कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलबर्नमा अघि बढ्दै ओसाका र बार्टी

एएफपी

मेलबर्न — नाओमी ओसाकाले मुस्कान छर्दै जित निकालिन् । शीर्ष वरीयताका अस्ट्रेलियन एस्ली बार्टीले भने एकपक्षीय जित निकालिन् । बुधबार प्राप्त यी जितसँगै अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा उनीहरूको भेट हुने सम्भावना बढेको छ ।

मेलबर्नमा अघि बढ्दै ओसाका र बार्टी

राफेल नडाल भने कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि हात पार्नेक्रममा एक अर्को जित निकाल्न सफल रहे । तर, स्पेनिस नडाल जर्मन क्वालिफायर यानिक ह्यान्फम्यानविरुद्ध प्राप्त यो जितका लागि ५ म्याच प्वाइन्ट खेर पठाउन बाध्य भए ।

निकै लयमा देखिएकी बार्टी आफ्नो घरमा पहिलो ग्रान्ड स्लाम उपाधिलाई पछ्याइरहेकी छन् । उनले इटालीका क्वालिफायर लुसिया ब्रोनजेटीविरुद्ध प्राप्त जितमा खासै पसिना पनि बगाउनुपरेन । जम्मा ५२ मिनेट चलेको दोस्रो चरणको खेलमा बार्टी ६–१, ६–२ ले विजयी रहिन् । जापानी खेलाडी ओसाकाको जित पनि त्यति धेरै मिहिनेतको रहेन । उनले म्याडिसन ब्रेन्गलीविरुद्धको पहिलो सेट सजिलै ६–० ले जितिन् । तर दोस्रो सेटका लागि भने ओसाकाले केही संघर्ष गर्दै स्कोर ६–४ ले आफ्नो पक्षमा पारिन् ।

खेलपछि ओसाकाले प्रतिद्वन्द्वी खेलाडीलाई नेटमा भेट्ने क्रममा मीठो मुस्कान छरेकी थिइन् । आफूबीच एक आपसमा ६ ठूला उपाधि जितेका बार्टी र ओसाकाबीच मेलबर्न पार्कमा अन्तिम १६ को खेलमा भेट हुन सक्नेछ । तर त्यसअघि नै विम्बल्डन च्याम्पियन तथा मेलबर्नमा उपाधिका लागि सबैभन्दा बलिया प्रत्याशी बार्टीले ३० औं वरीयताकी क्यामिला जियोर्जीलाई हराउनुपर्नेछ । यो खेल आफैंमा चुनौतीपूर्ण हुन सक्नेछ, किनभने क्यामिला आफैं पनि लयमा छिन् ।

इटालीका क्यामिलाबारे बार्टी भन्छिन्, ‘क्यामिला निकै राम्रो खेलाडी हुन्, त्यसैले उनको सामना गर्दा सजग रहनुपर्नेछ ।’ बार्टी आफैं पनि लयमै छिन् । एडिलेडमा भएको वार्मअप उपाधि जितेकी बार्टीले यो वर्ष लगातार ४७ गेममा सर्भिस गुमाएकी छैनन् । ओसाकाले भने अब अमेरिकी अमान्डा एनिसिमोभाको सामना गर्नेछिन् । ओसाका सन् २०१९ र २०२१ की अस्ट्रेलियन ओपन विजेता हुन् । गत वर्ष उनले मानसिक दबाबका कारण देखाएर धेरै खेलिनन् ।

पुरुषतर्फ २० ग्रान्ड स्लाम विजेता नडालले विश्व नम्बर एक सय २६ का खेलाडी ह्यान्फम्यानलाई ६–२, ६–३ र ६–४ ले पराजित गरे । यसै साता मात्र चोटमुक्त भएर मैदानमा फर्केका नडालले पाँच महिनायता पहिलो उपाधि जितेका थिए । सर्बियाली नोभाक जोकोभिचको अनुपस्थितिमा उनी उपाधिका लागि वास्तवमै बलियो दाबेदार देखिएका छन् । अब ३५ वर्षीय नडालले १८ औं वरीयताका रुसी खेलाडी करेन खचानोभको सामना गर्नेछन् । यो खेल उनका लागि बलियो चुनौती साबित हुन सक्नेछ ।

प्रकाशित : माघ ६, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?