पहिलो खेल नै सेमिफाइनल आधार- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप छनोट

पहिलो खेल नै सेमिफाइनल आधार

विनोद पाण्डे

काठमाडौँ — नेपालका लागि ट्वान्टी–२० विश्वकप छनोटमा ओमानसँगको पहिलो खेलमै जित हात पार्न सके नै सेमिफाइनल ढोका खुलेजस्तै हुनेछ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्दै छ ।

नेपालजस्तै ओमानको हकमा यही लागू हुनेछ । पहिलो खेल अर्थात नेपालमाथि विजय हात पारे ओमानको सेमिफाइनल यात्रा लगभग निश्चितजस्तै हुनेछ । यस समूहमा रहेको अर्का दुई टोली फिलिपिन्स र क्यानडा हुन् । फिलिपिन्स निकै नवप्रवेशी टोली हो । यो टोलीविरुद्ध खेल्दा सबैको लक्ष्य विजयबाहेक रनरेट बढाउनु हुनेछ । नेपालले फिलिपिन्ससँग शनिबार खेल्नेछ ।

तीन वर्षपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको फिलिपिन्सबाहेक समूह ‘बी’ बाट नेपाल, ओमान, क्यानडामध्ये जुन कुनै टोली पनि सेमिफाइनलको हकदार छन् । त्यसमा नेपाल र ओमानको सम्भावना बढी देखिएको छ । तर पहिलो खेलमै यी दुई टोली आमनेसामने हुन लागेकाले सम्हालेर खेल्नु दुवैको उद्देश्य हुनसक्छ ।

सोमबार सम्पन्न चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपालले पहिलो खेलमा ओमानलाई नै हराएको थियो । ओमानलाई १३५–६ को स्कोरमा रोकेपछि दीपेन्द्रसिंह ऐरीको अविजित ७३ रनमा नेपालले ३ बलअगाडि लक्ष्य पूरा गरेको हो । नेपाल त्यसपछिका दुई खेलमा यूएई र आयरल्यान्डसँग पराजित भयो । नेपालपछि आयरल्यान्डसँग पराजित ओमानले अन्तिम खेलमा यूएईविरुद्ध जित पाएपछि रनरेटमा नेपाललाई पुछारतिर धकेलिदिएको थियो ।

‘हाम्रो तयारी अहिलेसम्म निकै राम्रो भयो । पछिल्ला तीन खेलमा हामीले उच्चस्तरको क्रिकेट खेल्न पायौं, यति राम्रो तयारी हामी कल्पनामात्र गर्न सक्छौं,’ नेपालका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय ट्वान्टी–२० शृंखलाबारे भने, ‘नतिजाजस्तै भए पनि खेलाडीले राम्रो खेलेकाले मलाई कुनै पछुतो छैन । यो तीन खेलपछि खेलाडीको आत्मविश्वास बढेको छ ।’

कप्तान सन्दीप लामिछाने यही तयारीका आधारमा नेपाल विश्वकपमा पुग्ने दाबी गर्छन् । उनले भने, ‘टिम संयोजन र चारदेशीय ट्वान्टी–२० शृंखलाका तीन खेल हेर्दा हामी विश्वकपमा पुग्न सक्षम छौं, बाँकी धेरै हाम्रो खेलमा भरपर्छ ।’ समूह ‘ए’ मा आयरल्यान्ड, यूएई, जर्मनी र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने टोली विश्वकपमा छानिनेछन् ।

त्यसअघिको चारदेशीय ट्वान्टी–२० शृंखला विश्वकप छनोटका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता बनेको सन्दीप स्वीकार्छन् । ‘खेलाडीको प्रदर्शनदेखि मैदानको कन्डिसन बुझ्न यो प्रतियोगिता निकै प्रभावकारी भयो । बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा विस्तारै सुधार भइरहेको छ । त्यसैले आउने खेलहरूका लागि यो हाम्रो राम्रो तयारी थियो,’ उनले भने ।

