यूएईविरूद्ध नेपालको पहिले बलिङ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

यूएईविरूद्ध नेपालको पहिले बलिङ

खेल जिते नेपाल विश्वकप पुग्ने
विनोद पाण्डे

काठमाडौँ — नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो ।

नेपाली टोलीमा एकमात्र परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफूले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए ।

यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुवै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुवैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुवै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।

नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । नेपालले सोमबार क्यानडामाथि ८ विकेटको सहज जित निकालेको थियो । सबै ३ खेल जितेर समूह ‘बी’ को विजेता बनेको नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।

यूएई त्यसको तुलनामा सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो ।

यूएईलाई अझ १ सय ५७ रनमाथि पुग्न अन्तिम ओभरमा १२ रन चाहिन्थ्यो । भृत्या अरविन्दले २४ रन बनाउँदै यूएईलाई बहराइनको स्कोर नजिक पुर्‍याए पनि जित दिलाउन सकेनन् । यूएईले ६ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सक्यो । यूएईको पराजयपछि आयरल्यान्ड समूह ‘ए’ को विजेता बन्यो र ओमानसँगको अर्को सेमिफाइनल भिडन्त पक्का गर्‍यो । बहराइनभन्दा यूएई थोरैले मात्र अगाडि रहेको थियो ।

त्यसअघि यूएईले आयरल्यान्ड र जर्मनीलाई पराजित गरेको थियो । ट्वान्टी–२० विश्वकप छनोट अघि ओमान भ्रमणमा खेलिएको चारदेशीय ट्वान्टी–२० शृंखलामा यूएईले नेपाललाई २५ रनले पराजित गरेको थियो । तर नेपालबाट त्यो खेलमा कुशल भुर्तेल, अविनाश बोहराले खेलेका थिएनन् ।

प्रकाशित : फाल्गुन १०, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्

मुआब्जामै अड्कियो बुढीगण्डकी आयोजना

आयोजना छिटो सम्पन्न गर्न ध्यानाकर्षण
सरिता श्रेष्ठ

धादिङ — राष्ट्रिय गौरव बोकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो । आयोजना कुन ढाँचामा कसरी बनाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । आयोजना प्रभावितका लागि २०७२ सालको चैतदेखि मुआब्जा वितरणको कार्य सुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । 

आयोजनाले धादिङ र गोरखाका प्रभावित क्षेत्रमा जग्गाको छुट्टाछुट्टै तरिकाले मुआब्जा निर्धारण गरेको थियो । अब घर-गोठ तथा टहराको मुआब्जा निर्धारण गर्दा समान रुपमा मुआब्जा निर्धारण गर्न स्थानीयले माग गरेका छन् । ‘पहिले धादिङ र गोरखाका प्रभावितलाई छुट्टाछुट्टै दररेट थियो, अहिले घरटहराको मुआब्जा निर्धारण पनि असमान दररेट कायम गर्न खोजिएको छ‚’ बुढीगण्डकी सरोकार समिति गोरखा, धादिङका अध्यक्ष दिनेशकुमार ढकालले भने । प्रभावित क्षेत्रमा दुवै जिल्लाका जनता पर्ने भएकाले उनीहरूले मुआब्जा दररेट निर्धारणमा एकरुपता कायम गर्नुपर्ने माग राखेका छन् ।

लामो समय लगाएर आयोजना प्रभावित क्षेत्रका स्थानीयको जग्गाको मुआब्जा वितरण सकिए पनि डुबान क्षेत्रमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण हुन सकेको छैन । मूल्य निर्धारण गर्नुअघि दररेट सार्वजनिक गर्नुपर्ने, धादिङ र गोरखाको मुआब्जा समान कायम हुनुपर्ने, छुट भएका भौतिक संरचनाको पुनः सर्वेक्षण हुनुपर्ने लगायतका माग प्रभावितहरूले राखेका छन् । आयोजनाको मोडालिटी तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, सुकुम्बासीलाई बसोबासको उचित व्यवस्था गरिनुपर्ने, वातावरणीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, डुबान क्षेत्रमा दर्ता भई संचालनमा रहेका फर्महरूको उचित सम्बोधन गर्नुपर्ने माग राखिएको ढकालले बताए ।

यसैबीच जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना छिटो सम्पन्न गर्न नेपाली कांग्रेस धादिङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । नेपालको समृद्धिमा अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणमा देखिएका समस्या छिटो समाधान गरी निर्माणको काम सम्पन्न गर्न ध्यानाकर्षण गरेको हो । नेपाली कांग्रेस धादिङले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण र यसले पार्ने मानवीय, आर्थिक, भौतिक, पुरातात्त्विक, वातावरणीय लगायतका प्रभावका सम्बन्धमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । डुबानबाट प्रभावित क्षेत्रको वैज्ञानिक तथा न्यायोचित मुआब्जा वितरण गर्न आग्रह गरेको छ । आयोजनाले प्रभाव पार्ने सबै क्षेत्रको सम्बोधन गरिनुपर्ने १२ बुँदे पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

आयोजना नेपाली लगानीमा निर्माण गर्ने सुनिश्चितता गर्न, निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न, प्रभावित क्षेत्रका बासिन्दाको पुनर्बासको व्यवस्था गर्न आग्रह गरिएको छ । वि.सं. २०७२ चैत २० गते जग्गाको मुआब्जा निर्धारण हुँदा १० रोपनीभन्दा कम जग्गा भएकालाई १० प्रतिशत र ५ रोपनीभन्दा कम जग्गा भएकालाई १५ प्रतिशत थप मुआब्जा दिने निर्णय भएको तर कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।

यस्तै धादिङको पुरानो ऐतिहासिक, व्यापारिक केन्द्र आरुघाट तथा खहरे बजारका प्रभावित व्यवसायीको व्यापारिक ख्याति एवम् जीविकोपार्जनलाई सहयोग पुग्ने प्याकेज ल्याउन आग्रह गरिएको छ । वि.सं. २०६९ पछि ३ पुस्ताभित्र भएको तथा शेषपछि नामसारी अंशबन्डा भएको जग्गाको हकमा काटिएको २.५ प्रतिशत र सोभन्दा बढी लाभकर रकम फिर्ता गर्न, फिल्डबुकमा भएको तथा पुर्जा नभएको जग्गाको नीतिगत रूपमा व्यवस्था गरी मुआब्जाको व्यवस्था गर्न माग गरिएको छ । लामो समय अगाडिदेखि सार्वजनिक जग्गामा बनाइएको घरगोठ तथा टहराको मूल्यांकन गरी मुआब्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७८ १५:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×