२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

अल्मुताइरी जित नै चाहन्छन्

हिमेश

काठमाडौँ — मोरिससविरुद्धको दुई खेलको मैत्रीपूर्ण शृंखला अगाडि मुख्य प्रशिक्षक भन्दै थिए, यस्ता खेलमा जित हारको विषय गौण हुन्छ । मुख्य विषय त टिमको प्रदर्शन कस्तो रह्यो, टिमले कति बलियो चुनौती पेस गर्‍यो, खेलाडी के कस्तो हालतमा छन्, त्यो पाउनु हो । खासमा यो कूटनीतिक भाषा नै हो ।

अल्मुताइरी जित नै चाहन्छन्

अबको एसियाली विश्वकप छनोट अगाडि उनी नेपाललाई वरीयतामा सुधार चाहन्छन्, यस्तोमा जितभन्दा राम्रो विकल्प के नै हुन सक्छ र ? भलै यो मैत्रीपूर्ण खेल नै किन नहोस् । अबको केही घण्टामा दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । पहिलो खेलमा नेपाल १–० ले विजयी रहेको थियो । अबको खेलमा पनि अल्मुताइरी जित नै चाहन्छन् ।

सिधासिधा भन्दा अबको केही महिनामा नेपालले एसिया कप छनोट तेस्रो चरण खेल्दैछ र यसकै तयारी स्वरूप नेपालले मोरिससको सामना गर्दैछ । दुवै खेल जित्न सके, नेपाललाई वरीयतामा उक्लिन सजिला हुनेछ । अनि यही वरीयतामा नेपालको अंकमा पनि वृद्धि हुनेछ । अल्मुताइरीको नेतृत्वमा नेपालले अहिलेसम्म खेलेका १२ खेलमा चार जित पारिसकेको छ ।

आजको खेल पनि जित्ने हो भने उनी नेपाली फुटबल इतिहासकै सफल प्रशिक्षक हुने बाटोमा हुनेछन् । अन्तर्राष्ट्रिय फुटबलमा जित अधिकांश समय गाह्रै हुन्छ । त्यसैले पनि मोरिससविरुद्धको दोस्रो खेलमा उनी कुनै प्रकारको तलमाथिको नतिजा स्वीकार्न तयार रहने छैनन् । यस्तोमा प्रश्न हुन्छ । उनले आजको खेलमा कसतो रणनीति तयार पार्ने छन् त ?

यी प्रशिक्षक ४–३–३ का खुबै प्रशंसक हुन् र उनले अधिकांश समय यही शैलीको बखान गर्ने गरेका छन् । नेपालले मोरिससविरुद्धको पहिलो खेल पनि यही शैलीमा खेलेको थियो । त्यसैले दोस्रो खेलमा पनि हामी नेपालले यही रणनीति अन्तर्गत खेलेको हेर्न सम्भावना बढी भन्दा बढी छ । अनि यसै कारण सुरुआती ११ मा पनि खासै परिवर्तन नहुन सक्छ ।

त्यो भनेको पहिलो खेलमा सुरुआती ११ मा जो जति परेका थिए, तिनैलाई दोहर्‌याइने छ । मात्र प्रश्न के रहनेछ भने उनले केही थप खेलाडीलाई डेब्युको अवसर दिने छन् त ? अहिलेसम्म उनले दस खेलाडीलाई नेपालका लागि खेल्ने मौका दिइसकेका छन् । पहिलो खेलमा उनले सुदीप गुरुङ र आकाश बुढामगरलाई डेब्युको अवसर दिएका थिए ।

जहाँसम्म मोरिससको कुरा छ, उसलाई पनि खालि हात नेपालबाट फर्कने इच्छा हुने छैन । त्यसमाथि उसका चार प्रमुख खेलाडी दोस्रो खेलमा फर्कँदैछन् । यी चार खेलाडी कोभिड–१९ बाट संक्रमित भएपछि पहिलो खेल खेल्न असमर्थ रहेका थिए । त्यसैले पूरा सम्भावना छ, आजको दोस्रो खेल बढी प्रतिस्पर्धात्मक रहनेछ ।

प्रकाशित : माघ १८, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?