कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सहिद स्मारक ‘ए’ डिभिजन लिग

रेलिगेसन होड रोमाञ्चक

फ्रेन्ड्स क्लबको पहिलो जितले ‘ए’ डिभिजन लिग २०७८ को रेलिगेसन होड तीव्र
फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, च्यासलसँगै जावलाखेल शीर्ष लिगमै टिक्ने होडमा

काठमाडौँ — फ्रेन्ड्स क्लब ९ खेलसम्म जितविहीन थियो । तीन खेल बराबरी गरेको टोलीले ६ गोलमात्रै गरेको थियो । फ्रेन्ड्सले दसौं खेलमा आएर शुक्रबार ब्रिगेड ब्वाइजविरुद्ध ५ गोल गर्‍यो । पहिलो जितसँगै फ्रेन्ड्सले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा रेलिगेसनबाट बच्ने सम्भावना देखाएको छ ।

रेलिगेसन होड रोमाञ्चक

‘लिगमा यो हाम्रो पहिलो खोप हो,’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले ब्रिगेड ब्वाइजमाथि ५–२ को जितपछि भने, ‘अब दोस्रो खोप र बुस्टर डोज लगाउनुपर्नेछ ।’ उनले भनेका ‘खोप’ को सिधा अर्थ जित हो, जसले फ्रेन्ड्सलाई रेलिगेसनबाट बचाउन सक्छ । सिजनको पहिलो जितसँगै फ्रेन्ड्सले ६ अंक जोड्दै रेलिगेसन क्षेत्र पनि छाड्यो । उति नै अंक भए पनि ब्रिगेड ब्वाइज ‘हेड टु हेड’ मा पछाडि परेपछि रेलिगेसन क्षेत्रमा झरेको छ । च्यासल युवा क्लब ५ अंक लिएर पुछारमा छ ।

रेलिगेसन क्षेत्र नजिकको क्लब हो जावलाखेल । जावलाखेलले आर्मीविरुद्ध बराबरी खेलेपछि फ्रेन्ड्स र ब्रिगेड ब्वइजसँगको दूरी ३ अंक बनायो । त्यसैले च्यासल, ब्रिगेड ब्वाइज, फ्रेन्ड्ससँगै ‘बी’ डिभिजनमा झर्नबाट बच्ने प्रयासमा जावलाखेलले पनि संघर्ष गर्नुपर्ने देखिएको छ । यसमा तीन टिमको प्रदर्शन सुधारोन्मुख रहँदा ब्रिगेड ब्वाइजको प्रदर्शन भने खस्किँदै गएको छ, झनझन समस्यामा गुजि्रँदै गएको छ । टोलीका प्रशिक्षक सनोज श्रेष्ठले फ्रेन्ड्सविरुद्धको प्रदर्शन यो लिगकै सबैभन्दा खराब भएको बताए ।

अब फ्रेन्ड्सले जावलाखेल, च्यासल र हिमालयन शेर्पाविरुद्ध खेल्नेछ । रेलिगेसन टार्न यी तीनै खेल महत्त्वपूर्ण रहेको प्रशिक्षक मिश्रले बताए । ‘हामीलाई ए डिभिजनमा सुरक्षित रहन बाँकी खेल जित्नैपर्ने अवस्था छ । हामीले दोस्रो खोप र बुस्टर डोज लगाउन बाँकी छ र लगाउने छौं पनि,’ उनले दावासाथ भने । ब्रिगेड ब्वाइजले च्यासल, सातदोबाटो र थ्रीस्टारविरुद्ध खेल्न बाँकी छ । जावलाखेलले फ्रेन्ड्स, हिमालयन शेर्पा र संकटाविरुद्ध खेल्नेछ । च्यासलको मछिन्द्र, ब्रिगेड ब्वाइज, फ्रेन्ड्स र सातदोबाटोसँगको खेल बाँकी छ ।

