अर्जेन्टिनाले  चिलीलाई २-१ ले हरायो- खेलकुद - कान्तिपुर समाचार

अर्जेन्टिनाले  चिलीलाई २-१ ले हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले शुक्रबार चिलीलाई २–१ ले हराएको छ । अर्जेन्टिनाको जितमा एन्जेल डि मारिया र लउटारो मार्टिनेजले एक-एक गोल गरे ।

चिलीका तर्फबाट बेन डियाजले एक गोल फर्काए । खेलका तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । यो जितपछि अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक भएको छ र दोस्रो स्थानमा छ ।

चिली भने १६ अंकमा सातौं स्थानमा छ । यसअघि छनोटका अन्य खेलमा इक्वडेर र ब्राजिलले १–१ को बराबरी खेले । यस्तै उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।

प्रकाशित : माघ १४, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोही किन विश्वविद्यालय जान्छ  ?

नेपालका अधिकांश विद्यार्थीले विद्यालयमै हासिल गरिसक्नुपर्ने भाषा र पठनसम्बन्धी आधारभूत सीप सिकेकै हुँदैनन्। औसत वा राम्रै अंक ल्याएर बाह्र कक्षा पास गरेका विद्यार्थीमा पनि आधारभूत सीप पर्याप्त नहुने सम्भावना अधिक हुन्छ ।
उज्ज्वल प्रसाई

केही वर्षपहिलेसम्म स्नातक तह अध्ययन गर्ने प्रायः संकायका विद्यार्थीले ‘एड्भेन्चर्स इन इङ्लिस’ शीर्षक किताब पढ्थे । अनिवार्य अंग्रेजी अन्तर्गत सो पुस्तक अध्यापन गराइन्थ्यो । केही वर्षपछि परिमार्जनसहित सोही विषयको पाठ्यपुस्तकका रूपमा ‘फ्ल्याक्स–गोल्डन टेल्स’ पढाउन थालियो ।

अंग्रेजी भाषामा पकड बनाउन तथा साहित्यसमेतको आस्वादन मार्फत समाज बुझाउन यी पुस्तक अनिवार्य पाठ्यसामग्री बनाइएका थिए । मोती निसानी र श्रीधर लोहनीजस्ता अंग्रेजी भाषा–साहित्यका सिद्धहस्त प्राध्यापकहरूले यी पुस्तक सम्पादन गरेका थिए । पुस्तकको उद्देश्य एउटा थियो, प्रयोग ठीक विपरीत भयो ।

पुस्तकमा पुराना तथा समकालीन आख्यानहरू थिए । दक्षिण एसियाली, अफ्रिकी र पश्चिमा साहित्यका उम्दा साहित्यकार तथा दार्शनिकका विचारोत्तेजक निबन्धहरू थिए । काव्यमा पनि उस्तै विविधता थियो । परशु प्रधानदेखि चिनुआ अचेबेसम्म, रवीन्द्रनाथ ठाकुरदेखि रिचर्ड राइटसम्म । कतिपय अनुवाद, बाँकी प्रायः मूल अंग्रेजीमा लेखिएका कृति । सामग्री छनोटमा पर्याप्त ध्यान पुर्‍याइएको देखिन्थ्यो । हदैसम्म सामेली बनाउने कोसिस यद्यपि पूर्ण नभएको हुन सक्छ ।

पुस्तक तयार गर्ने सम्पादकहरूको चाहना हुँदो हो, पहिले विद्यार्थीले यी सबै कथाकुथुंग्री शिक्षकको सहायताले पढून् । आख्यान र काव्य पढेर मुग्ध होऊन्, कल्पना गरून्, सोचमग्न होऊन्, मुस्कुराऊन्, परेला भिजाऊन् अनि आफ्नै वरपरको समाज र जिन्दगीसँग तिनलाई दाँजून् । त्यसो गर्दागर्दै अंग्रेजी भाषाप्रयोगका गुत्थी फुकाउँदै जाऊन्, पाठ बुझ्ने र तिनै पाठका (सम)आलोचना गर्ने क्षमता वृद्धि गरून् । पाठहरूसँगको अन्तरक्रियालाई लिखतमा उतारून् । त्यसरी सिकेको सीप र वृद्धि भएको कल्पनाशीलताले अन्ततः विद्यार्थीलाई स्वतन्त्रतापूर्वक चिन्तन गर्न सक्ने अनि आफू र आफ्ना समाजबारे लेख्न सक्ने बनाओस् ।

