क्यानडालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

क्यानडालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा

विनोद पाण्डे

काठमाडौँ — नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज जित हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको हो । 

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरी नेपाललाई समूह विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाए ।

ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए । सल्मान नजरको बलमा एलबीडब्लु आउट भएका उनले १६ बल खेली १ चौका र १ छक्का प्रहार गरे । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल आफूले सामना गरेको पहिलो बलमै कलिम सानाको बलमा बोल्ड भए ।

नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ । विजयी हुने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।

आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनल खेल्ने छ । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले पराजित गर्‍यो । फिलिपिन्सलाई ३६ रनमै अलआउट गर्दै ओमानले २.५ ओभरमा ४० रन बनाउँदै सजिलो विजय हात पारेको हो ।

यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भएको थियो । सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्थ्यो । तर नेपाली बलरहरूका अगाडि क्यानडा तहसनहस हुन पुग्यो । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चेका थिए ।

कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।

कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाश ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।

अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर पनि सम्भव भएको थियो । नजरलाई अविनाशले आउट गरे । हेयलिगरले सर्वाधिक २४ रन बनाउने क्रममा २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

नेपालले गुलशन झाको स्थानमा कमललाई खेलाएको थियो । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरि यसअघि नै सेमिफाइनलका लागि बलियो आधार बनाएको थियो । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

असहाय बाबुछोराको एक महिनापछि अस्पतालबाट उद्धार

मानसिक रोगी भएका छोराहरुलाई पालनपोषण गर्न नसकेर भारतमा लगेर सडकमा छाड्न लागेका बझाङ तलकोट गाउँपालिकाका ८० वर्षीय सिंग रोकायाले सहयोगी हात पाए ।
विद्या राई

काठमाडौँ — पाटन अस्पतालमा मानसिक स्वास्थ्यको उपचार गराइरहेका बझाङको तलकोट गाउँपालिकाका तीन बाबुछोराको आइतबार उद्धार भएको छ ।

विपन्न तथा असहाय परिवारका उनीहरु आफन्तको सहयोगमा बझाङबाट काठमाडौं उपचारका लागि आइपुगेपनि खर्चको अभावले अस्पतालमा बेडमा छट्पटिरहेका थिए । उनीहरुको तारकेश्वरस्थित नवजीवन परोपकार समाजले उद्दार गरेको हो ।

४५ वर्षको जेठो छोरो रामसिं र ३० वर्षको माइलो छोरो वीरसिं मानसिक रोगी भएपछि ८० वर्षीय सिंग रोकाया कुरुवा बसेका थिए । कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले सहयोग रकम जुटाउने र उद्धारमा नेतृत्व गरे ।

देश तथा विदेशमा बस्ने सहयोगी मन भएका व्यक्तिहरुबाट करिब दुई लाख रुपैयाँ सहयोग उठेको थियो । जसमध्ये २५ हजार उनीहरुलाई लुगाकपडा किन्न र औषधि उपचारमा खर्च भइसकेको दाहालले बताए । बाँकी रकमले कलंकीस्थित सूर्योदय उपचार केन्द्रमा वीरसिंहको मानसिक स्वास्थ्यको सुधारका लागि नियमित उपचारमा खर्च गरिनेछ ।

एक महिना बढी पाटन अस्पतालमा उपचार गरेर आइतबार डिस्चार्ज भएका छन् । उद्धारका लागि समाजका अध्यक्ष दाहाल गाडी लिएर आइतबार दिउसो अस्पताल गेट प्रवेश गरे । सिंग बाहिर घाम तापेर बसिरहेका थिए । दाहाललाई देख्ने बित्तिकै उनी खुसीले भक्कानिए, ‘ओहो ! सर आउनुभएछ, भगवान् भेटेझैं भएको छ ।’ छोराहरुको डिस्चार्जका लागि तयारी भइरहेको जानकारी गराउदै दुवैजना अस्पतालभित्र छिरे । सिंगले जेब्रा झोलामा लुगा प्याकिङ गरे । अस्पतालले डिस्चार्जको पत्र थमायो । तीनै जनालाई गाडीमा राखेर दाहाल समाजको आश्रमस्थल लागे । जेठो छोरो र सिंगलाई आश्रममा बस्ने व्यवस्था मिलाएको छ । आश्रममा बेसहरा, असहाय व्यक्तिहरु ३५ जनालाई आश्रय दिइएको छ । कान्छो मानसिक सन्तुलन अझै पनि निको नभइसकेको हुँदा थप उपचारका लागि कलंकीमा पुन:स्थापना गरिएको छ । पहिलो चरणमा छ महिना उपचार गराइने र मासिक १५ हजार खर्च लाग्नेछ ।