एकै खेलमा ७ गोल

‘ए’ डिभिजन लिग २०७८ मा ६५ खेल सकिएको छ । यसमा सबैभन्दा बढी गोल भएको छ फ्रेन्ड्सविरुद्ध ब्रिगेड ब्वाइजको प्रतिस्पर्धामा । फ्रेन्ड्सको ५–२ को जितमा कुल ७ गोल भए, जसले यसअघिको ६ गोल (छैटौं चरणमा एपीएफ ३–३ एनआरटी) को तथ्यांकलाई पछाडि पारेको हो ।

फ्रेन्ड्सको जितमा सुशील शाह र जमोल एन्थोनी फ्रान्कोइसले समान दुई गोल गरे । श्यामबाबु क्यापछाकीको नाममा एक गोल रह्यो । अनुभवी डिफेन्डर सुरज बिक र विंगर प्रकाश बुढाथोकीलाई चोटका कारण गुमाएको फ्रेन्ड्सले आकाश थापा, विकास थापा र सुशीलको आगमनसँगै जितको अनुभव गरेको हो । फ्रेन्ड्सको सुधारिएको खेलसामु ब्रिगेड ब्वाइज भने झनै खस्किएको देखियो । यस्तोमा ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले सान्त्वना गोल गरे ।

फ्रिकिकमा सुशीलले उत्कृष्ट गोल गर्दै १४ औं मिनेटमा फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । तर, ड्याडी जुनियरले पनि फ्रिकिकमै सिधै गोल गर्दै २५ औं मिनेटमा ब्रिगेड ब्वाइजलाई १–१ को बराबरीमा पुर्‍याए । त्यसपछि काउन्टर एट्याकमा विकासको पासमा श्यामबाबुले गोल गर्दै २८ औं मिनेटमा फ्रेन्ड्सलाई २–१ ले अघि बढाए । त्यो ‘मुभ’मा गोलकर्ता अफसाइड भएको दाबी गर्दै ब्रिगेड ब्वाइजले चर्को विरोध गर्‍यो । यसक्रममा सब्स्टिच्युट खेलाडी रजत तिवारीले रातो कार्ड बेहोर्दै ‘बेञ्च’ छाड्नुपर्‍यो भने रेफ्री प्रज्वल क्षत्रीले एन्जल श्रेष्ठ र सहायक प्रशिक्षक समीर विष्टलाई पनि पहेँलो कार्ड देखाए । पहिलो हाफको इन्ज्युरी समयमा निसेन श्रेष्ठको फ्रिकिकमा जमोल एन्थोनीले हेडद्वारा गोल गरेपछि फ्रेन्ड्स ३–१ ले अघि बढ्यो । उनले व्यक्तिगत दोस्रो गोल ७६ औं मिनेटमा गरे । सुशीलले ६८ औं मिनेटमा गरेको गोल निकै आकर्षक रह्यो, जसमा फ्रेन्ड्सले ५–१ को अग्रता बनायो । जमोल र सुशीलको पछिल्ला गोलमा प्रिजेन तामाङले पास दिएका थिए ।

कुनै बेलाका स्टार खेलाडी अनिल गुरुङले ८६ औं मिनेटमा पेनाल्टीमार्फत् ‘ए’ डिभिजन लिगमा आठ वर्षयता पहिलो गोल गरेपछि ब्रिगेड ब्वाइजले अन्तर छोट्याएको थियो । प्रिजेनले रुडी जोनाथनलाई फाउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि ब्रिगेड ब्वाइजले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका अनिलको प्रहारमा राहुल रामचन्द्र यादवले सही अनुमान गरे पनि बल रोक्न सकेनन् । पछिल्ला दुई सिजन ब्रिगेड ब्वाइजमा रहेका अनिलले मनाङ मर्स्याङ्दीबाट खेल्दा २०७० सालमा थ्रीस्टारविरुद्ध गोल गरेयताको खडेरी फ्रेन्ड्सविरुद्ध आएर तोडेका हुन् ।

