हरि खड्कामाथि नक्कली प्रमाण पत्रको आरोपमा मुद्दा दायर- खेलकुद - कान्तिपुर समाचार

हरि खड्कामाथि नक्कली प्रमाण पत्रको आरोपमा मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख हरि खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्काबारे अख्तियारद्वारा विज्ञप्तिमार्फत् ‘महानगरी प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आईएको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद वराणसी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५/०७/१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षक पदमा नियुक्ति’ भएको जनाएको छ । साथै, खड्काले ‘प्रहरी सेवामा निरन्तर वहाल भई २०५९/०९/१४ मा प्रहरी नायब निरिक्षक पदमा बढुवा भई सरकारलाई हानीनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत’ राखेको बताइएका छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको प्रमाणित भएको दाबी गर्दै अख्तियारले खड्काविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्डसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्बाधिक गोलकर्ता पनि हुन् । उनीसँगै नजीराजन रायमाझीले १३–१३ गोल गरेका छन् । पुलिस क्ल्बका यी चर्चित् फरवार्डले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजिनामा दिएका थिए । एन्फा निर्वाचनमा प्रशिक्षक संघको अध्यक्षमा विनोद लामासँग पराजित भएका खड्का चुनावपछि सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा महिला फुटबल प्रमुखमा नियुक्त भएपछि उनले प्रशिक्षकबाट हटेका थिए ।

प्रकाशित : माघ १२, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

सेगवे नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर 'ई-१००' नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे 'ई–१००' आज नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आएको सेगवे 'ई–१००' चालक नबसेसम्म स्टार्ट हुँदैन ।

त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन । सेगवे इ–१०० मा किलेस सिस्टम छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ । यो स्कुटर विभिन्न चार रंगहरु कालो, सेतो, नीलो र रातोमा उपलब्ध छ । परम्परागत स्कुटरको तुलनामा ई–१०० आकर्षक डिजाइनमा उपलब्ध छ । विद्युतीय सवारी साधन भए पनि इ–१०० को तौल ८० केजी छ ।

यसमा छ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रुपमा वातावरणीय प्रभाव अनुसार प्रकाश फाल्छ । यो इ–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री छ । डुअल ब्याट्री मोड अन्तर्गत यसमा २०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । सेगवे इ–१०० को नेपाली बजार मूल्य २ लाख ९१ हजार तोकिएको छ ।

सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारी उत्पादनको लागि प्रख्यात छ । बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोटजस्ता उपादन गरेको यस कम्पनीले नाइनबटसँग रणनीतिक सहकार्य गरेको छ । सेगवे नाइनबोटको लागि नेपालमा 'आई हव' आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो ।


प्रकाशित : माघ १२, २०७८ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×