‘जेठोचाहिँ बुबा जता जानुहुन्छ त्यतै जाने गर्नुहुन्छ, कान्छो अलि ‘एग्रेसिभ’ हुनुहुन्छ, त्यही भएर छुट्टाछुट्टै राख्न लागेका हौं, ठिक भएपछि उहाँहरु यतै बस्न चाहानुभए आश्रममै राख्छौ, हैन घरै गएर बस्छौं भन्नुभए पनि उतै पठाउँछौं,’ दाहालले भने । आफूले स्याहारसुसार पाउनुपर्ने उमेरमा उल्टै छोराहरुको रेखदेख गरिरहेका सिंग सहयोग पाएपछि खुसी छन् । ‘बुढेसकालमा पनि छोराहरुको जिम्मेवारी लिनुपर्ने भएको थियो, म पनि केही गर्न सक्दिन, सहयोगी हातहरुको कृपाले काम चलेको छ, उपचार पायौं,’ उनले भने ।

जेठो छोरालाई १० वर्षदेखि नै मानसिक रोग देखिएको थियो । त्यतिबेला उनीहरु सपरिवारै भारतको नैनीतालमा गाइपालन तथा तरकारी खेती गरेर बस्थे । बझाङमा खेतीपाती गरेर जीविका चलाउन गाह्रो भएकाले सिंगले परिवारलाई ४० वर्षअघि नै नैनीताल लिएर गएका थिए । चार छोरा र चार छोरीहरु मध्ये जेठोमात्रै नेपालमा जन्मिएका हुन् । अरु सात सन्तानको जन्म उतै भयो । सबै सन्तानहरुलाई उतै हुर्काए । लेखपढ गराए । छोरीहरुको विवाह गराए । उनीहरु पाँच वर्ष अघिसम्म नैनीतालमै थिए । सिंग र उनकी ७५ बर्षिया पत्नि वृद्धावृद्धा भए । काम गरेर परिवार पाल्न नसक्ने भएपछि बझाङ घर फर्किए । साइलो र कान्छो छोराले घर फर्कन चाहेनन् । पत्निले पहाड पुगेर बस्न नसक्ने भन्दै कञ्चनपुरमा छोरीकै घरमा बस्ने निधो गरिन् ।

सिंगले जेठो र माइलो छोरो लिएर गाउँ पुगे । चार दशक अघि छोडेको घर भत्किएर नामोनिशाना थिएन । जग्गाजमिन कहाँ कति छन् अत्तोपत्तो छैन । सुरुका केही समय आफन्तको घरमा आश्रय लिए । सधैं आफन्तकै घरमा बस्न असहज भएपछि तलकोट बजारको पाटीपौवा, विद्यालय हाताभित्र बस्न थाले । मागेर ल्याएको, अरुले दया गरेर दिएको खानेकुरा खान्थे । कहिले भोकै खुल्ला आकाशमुनि सुते । मनकारीहरुले दिएको लुगाकपडा लगाउँथे । उनीहरुको घर भन्नु नै पाटीपौवा, खुल्ला आकाश थियो, परिवार भनेकै वरिपरिका गाउँले थिए ।

जेठो छोरो सधैं एकोहोरो हुने, टोलाउने गर्थे । मान्छेले बोलाए एक वाक्य बोलिदिन्थे । जेठोको मानसिक स्वास्थ्य ठिक नभएपनि कान्छोमा समस्या थिएन । जब उनीहरु भारतबाट गाउँ फर्किए र घरविहिन भएर खुल्ला आकाशमुनि बस्न थाले । बेवारिसे भएर बस्नुपरेकाले मानिसहरुले गिज्याउँथे । हेला गर्थे । विस्तारै कान्छो छोरामा पनि समस्या देखिन थाल्यो । पछिल्लो समयमा गाउँका कुखुरा चोर्ने, भाडाकुँडा फाल्ने, वृद्ध बुबालाई कुट्ने, अभद्र व्यवहार गर्न थालेपछि गाउँले अन्यत्रै जान दबाब दिन थाले ।

आफ्नै घर बस्नुपर्‍यो कि त ठाउँ छाडेर जानुपर्‍यो भन्ने दबाब भएपछि सिंगले एक महिनाअघि गाउँपालिकामा घरविहिनलाई सहयोगको माग गर्दै निवेदन दिए । गाउँपालिकाले सुनुवाइ नै गरेन । आफूसित आयस्रोत नभएकाले उनीहरु घर बनाएर बस्न सक्दैन्थे । ठाउँ छोड्नुपर्ने निरन्तर दबाब आउन थालेपछि सिंगले आफ्ना छोराहरुलाई भारतमा लगेर सडकमा छोडिदिने जानकारी गराए ।

पुसको दोस्रो साता उनी छोराहरु लिएर भारत लागे । छोड्न लग्दै गर्दा कञ्चनपुरमा छोरीको घर पसेका थिए । उनले गाउँमा आफन्तहरुलाई खबर गरिन् । केही महिनायता काठमाडौं बसेर शिक्षक सेवा तयारी गरिरहेका तलकोटको लोकण्ड गाउँमा कैलाश आधारभूत विद्यालयका लालबहादुर शिक्षक रोकायाले यो खबर पाएपछि उपचारका लागि राजधानीमा उद्धार गरेर ल्याएका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×