २२ खेलाडीमा पनि छन् । एनएसएलका १० क्लबले एकएक मार्की खेलाडी लिनेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?