आर्मी १–१ जावलाखेल

यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेर पनि जावलाखेल युवा क्लब सात मिनेटको इन्ज्युरी समयको अन्तिम मिनेट सम्हालिन नसक्दा आर्मीसँग १–१ को बराबरीमा रोकियो । दिनको दोस्रो खेलमा जगजित श्रेष्ठले उपलब्ध गराएको बललाई सुमन अर्यालले सहजै गोलमा परिणत गर्दै आर्मीलाई यो सिजनको पहिलो हारबाट जोगाएका थिए । त्यो नै खेलमा आर्मीको अन्तिम प्रहार थियो । त्यसअघि ५३ औं मिनेटमा ओन्गुना एन्केन्गे जुनियरले आकर्षक गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । उनी रूपबहादुर लामालाई बल दिएर अघि बढेका थिए । रूपले उनैलाई बल दिए र त्यसैमा आर्मीका डिफेन्डर दीपक गुरुङलाई छक्याउँदै प्रतिस्पर्धी चार खेलाडीको बीचबाट बललाई पोस्टको दिशा दिएर जावलाखेललाई अगाडि बढाएका थिए ।

रेलिगेसन टार्ने अभियानमा जावलाखेलले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । केही अवसर सिर्जना पनि गर्‍यो । एन्केन्गे जुनियरले २४ र २९ औं मिनेटमा प्रहार गरेको बलमा आर्मीका गोलकिपर विकेश कुथुले राम्रो बचाउ गरे । उनले ३० औं मिनेटमा हेडद्वारा प्रहार गरेको बल भने पोस्टबाहिर गयो । कप्तान भरत खवासले ३२ औं मिनेटमा प्रहार गरेको बललाई जावलाखेलका गोलकिपर टिकेन्द्र थापाले आकर्षक रूपमा नियन्त्रण गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा सन्तोष तामाङको प्रहारमा पनि टिकेन्द्र बल रोक्दै राम्रो बचाउ गर्दै जावलाखेलको संकटा टारेका थिए । त्यो रिबाउन्डमा पाएको बल राजीव गुरुङले पोस्टबाहिर प्रहार गरे ।

दोस्रो हाफको अन्तिम २० मिनेट जावलाखेललाई दबाबमा राखेर पनि आर्मीले गोललाई खास अवसर सिर्जना गर्न सकेन । मिडफिल्डमा जावलाखेल नै हाबी भयो । आर्मीले चोटको कारण गुमाएका दिनेश हेन्जन र पदम तामाङको अभाव मैदानमा प्रस्टै देखियो । प्रदर्शनको आधारमा तीन अंकको हकदार जावलाखेल देखिएको थियो । एन्केन्गे जुनियर, निकोलस फर्नान्डेज र रूपबहादुरलाई आर्मीका डिफेन्सले रोक्न सकेका थिएनन् ।

जावलाखेलका प्रशिक्षक किशोर केसीले भने, ‘हामी जित नजिक पुगेका थियौं । अग्रता जोगाउन रक्षात्मक रणनीति लिएका थियौं । तर, अन्त्यतिर सम्हालिन नसक्दा बराबरीमा रोकियौं ।’ जित निकाल्न सकेको भए जावलाखेल रेलिगेसनबाट सुरक्षित अवस्थातिर उक्लिने थियो । जावलाखेल ९ अंकसहित ११ औं स्थानमा छ ।

यसपालि १० खेलमा छैटौं बराबरी गरेपछि आर्मीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । १८ अंकसहित तेस्रोमा रहेको आर्मीलाई एक खेल कम खेलेको थ्रीस्टार (१६ अंक) ले उछिन्न सक्नेछ । मछिन्द्र (२३) र मनाङ मर्स्याङ्दी (१९) शीर्ष दुईमा छन् । दुवैले ९–९ खेल खेलेका छन् ।

प्रकाशित : माघ २९, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?