कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङ हिउँदे ओलम्पिकको समापन

लक्ष्मी लम्साल

बेइजिङ — २४औं बेइजिङ हिउँदे ओलम्पिक खेलकुद आइतबार सम्पन्न भएको छ । चिनियाँ समयअनुसार राति ८ बजे बर्डनेस्ट राष्ट्रिय रंगशालामा आयोजित समापन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखलगायत सहभागी थिए।

बेइजिङ हिउँदे ओलम्पिकको समापन

फेब्रुअरी १ तारिखदेखि चलेको २० दिने हिउँदे ओलम्पिकमा १६ स्वर्णपदक, ८ रजत पदक र १३ कांस्य पदकका साथ नर्वे पहिलो भयो भने १२ स्वर्ण, १० रजत र ५ कांस्यसहित जर्मनी दोस्रो बनेको छ। आयोजक चीनले तेस्रो स्थानमा चित्त बुझाएको छ भने अमेरिका चौथो स्थानमा परेको छ । चीनले ९ स्वर्ण, ४ रजत र २ कांस्य जितेको छ भने अमेरिकाले ८ स्वर्ण १० रजत र ७ कांस्य जितेको छ ।

अब यसपछि हिउँदे पारा ओलम्पिक आगामी २ सातामा सुरू हुनेछ। १३औं हिउँदे पारा ओलम्पिक मार्च ४ देखि १३ तारिखसम्म चीनको बेइजिङ र चाङ च्या खौ सहरमा हुने बेइजिङ समाचार केन्द्रले आइतबारको पत्रकार सम्मेलनमा जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखले हिउँदे ओलम्पिक खेलकुदमा चिनियाँहरूको ठूलो प्रभाव देखिएको औंल्याए । अध्यक्ष बाखले सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिक खेलकुदमार्फत अधिकांश हिउँदे खेलकुदहरूमा ठूलो परिवर्तन आएको टिप्पणी गरे। हाल चीनमा ३० करोड मानिसहरू हिउँ खेलमा सहभागी भएको बताउँदै हिउँदकालीन खेलहरूमा निकै ठूलो निहित शक्ति प्रतिबिम्बित गरिएको पनि उनले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?