यी पुस्तक पढेर, यिनै पुस्तकका आधारमा सोधिएका प्रश्नका उत्तर लेखेर, राम्रो वा औसत अंक प्राप्त गरेर स्नातक पार लगाएका कति प्रतिशत विद्यार्थीले पुस्तकको उद्देश्य अनुरूप भाषागत सीप र आलोचनात्मक क्षमता बढाए होलान् ? यी पुस्तक पढेका लाखौं विद्यार्थीमध्ये कतिले छानिएका आख्यान र काव्यमा मुग्ध भएर जीवनका केही घण्टा बिताए होलान् ? कुनै ठोस दाबी गर्नलाई भरपर्दो सर्वेक्षण कसैले गरेको नहोला । विद्यार्थी र (कोही शिक्षकसमेत) हुँदाका हामी अधिकांशका आ–आफ्ना अनुभवका आधारमा सोच्यौं भने पक्कै एउटा निष्कर्षमा पुग्न सक्छौं । सो निष्कर्षले उत्साही बन्न दिनेछैन ।

पुस्तकमा दिइएका स्तरीय रचनाहरूको पठन सहज बनाउन सम्पादकद्वयले विद्यार्थीलाई पाठसँग चार तहका अन्तरक्रिया गर्न सुझाएका छन् । प्रत्येक रचना पढिसकेपछि सबैभन्दा पहिले ‘लिटरल कम्प्रिहेन्सन’ अर्थात् रचनाको मूल कथ्य बुझेर तिनलाई एक–दुई अनुच्छेदमा लेख्ने । दोस्रो तहमा ‘इन्टरप्रिटेसन’ अर्थात् पढेका रचनाको अर्थ खुलाएर अरू एक–दुई अनुच्छेद लेख्ने । तेस्रो तहको पठनमा ‘क्रिटिकल इभाल्युएसन’ अर्थात् सो पाठको आलोचनात्मक मूल्यांकन गर्ने, पाठमाथि प्रश्नहरू उठाउने, कतिपय सन्दर्भमा त्यसमा रहेका कमजोरी औंल्याएर पाठसँगै निहुँ खोज्ने । यति गरिसकेपछि अन्तिममा आउँछ ‘एस्सिमिलेसन’ जहाँ रचनाको भावार्थ बुझेर, त्यसका जटिलता पहिल्याएर, आफ्ना पूर्वधारणाहरूसँग दाँजेर, सो पाठको मुख्य आशय, सन्देश वा सौन्दर्यलाई पचाउने प्रक्रिया । पाठसँगका अन्तरक्रियाहरू कति प्रभावकारी भए भन्नका लागि प्रत्येक तहलाई लेखेर अभ्यास गर्नुपर्ने हुन्छ ।

सिद्धान्त यस्तो थियो, यथार्थमा भयो के त ? धेरैलाई थाहा छ । शिक्षक आफैं एक्लैले खुरुखुरु लेखेर विद्यार्थीका हातमा सग्ला नोट थमाए, त्यसो गर्न नसक्ने बहुसंख्यक शिक्षकले बजारमा सहजै उपलब्ध (अचेल गुगलमा पनि) गाइड रट्न अह्राए । सर्वेक्षण गरे पक्कै थाहा पाइनेछ, असाध्यै न्यून संख्याका शिक्षक र विद्यार्थीले मात्रै सबै प्रक्रियाको उद्देश्यसमेत बुझेका छन् । धेरैले यी सबै केही पत्तै नपाई नोट रटेर परीक्षा पार लगाएका हुन्छन् ।

कक्षामा शिक्षकले पूर्ण सक्रियतासाथ विद्यार्थीलाई यी सबै तह छिचोल्न लगाउनेछ भन्ने परिकल्पना गरेर पुस्तक तयार गरिएको हो । विद्यार्थीले प्रत्येक तहमा गरेको प्रयत्न हेर्ने, सोको मूल्यांकन गर्ने, परेका गाँठा फुकाउन सघाउने र पटकपटकको प्रयत्नमा खार्दै लगेर उनीहरू स्वयंलाई चारै तह राम्रोसँग छिचोल्न लगाउने काम शिक्षकको हो । शिक्षकका दर्जनौं बाध्यताले यो प्रक्रिया पूरा हुन पाएन ।