चोटका कारण चारदेशीय ट्वान्टी–२० शृंखलामा एउटै खेल खेल्न नपाएका करण केसीले विश्वकप छनोट पनि गुमाइसकेका छन्, जुन नेपालका लागि ठूलो धक्का हो । तर प्रशिक्षक दासानायके भन्छन्, ‘१–२ खेलाडी घाइते भए पनि हामी राम्रो लयमा छौं । हाम्रा उत्कृष्ट खेलाडीहरू राम्रो स्थितिमा छन् । ब्याटिङ विस्तारै लयमा आउँदै छ, केही तयारी पूरा गर्न बाँकी छ ।’

करणको स्थानमा नेपालले गुलशन झालाई १४ सदस्यीय टोलीमा राखेको छ । बलिङ अलराउन्डर गुलशन बिहीबार रातिमात्र मस्कट पुग्ने भएकाले उनले शुक्रबार ओमानसँग खेल्ने सम्भावना कम छ । सन्दीपबाहेक नेपालबाट नियमीत स्पिनरहरू ओमानमा जम्न नसकेकाले सागर ढकालको पनि प्लेयिङ ११ मा पर्ने सम्भावना कमै छ । सागरले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानसँगको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दा ३ ओभरमा ३६ रन खर्चिएका थिए । त्यसपछि नेपालले अर्का देव्रेहाते स्पिनर शाहब आलमलाई यूएईसँगको खेलमा प्रयोग गरेको थियो । त्यसमा शाहब पनि चुटिए । पाँचौं बलरको भूमिका नेपालबाट दीपेन्द्र, विवेक यादव र आरिफ शेखले निभाउन सक्छन् । ब्याटिङमा निकै प्रभावकारी प्रदर्शन गरेका दीपेन्द्र अफ स्पिनमा पनि उपयोगी बनेका थिए ।

चारदेशीय ट्वान्टी–२० शृंखलामा ब्याटिङमा असफल रहे पनि भेट्रानद्वय ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमाथि प्रशिक्षक दासानायकेले विश्वास देखाउँदै आएका छन् । ओमानसँगको निकै महत्त्वपूर्ण मानिएको खेलमा दासानायकेले यी दुईमध्ये एकलाई बाहिर राख्न सक्छन् । दुवैलाई खेलाएमा विवेक प्लेयिङ ११ बाहिर हुन सक्छन् ।

प्रकाशित : फाल्गुन ६, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफले रेलिगेसन टार्‍यो

राजु घिसिङ

काठमाडौँ — सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुरुका तीनै खेल हारेपछि संकटमा परेको थियो । धेरैले अनुमान गरेका थिए, अब एपीएफ ए डिभिजनमा अडिँदैन । त्यसपछि विदेशी खेलाडी अनुबन्ध गर्ने पहिले विभागीय टिम हुँदै एपीएफले लय समात्यो । नामै नचलेका एपीएफका आफ्नै खेलाडीले पनि राम्रै खेल्न थाले । सुधारिएको खेललाई निरन्तरता दिँदै एपीएफले एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बिहीबार मनाङ मर्स्याङदीलाई ३–१ स्तब्ध पार्‍यो ।

दशरथ रंगशालामा आशिष लामा, मणिकुमार लामा र कप्तान नवीन लामाको गोलमा यो लिगमा अपराजित यात्रा आठौं खेल पुर्‍याउँदै एएपीएफ ११ खेलबाट १४ अंकसहित आठौं स्थानमा उक्लियो । यससँगै एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कायमै रहने निश्चित गर्‍यो । ३ जित, ५ बराबर र ३ हारको नतिजा निकाले एपीएफले रेलिगेसन क्षेत्रको टिमलाई ७ अंकले पछाडि पार्‍यो । हिमालयन शेर्पा (१३ अंक), पुलिस (११), जावलाखेल (१०), फ्रेन्ड्स (७), ब्रिगेड ब्वाइज (७) र च्यासल युवा क्लब (६) छन् । यसपालि पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।

