मेलबर्न — राफेल नडालले २८ मिनेटको टाइब्रेकरमा आफूलाई सम्हाल्न सफल भएपछि आइतबार अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनल यात्रा तय गरेका छन् ।
यो चरणमा महिलातर्फ शीर्ष वरीयताकी एस्ली बार्टी पनि पुगेकी छन् । उनले अमान्डा एनिसिमोभालाई हराइन् । स्पेनिस नडालले अब १४ औं वरीयताका क्यानडेली खेलाडी डेनिस सापोभालोभको समना गर्नेछन् । सापोभालोभले भने तेस्रो वरीयताका ओलम्पिक च्याम्पियन एलेक्जान्डर जेभरेभलाई पराजित गरे ।
कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि अभियानमा रहेका नडाललाई पहिलो सेटमा फ्रान्सेली खेलाडी एडरिन मनारिनोले खुबै दुःख थिए । यो सेट ८१ मिनेट चलेको थियो । तर, त्यसमा निर्णायक जितपछि नडालले एडरिनलाई ७–६ (१६/१४), ६–२, ६–२ ले पराजित गरे । ‘पहिलो सेट निकै भावनात्मक रह्यो,’ ३५ वर्षीय नडालले भने । सन् २००९ को अस्ट्रेलियन ओपन विजेताले उक्त म्याराथन सेट जितेपछि खेल जितेजत्तिकै खुसी मनाएका थिए ।
अब अन्तिम आठमा उनको सामना २२ वर्षीय सापोभालोभविरुद्ध हुनेछ । उनी प्रतियोगिताअगाडि कोभिड–१९ बाट संक्रमित भएका थिए । उनको सहभागिता अनिश्चित बनेको थियो । तर यिनै खलाडीले जेभरेभलाई ६–३, ७–६ (७/५), ६–३ ले हराए । जेभरेभ अहिलेसम्म ग्रान्ड स्लाम उपाधि जित्न संघर्षरत छन् । हारका क्रममा जर्मन खेलाडीले र्याकेट रिसले तोडेका थिए । खेलमा आफ्नोतर्फबाट कुनै पनि सकारात्मक पक्ष देखाउन सकेनन् । उनले खेलपछि भने, ‘यसमा केही पनि राम्रो भएन, मैले निकै खराब खेलें ।’ फ्रान्सकै १७ औं वरीयताका गेल मोन्फिल्सले सर्बियाका मोमिर केचमानोभिचलाई हराए । उनको सामना सातौं वरीयताका इटालीका म्याटिओ बेरेटिनीविरुद्ध हुनेछ ।
महिलातर्फ अस्ट्रेलियाको सबैभन्दा ठूलो भरोसा रहेकी तथा विश्व नम्बर एक खेलाडी बार्टीले घरेलु दर्शकलाई खुसी बनाउँदै ६० औं वरीयताकी एनिसिमोभालाई ६–४, ६–३ ले सजिलै पराजित गरिन् । अन्तिम आठमा उनले अमेरिकीकी जेसिका पेगुलाको सामना गर्नेछिन् ।
भर्खर २० वर्ष छोएकी एनिसिमोभाले यहाँसम्मको यात्राका क्रममा ओलम्पिक च्याम्पियन बेलिन्डा बेन्सिच र डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकालाई हराएकी थिइन् । तर, यिनै खेलाडी बार्टीसामु भने कमजोर साबित भइन् । निकै नरम र भलाद्मी स्वभावकी २५ वर्षीया बार्टी विम्बल्डनका वर्तमान च्याम्पियन हुन् । उनी फ्रेन्च ओपनकी पूर्व विजेतासमेत हुन् ।
पेगुला भने ग्रिसकी पाँचौं वरीयताकी मारिया सक्कारीमाथि अविश्वसनीय विजेता रहिन् । जेसिकाले ७–६ (७–०), ६–३ ले खेल जितिन् । महिलातर्फ अन्तिम आठमा प्रवेश गर्न सफल अर्की खेलाडी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभा रहिन् । निकै लयमा देखिएकी फ्रेन्च ओपन च्याम्पियन क्रेजसिकोभाले दुईपल्ट मेलबर्नमा विजेता रहेकी भिक्टोरिया अजारेन्कालाई ६–२, ६–२ ले पराजित गरिन् । बेलारुसकी अजारेन्का सन् २०१२ र २०१३ की विजेता हुन् । उनले आफ्नो प्रतिद्वन्द्वीबारे भनिन्, ‘उनी निकै प्रतिभाशाली खेलाडी हुन् ।’
प्रकाशित : माघ १०, २०७८ ०६:३५