कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानको ग्रेडमा परे ३६ खेलाडी

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२२ का लागि पुरुष र महिला १८–१८ खेलाडीलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गरेको छ । क्यानको बिहीबार भैरहवामा बसेको बैठकले केन्द्रीय सम्झौतामा रहेका खेलाडीको वर्गीकरण पनि गरेको छ ।

क्यानको ग्रेडमा परे ३६ खेलाडी

पुरुषतर्फ कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीलाई वर्गीकरणको ग्रेड ‘ए’ मा राखिएको छ । कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड ‘बी’ तथा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, शाहब आलम, सुसन भारी र पवन सर्राफलाई ग्रेड ‘सी’ मा राखिएको छ ।

महिलातर्फ कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, इन्दु बर्मा, काजोल श्रेष्ठ र करुणा भण्डारीलाई ग्रेड ‘ए’ मा राखिएको छ । सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई, ज्योति पाण्डे ग्रेड ‘बी’ मा तथा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावललाई क्यानले ग्रेड ‘सी’ मा राखेको छ ।

पछिल्लो समय केन्द्रीय सम्झौताको वर्गीकरणलाई लिएर तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह, सोमपाल र कमलसिंह ऐरीले मिडियासामु गएर आलोचना गरेका थिए । पछि क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट पदमुक्त गर्दै सन्दीपलाई नेपाली क्रिकेट टोलीको जिम्मेवारी दिने निर्णय गरेको थियो । क्यानले कारबाहीस्वरुप ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमललाई ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय बिहीबार बोर्ड बैठकमार्फत औपचारिक रूपमा फिर्ता लिएको छ ।

सेप्टेम्बरमा ओमान भ्रमण गएको नेपाली टोलीमा समेटिए पनि केन्द्रिय सम्झौतामा नरहेका विक्रम सोब, रोहित पौडेल, गुलशन झालाई जनही १ लाख र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । त्यस्तै घुँडाको चोटपछि शल्यक्रिया गराएर मैदानबाहिर रहेका ललितनारायण राजवंशीको उपचार खर्चवापत क्यानले १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

क्यानले पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ । आर्थिक समितिमा रोशनकुमार सिंह, प्राविधिक समितिमा वीरेन्द्रवहादुर चन्द, प्रतियोगिता समितिमा माधव कर्माचार्य, क्रिकेट समितिमा कैलाश विष्टलाई संयोजक तोकेको छ ।

क्यानले अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य दुर्गाराज पाठक र पदमबहादुर खड्कासम्मिलित कार्यसम्पादन समिति पनि गठन गरेको छ । क्यानले आफ्नो वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय गरेको छ ।

साथै क्यानले पोखरा, भैरहवा र धनगढी क्रिकेट मैदानका लागि २–२ जना तथा जनकपुर र सप्तरीस्थित क्रिकेट मैदानका लागि १–१ कर्मचारी राख्ने निर्णय क्यानले गरेको छ ।

प्रकाशित : माघ १३, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?