धेरैजसो कलेजमा एक शिक्षकको भागमा पचासौं विद्यार्थी थिए होलान्, प्रत्येकले गरेका कामलाई शिक्षकले मूल्यांकन गर्न समय पाएन । अर्को उत्तिकै टड्कारो यथार्थ बिर्सन मिल्दैन, शिक्षक आफैंले अपेक्षा गरिएको स्तरको ज्ञान र सीप हासिल नगरेको हुन सक्छ । उसले स्नातकोत्तर छिचोल्दासम्म गाइड र गेसपेपर वा कतैबाट हातलागी भएका नोट मात्रै पढेको हुन सक्छ । बीएका तीन वर्षमा तीन पटक र एमएका दुई वर्षमा दुई पटक परीक्षा लेखेको बाहेक कुनै पनि बेला लेखेर भाषा निखार्ने मौका नपाएको हुन सक्छ । परीक्षा पास गर्नासाथ अध्यापन गर्न थालेको शिक्षकलाई आवश्यक तालिम, सेमिनार वा उपयोगी गोष्ठीहरूमा सहभागी हुने अवसर नजुटेको हुन सक्छ । मानौं शिक्षक अब्बल रहेछ, आधारभूत सीप र क्षमता विकास गरेको अध्यापक रहेछ भने के हुन्छ ? यी सबै प्रक्रिया

पूरा गरेर दिनमा बढीमा तीन कक्षा मात्र लिन सकिन्छ । तर बाध्यता यस्तो हुन्छ कि दैनिक सातभन्दा बढी कक्षा नपढाई उसको जीवन निर्वाह नै हुन सक्दैन । प्रत्येक दिन चारतिर धाएर सातौं घण्टा पढाउने शिक्षकलाई यो स्तरको मिहिनेत गर्ने न जाँगर हुन्छ, न फुर्सद नै ।

विद्यार्थीका आफ्नै दुःख छन्, ती दुःखलाई नजरअन्दाज गर्न पटक्कै मिल्दैन । सानो संख्याका अपवादलाई बिर्सने हो भने नेपालका अधिकांश विद्यार्थीले विद्यालयमै हासिल गरिसक्नुपर्ने भाषा र पठन सम्बन्धी आधारभूत सीप सिकेकै हुँदैनन् । औसत वा राम्रै अंक ल्याएर बाह्र कक्षा पास गरेका विद्यार्थीमा पनि आधारभूत सीप पर्याप्त नहुने सम्भावना अधिक हुन्छ । पठन र भाषाको सीपबिना माथि भनिएका पुस्तक पढ्न थाल्दा उनीहरूले अप्ठ्यारा बेहोर्छन् । पहिले त बुझ्नै कठिन हुन्छ, पाठ छिचोलेर विश्लेषण र आलोचना गर्न र तिनका तत्त्व पचाएर बौद्धिकता निखार्न त्योभन्दा कता हो कता हम्मे पर्छ । यस बेला शिक्षकले पर्याप्त सहयोग गर्न सक्दो हो, कक्षाकोठामा जीवन्त विमर्श हुँदो हो, विद्यार्थीहरू एकआपसलाई सघाउन सक्ने वातावरण बन्दो हो त विद्यालयमा अपुरो रहेको आधारभूत सीप स्नातक तहमै भए पनि पूरा हुने थियो । कहिले संख्याले, कहिले स्रोतको कमीले अनि कहिले भाषा र पठन सीपजस्ता विषय पटक्कै प्राथमिकतामा नपर्नाले कक्षाकोठा जीवन्त हुँदैनन् ।

