२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६४

४४ वर्षपछि विजेता बार्टी

एएफपी

मेलबर्न — एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् । 

४४ वर्षपछि विजेता बार्टी

उनले जितेको यो तेस्रो ग्रान्ड स्लाम हो । यसअघि २५ वर्षीया बार्टीले सन् २०१९ मा फ्रेन्च ओपन र गत वर्ष विम्बल्डन जितेकी थिइन् । सेरेना विलियम्सपछि अहिले सक्रियमध्ये बार्टी तीन फरक कोर्टमा उपाधि जित्ने पहिलो खेलाडी पनि भएकी छन् । उनी भन्छिन्, ‘मेरा लागि सपना पूरा भएजस्तै हो । मलाई अस्ट्रेलियाली भएकामा धेरै गर्व छ ।’

बार्टीअगाडि क्रिस्टिन ओ’निलले अन्तिम पटक घरेलु खेलाडीका रूपमा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनले सन् १९७८ मा यो उपलब्धि हात पारेकी थिइन् । शनिबारको खेल हेर्न उनी आफैं उपस्थित थिइन् । फाइनलपछि क्रिस्टिनले भनिन्, ‘बार्टीका लागि म निकै खुसी छु । म उनको ठूलो प्रशंसक पनि हुँ ।’

उपविजेतामा सीमित कोलिन्सले भावनात्मक हुँदै प्रतिक्रिया दिइन्, ‘बार्टीलाई उपाधिका लागि धेरै बधाई । उनले पूरा प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिन् ।’

फाइनलसम्मको यात्रापछि कोलिन्स अब निकालिने वरीयतामा शीर्ष १० भित्र पहिलोपल्ट प्रवेश गर्नेछिन् । दोस्रो सेट टाइब्रेकरमा गएपछि बार्टी कोलिन्समाथि पूर्णतः हाबी रहिन् । सन् २०१४ ताका ग्रान्ड स्लाम टेनिसका पहिलो चरणबाटै बाहिरिन थालेपछि बार्टी व्यावसायिक क्रिकेटतिर लागेकी थिइन् ।

नडाल र मेदभेदेभको भिडन्त

पुरुषतर्फ उपाधिका लागि आइतबार रुसी खेलाडी डानियल मेदभेदेभले र स्पेनिस राफेल नडाल भिड्ने छन् । नडालको सम्भावित महानताविरुद्ध तगारो तेर्स्याउने खेलाडी भेदभेदेभ हुनसक्ने छन् । नडाल टेनिस इतिहासमै सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी बन्ने अभियानमा छन् ।

३५ वर्षीय नडालले २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनी आफ्नो स्वर्णिम पुस्ताका खेलाडी सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररको बराबरीमा छन् । त्यसमध्ये जोकोभिचलाई अस्ट्रेलिया पुगेर पनि कोरोनाविरुद्धको खोप नलिएको हुनाले घर फर्काइएको थियो । फेडेरर भने चोटका कारण उपचारमा संलग्न छन् । यसको अर्थ स्पेनी खेलाडी नडालसामु आइतबारको फाइनल जितेर जोकोभिच र फेडेररलाई उछिन्ने अवसर हुनेछ । नडाल अब छैटौंपल्ट मेलबर्नमा फाइनल खेलिरहेका छन् । त्यसमध्ये सन् २००९ मा एकैपल्ट मात्र उनी विजयी रहेका छन् । अब मेदभेदेभसामु लगातार दोस्रो ग्रान्ड स्लाम जित्ने अवसर हुनेछ । गत वर्षको अन्तिम ग्रान्ड स्लाम फाइनलमा उनले जोकोभिचलाई यूएस ओपनमा हराएका थिए । यसक्रममा उनले जोकोभिचको लगातार चार ग्रान्ड स्लाम जित्नेक्रम तोडेका थिए । अब उनीसामु नडाललाई यस्तै ठूलो उपलब्धिबाट रोक्ने अवसर हुनेछ ।

फाइनल प्रवेश निश्चित भएपछि मेदभेदेभले भने, ‘म त्यस्तो महान खेलाडीविरुद्ध खेल्न गइरहेको छु, जसको लक्ष्य २१ औं ग्रान्ड स्लाम जित्ने छ । म यो चुनौतीका लागि तयार छु । मलाई के थाहा छ भने नडाल निकै शक्तिशाली खेलाडी हुन् र उनलाई हराउन मैले आफ्नो खेलजीवनकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।’ अर्कोतर्फ नडालले भने २१ कीर्तिमानी ग्रान्ड स्लाम उपाधिमा आफ्नो ध्यान कम रहेको दाबी गरेका छन् । उनी मान्छन्, प्रतियोगिता आफैंमा ठूलो हो ।

प्रकाशित : माघ १६, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×