प्रिन्स दाहाल विश्व नम्बर एक

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी पहिलोपल्ट विश्व वरीयताको शीर्ष स्थानमा
कुशल तिमल्सिना

काठमाडौँ — नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

प्रिन्स दाहाल विश्व नम्बर एक

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो ।ब्याडमिन्टन संघका अध्यक्ष पूर्वराष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठले प्रिन्सको यो सफलताले नेपालीलाई गौरवान्वित बनाएको बताए । ‘ब्याडमिन्टनमा मात्र होइन, यस्तो सफलता अहिलेसम्म कुनै नेपाली खेलाडीले पाएकै थिएनन्, यो हामी सबैका लागि गर्वको क्षण हो,’ उनले भने, ‘चीन, इन्डोनेसिया, भारत, दक्षिण कोरियाजस्ता ब्याडमिन्टनका महारथी देशका खेलाडीलाई पछि पार्न सक्नु चानेचुने सफलता होइन ।’

मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । अगाडिका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।

फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । पहिलो चरणबाटै बाहिरिएबाहेक हरेक चरणको निश्चित अंकका आधारमा प्रिन्सको १० हजार ४ सय अंक पुगेको हो । ‘यो मेरो सपना पूरा भएको क्षण हो,’ प्रिन्सले बुधबार कान्तिपुरसँग खुसी साटे, ‘वरीयतामा माथि जाँदै गर्दा शीर्ष स्थानमा पुग्ने लक्ष्य थियो । अवस्था सामान्य भएर नियमित प्रतियोगिता खेल्न पाएको भए अझै राम्रो हुने थियो ।’

स्वास्थ्य मापदण्ड पालना गरी विश्वस्तरमा अहिले पनि नियमित च्यालेन्ज कप र सिरिज भइरहेका छन् । तर खर्चिलो मापदण्डका कारण प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् । नियमित खेल्न पाए जुनियर वरीयतामा सफलता पाउने सम्भावना देखेका उनले ब्याडमिन्टन संघ तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सहयोगको अपेक्षा राखेका छन् ।

विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । यो प्रतियोगिता अघिल्लो वर्षको फेब्रुअरीमै आयोजना हुने तालिका भए पनि कोभिडका कारण स्थगित भएको संघका अध्यक्ष श्रेष्ठले बताए । ‘प्रिन्सको यो सफलताले विश्व ब्याडमिन्टन र ब्याडमिन्टन एसियाको नेपालप्रति धारणा परिवर्तन हुने ठानेको छु,’ ब्याडमिन्टन एसियाका कार्यसमिति सदस्यसमेत रहेका श्रेष्ठले थपे, ‘यसले नेपाल ब्याडमिन्टन संघबाट सरकारलाई घचघच्याउन र निजी क्षेत्रलाई आकर्षित गर्न पनि सहज हुनेछ ।’

प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।

प्रिन्सलाई सुरुआतदेखि अहिलेसम्म संघले नीतिगत सहयोग गरिरहेको र भविष्यमा अझै धेरै सहयोगका लागि प्रतिबद्धता उनले व्यक्त गरे । उनका अनुसार ब्याडमिन्टन एसियाको एसिया ओलम्पिक परियोजनाअनुसार प्रिन्स र महिलातर्फ रसिला महर्जनलाई चार वर्षको ओलम्पिक छात्रवृत्ति पाएका छन् । सन् २०२१ को नोभेम्बरदेखि सुरु भएको यो परियोजनाअनुसार खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि वार्षिक ३ हजार डलर पाउनेछन् भने विश्व ब्याडमिन्टन र ब्याडमिन्टन एसियाले आयोजना गर्ने प्रशिक्षण शिविरमा सहभागी हुन पाउनेछन् ।

१७ वर्षीय प्रिन्स सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेको अर्को वर्ष जुनियर विश्व वरीयतामा समावेश भएका थिए । कोरोना महामारी सुरु हुनुअघिसम्म नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी पछिल्लोपल्ट सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए ।

घरेलु प्रतियोगितामा वरिष्ठ खेलाडीहरूलाई हराउन सक्ने भइसकेका प्रिन्सले २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । उनले गत वर्ष सिन्धुपाल्चोकमा आयोजित तोप–२१ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरेका थिए ।

प्रिन्स सन् २०१९ को मे महिनादेखि विश्व वरीयतामा समावेश भएका हुन् । त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा भारतका वरुण कपुरलाई पराजित गरेपछि १०३ बाट ५४औं वरीयतामा पुगेका थिए । वरीयतामा समावेश भएयता ११ प्रतियोगितामा एकलतर्फ २९ खेल खेलेका उनले १९ वटामा जितेका छन् । १० खेलमा पराजय ब्यहोरेका छन् । ११ मध्ये ३ प्रतियोगितामा उनी पहिलो खेलमै पराजित भएका थिए ।

वरीयता प्रवेशपछि प्रिन्सको प्रदर्शन (आधिकारिक)

२०१९ अप्रिल : योनेक्स रोजा जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ६४

२०१९ अप्रिल/मे : पेम्बानगुनान जय राय जुनियर ग्रान्ड प्रिम्स– राउन्ड ६४

२०१९ जुलाई : ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप– राउन्ड ३२

२०१९ अगस्ट/सेप्टेम्बर : इन्डिया जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ३२

२०१९ सेप्टेम्बर : दुबई इन्टरनेसनल सिरिज– स्वर्ण

२०१९ सेप्टेम्बर : अन्नपूर्ण नेपाल इन्टरनेसनल सिरिज– सेमिफाइनल

२०१९ नोभेम्बर : योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज– राउन्ड ६४

२०१९ डिसेम्बर : योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

२०२० जनवरी : प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिज– फाइनल

२०२० फेब्रुअरी/मार्च : डच जुनियर इन्टरनेसनल सिरिज– प्रिक्वार्टरफाइनल

२०२० मार्च : जर्मन जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

प्रकाशित : पुस २९, २०७८ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?