‘मनाङ कठिन टोली हो, लिगको दोस्रोमा छ,’ लिगमा मनाङविरुद्ध एपीएफलाई १५ वर्षयता पहिलो जित दिलाएका प्रशिक्षक कुमार थापाले भने, ‘खेलाडीले मिहिनेत गरे । पछाडि परेर पनि कमब्याक गरे । यो बानी राम्रो भइरहेको छ । यसमा खुसी छौं । अब यस वर्ष रेलिगेसन टर्‍यो । एकदम खुसी छौं ।’ २०६२ सालमा मनाङ ए डिभिजन लिग हुँदाका कप्तान हुन् उनी । त्यसपछि उनी एपीएफ पुगे । त्यही वर्ष (२०६३) एपीएफले मनाङलाई २–१ ले हराएको थियो । त्यसयता लिगमा एपीएफले मनाङमाथि जित पाएको यसैपालि हो । थापाले प्रशिक्षकको रूपमा पनि यसपल्ट नै लिगमा डेब्यु गरेका हुन् ।

आफ्नो पूर्वक्लबमाथिको जितबारे प्रशिक्षक थापाले भने, ‘फुटबल भनेको अहिले हो, मैले त्यो प्रमाणित गरें । हिजो त के थियो के थियो भोलि कहाँ हुन्छ थाह छैन । अहिले रिजल्ट ल्यायौं । इतिहास त छँदै छ । धेरै पछाडि मनाङलाई पराजित गर्दा खुसी छौं ।’ कीर्तिमान आठपल्टको लिग च्याम्पियनको प्रदर्शनबारे उनी बोले, ‘मनाङ सधैं राम्रो टिम हो, के मिलिरहेको छैन, मैले बुझिरहेको छैन ।’ मनाङ २० अंकसहित दोस्रोमा यथावत रह्यो ।

पछिल्ला तीन खेलमा १ अंकमात्रै जोडेको मनाङले तेस्रो हारसँगै आर्मी (१९ अंकसहित तेस्रोमा) सँगको अन्तर ४ अंक बनाउने अवसर गुमायो । उपाधि भने ११ खेलमा २९ अंक जोड्दै मछिन्द्रले दुई खेल बाँकी छँदै कब्जा गरिसकेको छ । त्यसैले अब दोस्रो स्थानका लागि मनाङ, आर्मी, थ्रीस्टार (१८ अंक) र एनआरटी (१७) को चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यी चार टिम ३ अंकभित्र छन् ।

एपीएफले दुई साताअघि पोखारामा पहिलोपल्ट आहा–रारा गोल्डकप उपाधि जित्दा पनि फाइनलमा मनाङलाई २–२ को बराबरीपछि पेनाल्टी शुटआउटमा सिकार बनाएको थियो । ‘पोखरामा रमाइलो गर्न गएका थियौं, प्रतियोगिता पनि जित्यौं । आहा–रारा जितेपछि खेलाडीमा गर्नुपर्छ भन्ने उच्च आत्मविश्वास थियो । त्यो प्रमाणित भयो,’ प्रशिक्षक थापाले भने, ‘यो नतिजा पहिला नै सोचेका थियौं । सुरुका तीन हारपछि चुनौती बढेको र विभिन्न पोजिसनमा नयाँ खेलाडी ल्याएपछि टिममा परिवर्तन आएको हो ।’

एपीएफले जापानी गोलकिपर युया कुरियामाको गल्तीमा ३६ औं मिनेटमा गोल बेहोरेको थियो । गोलकिपर विशाल सुनारले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बललाई अघि बढिसकेका युयाले क्लियर गर्न सकेनन् र त्यसैलाई कप्तान अञ्जन विष्टले खाली पोस्टको दिशा दिँदै मनाङलाई १–० को अग्रता दिलाएका थिए । तर, आशिषले ४० औं मिनेटमै गोल गर्दै एपीएफलाई बराबरीमा फर्काए । सब्स्टिच्युट मणिले ८२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै २–१ को अग्रता दिलाए । गोलकिपर विशालले नियन्त्रण गर्न नसकेका बलमा नवीनले ८७ औं मिनेटमा गोल गरेर एपीएफको सनसनीपूर्ण जित पक्का गरिदिए । मनाङले तीनै गोल आफ्नै गल्तीमा बेहोरेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी १–० ले संकटालाई हराएर शीर्ष पाँचमा उक्लियो । स्टेफेन समीरले २८ औं मिनेटमा गोल गरेपछि एनआरटीले चौथो जित हात पारेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७८ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×