भिल्लाले रोक्यो म्यानचेस्टरलाई
लन्डन — फिलिपे कोउटिन्होले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेडलाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।
भिल्ला पार्कमा भएको खेलमा म्यानचेस्टरले ब्रुनो फर्नान्डेसको दुई गोलको मद्दतले सुरुआती अग्रता लिएको थियो ।
ज्याकोब राम्सीले भिल्लाका लागि एक गोल फर्काएपछि कोउटिन्होले ८१ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि म्यानचेस्टर ३२ अंकमा सातौं स्थानमा रह्यो भने भिल्लाको २३ अंक भएको छ र १३ औं स्थानमा उक्लेको छ । ब्राजिली खेलाडी कोउटिन्होले यसै खेलबाट भिल्लाका लागि डेब्यु पनि गरे ।
शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–०, नरविचले एभरटनलाई २–१ र उल्भ्सले साउथह्याम्पटनलाई ३–१ ले पराजित गर्यो । न्युकासल युनाइटेड र वाटफोर्डबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।
प्रकाशित : माघ २, २०७८ ०८:०४