कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजुको प्रदर्शन, आर्मीको भाग्य

सुदूरपश्चिम जित्दा फाइदा भो त्रिभुवन आर्मीलाई

काठमाडौँ — प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेटमा आइतबार समूह ‘ए’ को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि ७ विकेटको जित निकालेको छ । यो हारपछि प्रदेश १ को सेमिफाइनल सम्भावना सकिएको हो । यही नतिजाका कारण समूहबाट आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

राजुको प्रदर्शन, आर्मीको भाग्य

समूहमा पुलिस यसअघि नै सेमिफाइनल पुगिसकेको छ । राजु रिजालको प्रदर्शनमा सुदूरपश्चिमले १ सय ५९ रनको लक्ष्य ३ विकेट गुमाएर १९.१ ओभरमै पूरा गरेको थियो ।

राजुले ६८ रनको योगदान दिए । उनले ९ चौका र २ छक्का हाने । राजुको प्रतियोगितामा यो पहिलो खेल हो । राजुको टोलीका लागि प्रदर्शन गर्दा उता आर्मीलाई अन्तिम चारको बाटो खुलेको छ ।

गत वर्षसम्म राजुले आर्मीबाटै खेलेका थिए । तर, हालै आर्मीबाट राजीनामा दिई उनी गृहनगर गएका थिए । उनको राजीनामा स्वीकृत नभएका कारण रिलिज पत्र नपाउँदा राजुले प्रतियोगितामा अघिल्ला खेलहरू खेल्न पाएका थिएनन् ।

आइतबारको खेलअघि प्रदेश १ सँग १ अंक थियो । आर्मीलाई भेट्टाउने सम्भावना उसको मात्र थियो । किनकि प्रदेश १ सँग दुई खेल बाँकी थियो । तर, सुदूरसँग हारेपछि टोलीको त्यो सम्भावना सकिएको छ । सोमबार पुलिससँग खेल्ने खेल प्रदेश १ का लागि महत्वहीन रहनेछ ।

आइतबार प्रदेश १ ले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । त्यसमा मुकुन्द यादवले ४३, सोनु अन्सारीले ३१, मिनास थापा र कप्तान अंकित सुवेदीले समान २३ रन बनाए । सुदूरका हेमन्त धामी र नारायण जोशीले समान २ विकेट लिए ।

सुदूरपश्चिमको इनिङ्समा प्लेयर अफ द म्याच राजुबाहेक कप्तान सन्तोष भट्टले ४८ र अर्जुन साउदले अविजित २६ रनको योगदान दिए । अर्धशतक नजिक पुगेका सन्तोषले ४ चौका र ३ छक्का प्रहार गरे ।

दिनको पहिलो खेलबाट लुम्बिनी प्रदेशले दोस्रो निकालेको थियो । त्रिवि मैदान कीर्तिपुरमा समूह ‘बी’ अन्तर्गतको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । यो जितका बावजुत लुम्बिनी आगाडि बढ्न सकेन । टोली प्रतियोगिताबाट बाहिरिइसकेको छ । यस समूहबाट एपीएफ क्लब र वाग्मती प्रदेश यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेशको पनि चुनौती समाप्त भइसकेको छ । प्रतिष्ठाको लडाइँका लागि भएको खेलमा पहिलो ब्याटिङ गरेको गण्डकीले १ सय ५ रन लक्ष्य प्रस्तुत गरेको थियो । यसक्रममा पूरा टिम १९.१ ओभरमा अलआउट भयो । अनिल गुरुङले ५० रनको योगदान दिए । उनले ५ चौका र २ छक्का प्रहार गरे । लुम्बिनीका अनिल खरेलले ४, कृष्ण कार्की र दीपेन्द्र राउतले समान २ विकेट लिएपछि गण्डकी सस्तैमा समेटियो ।

प्रत्युत्तरमा लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । देव खनालले २६ बलमा ५६ रन बनाए । प्लेयर अफ द म्याच उनले १० चौका र एक छक्का प्रहार गरे । सुशान्त थापाले २६ रन योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिए ।

प्रकाशित : माघ ३, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?