पढ्न, पढेर बुझ्न, बुझेर आलोचना गर्न र पचाएर अभिव्यक्त गर्न जान्न नपाउँदै लाखौं विद्यार्थी स्नातकोत्तर अध्ययन गर्ने ठाउँमा पुग्छन् । त्यसरी आएका विद्यार्थी स्याहार्न हम्मे परेकाले अचेल त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रजस्ता विभागहरूमा परीक्षा लेखन, शोधपत्र लेखन र अध्ययन सामग्रीको भाषा कुन हुनुपर्ने भन्ने विषय जटिल बन्न थालेको छ । अंग्रेजी भाषामा बलियो पकड नभएकाले ठूला संकट बेहोरेका सयौं विद्यार्थी भेटिन्छन् । पाठ्यक्रममा राखेका पढ्नैपर्ने कार्ल मार्क्स र मिसेल फुको, सेरी ओर्टनर र अर्जुन गुणरत्ने छिचोल्न नसकेर अन्ततः फास्टफुड शैलीमा तयार पारिएका नोटमा भर पर्नुपर्ने बाध्यता बेहोरेका उति नै विद्यार्थी छन् । बल्लतल्ल पढेर केही बुझे पनि अभिव्यक्त गर्न नसकेपछि त्यो बुझाइ खासै काम लाग्ने हुँदैन ।

एउटा विकल्प अघि सारियो— स्नातकोत्तर र सोभन्दा माथिल्ला तहमा नेपाली भाषामा शोधपत्र लेख्ने प्रबन्ध गर्दा केही सहज हुनेछ । मातृभाषा नेपाली हुनेका लागि र विद्यालयमा यस भाषामा दखल बनाएका विद्यार्थीका लागि यो उचित विकल्प हुन सक्छ । तत्कालका लागि भाषाका कारण अनुसन्धान गर्न र शोधपत्र तयार गर्न हम्मे परेका विद्यार्थीका लागि यो विकल्पले त्राण दिन सक्छ । तर अध्ययन सामग्री बुझ्न र प्रयोग गर्न नेपाली भाषाको ज्ञानले मात्रै पुग्दैन । त्यसका लागि अर्को विकल्प, विश्वविद्यालयले अंग्रेजी भाषाको छुट्टै तालिमको विशेष व्यवस्थापन गर्न सक्नुपर्छ । तालिमका नाममा माथि भनिएकै शैलीको पुनरावृत्ति भए, त्यो झनै अर्थहीन हुन्छ ।

यी सबै विकल्पबारे सोच्दै गर्दा अर्को उतिकै महत्त्वको प्रश्न छुटाउन मिल्दैन- के विद्यालय र कलेजहरूमा नेपाली भाषामै पनि अभिव्यक्त गर्ने र लेख्ने पर्याप्त तालिम दिइएको छ ? मातृभाषा वा सम्पर्कभाषा भन्दैमा नेपाली भाषामा काम गर्न जोसुकै अब्बल हुन सक्दैनन् । त्यसैले मुख्य सवाल विद्यालय र कलेजमा भइरहेका तालिमहरूको गुणस्तरको हो । चाहे त्यो नेपाली होस् वा अंग्रेजी, शिक्षक र विद्यार्थीले सक्रियतापूर्वक सहकार्य नगरी यी तालिम सम्पन्न हुन सक्दैनन् । परीक्षाका आधार र मूल्यांकन पनि तालिमको प्रक्रियासँगै जोडेर सोचिनुपर्ने विषय हुन् ।

केही सामान्य अवलोकन र सीमित अनुभवका आधारमा गरिएको चर्चाको चुरो प्रश्न भने यी हुन्- लहलहाउँदो गरी फस्टाएको शिक्षा–उद्यमका उत्पादहरूको गुणस्तर कस्तो छ ? पढ्ने, बुझ्ने र अभिव्यक्त गर्नेजस्ता आधारभूत सीपसम्म सिकाउन नसकेको शिक्षा–उद्यमले कस्ता पेसाकर्मी बनाउँदै छ ? शिक्षाको सिंगो नेपाली कारखाना ज्ञान उत्पादनको जटिल प्रक्रियामा कसरी र कति सहभागी हुँदै छ ? समृद्धिको रनाहा वा क्रान्तिको रोमाञ्च मात्रले पुग्छ वा यी मसिना देखिने तर दूरगामी महत्त्वका विषयमा पनि काम थाल्नुपर्छ ? अहिलेलाई यी विषय आम चासोसम्म बन्न सके उत्तम !

प्रकाशित : माघ १४, २०७८ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×