कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले चारदेशीय शृंखला खेल्ने

पोखरा — नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरअघि चार देशसम्मिलित ट्वान्टी–२० शृंखला ओमानमै खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ग्लोबल क्वालिफायरअघि नेपालले शृंखला खेल्ने जानकारी दिएको छ । 

नेपालले चारदेशीय शृंखला खेल्ने

अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपका लागि ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ का खेलहरू ओमानमा अर्को महिना हुँदै छ । क्वालिफायरमा सहभागी देश ओमान, नेपाल, यूएई र आयरल्यान्डबीच चारदेशीय शृंखला हुन लागेको हो ।

शृंखलाको पहिलो खेल नेपालले माघ २८ गते घरेलु टोली ओमानसँग खेल्नेछ । त्यसपछि २९ गते यूएई र फागुन २ गते आयरल्यान्डसँग खेल्ने तय भएको छ । यी चारै टोली ग्लोबल क्वालिफायरका दाबेदार हुन् । गत वैशाखमा नेपालमै भएको नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय शृंखला जितेको नेपालले १० महिनापछि ट्वान्टी–२० शृंखला खेल्न लागेको हो । यसलाई ग्लोबल क्वालिफायरको तयारी खेलका रूपमा लिइएको छ ।

यो शृंखलामा नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा दोस्रोपल्ट जिम्मेवारी लिएका पुबुदु दासानायके र नवनियुक्त कप्तान सन्दीप लामिछानेको पहिलो परीक्षा हुनेछ । क्यानले अघिल्लो महिना ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरी सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।

क्यानले ग्लोबल क्वालिफायरका लागि अघिकांश युवा खेलाडी समेटेर अघिल्लो साता टिम घोषणा गरेको थियो । ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा रहेका टोलीबीच दुई समूहमा विभाजन गरी प्रतियोगिता भएको छ ।

नेपालसम्मिलित समूह २ मा ओमान, फिलिपिन्स र क्यानडा छन् । नेपालले फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग समूह चरणका खेल खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने गर्नेछन् । फाइनल खेल्ने दुई टोलीले विश्वकपका स्थान बनाउने छ । समूह २ मा जर्मनी, बहराइन, यूएई र आयरल्यान्ड छन् । नेपालले यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन असफल हुँदै आएको छ । पछिल्लो संस्करणको छनोटमा नेपालले एसिया क्षेत्रको प्रतियोगिता पार गर्न सकेको थिएन ।

नेपालका १५ खेलाडी आईपीएल अक्सनमा
फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

खेलाडीको अनुमतिमा नेपाल क्रिकेट संघ (क्यान) ले नाम दर्ता गराएको हो । आईपीएलमा हरेक तीन वर्षमा मेघा अक्सन हुँदै आएको छ । विश्वभरका क्रिकेटरको रोजाइमा पर्ने आईपीएलका लागि यसपल्ट ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी गरी १२ सय १४ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।

क्यानले दिएको जानकारीअनुसार अक्सनमा नाम दर्ता गराउने नेपाली खेलाडीमा आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

यीमध्ये हालै राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका सन्दीपसँग मात्र आईपीएलको अनुभव छ । उनले सन् २०१८ देखि तीन संस्करण दिल्ली क्यापिटल्सका लागि खेलेका थिए । उनीबाहेक करण केसी, सोमपाल कामी र कुशल मल्लसँग विदेशी फ्रेन्चाइज लिगको अनुभव छ । यी दुईले आबुधाबी टी–१० लिग खेलेका थिए ।

आईपीएलका लागि एसोसिएट राष्ट्रबाट ४१ खेलाडीले नाम दर्ता गराएकामा सबैभन्दा धेरै नेपालबाटै हो । अमेरिकाबाट १४, नामिबियाबाट ५, ओमानबाट ३ तथा भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएईबाट १–१ खेलाडी दर्ता भएका छन् ।

टेस्ट राष्ट्रबाट भने सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१, श्रीलंकाबाट ३६, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, आयरल्यान्डबाट ३ र जिम्बावेबाट २ खेलाडीको नाम दर्ता भएको छ ।

आईपीएलमा यसपल्ट दुई नयाँ फ्रेन्चाइज टिम थपिएका कारण धेरै खेलाडी अक्सनमा बिक्री हुनेछन् । १० टिमले ३३ खेलाडीलाई सिधै अनुबन्ध गरेका छन् । त्यसबाहेक ४९ खेलाडीले अधिकतम २ करोड भारुको न्यूनतम मूल्य तोकेका छन् । १७ भारतीय र ३२ विदेशी खेलाडीको सर्वाधिक न्यूनतम मूल्य निर्धारण भएको छ ।

१५ औं संस्करणको आईपीएलका लागि फेब्रुअरी १२ र १३ मा अक्सन हुनसक्ने बीसीसीआईले जनाएको छ । बीसीसीआईले कोभिड संक्रमण बढेका कारण आईपीएल भारतमै हुने वा अन्य देशमा सारिने निश्चित गरिसकेको छैन । आईपीएल मार्च अन्तिम साता सुरु हुनसक्ने जनाइएको छ ।

प्रकाशित : माघ ९, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?