कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा

पोखरा — पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र श्रीलंकाकी राष्ट्रिय टिमकी कप्तान कविशा लक्षणीसम्मिलित टिमका खेलाडीबीच समन्वय अभाव प्रस्ट देखियो । श्रीलंकाका ३ खेलाडीसम्मिलित आयोजक टाइगर ग्रुपको खेल फितलो हुँदा होङबाजी न्यु डायमन्ड क्लबले ३–० को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्‍यो । 

न्यु डायमन्ड ६ अंक जोड्दै दोस्रो टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ शीर्षस्थानमा उक्लिएको छ । अरुणाको कप्तानी रहेको टाइगर ग्रुपमा श्रीलंकाका कविशा, आसाराप्पुलिगे शाक्य र प्रिथिका प्रमोधिनी सहभागी थिए । खेलाडीबीच तालमेल नमिल्दा एक सेट पनि टाइगरले आफ्नो पक्षमा पार्न सकेन । छोटो तयारी र कम समयको अभ्यासको परिणाम कोर्टमा झल्किएको थियो । न्यु डायमन्डले २५–१९, २५–१३, २५–१६ ले सेट जितेको थियो । प्लेयर अफ द म्याच न्यु डायमन्डकी प्रतिभा माली भइन् ।

न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर भइन् । खेलमा पूर्वराष्ट्रिय खेलाडी परीक्षा गुरुङले पनि टाइगर ग्रुपबाट खेलेकी थिइन् । सात वर्षअघि बेलायत गएकी उनले पछिल्लोपल्ट चार वर्षअघि ढोरपाटन कप खेलेकी थिइन् । पोखराकी उनी बिदामा आएका बेला आयोजक टोलीबाट खेलेकी हुन् । सुरुको खेलमा ‘टिम सेट’ नभएकाले आगामी खेल सुध्रिदै जाने अपेक्षा उनले गरिन् ।

पुरुषतर्फ पुलिस क्लब गण्डकी प्रदेशलाई ३–० कै सोझो सेटमा हराएर शीर्षस्थानमा उक्लियो । पुलिसले २५–१८, २५–१९, २५–२० ले सेट जित्यो । दोस्रो जित दर्ता गर्दै पुलिसले ५ अंक जोडेको छ । पुलिसका विशाल बिक म्यान अफ द म्याच र भीम गाहा उत्कृष्ट डिफेन्डर भए ।

त्रिभुवन आर्मीको महिला र पुरुष दुवै टिमले एपीएफका दुवै टिमलाई पराजित गरे । पुरुषतर्फ आर्मीले एपीएफलाई ३–१ को सेटमा हरायो । पहिलो सेट १८–२५ ले गुमाएको आर्मीले त्यसपछि लगातार २५–१९, २५–२०, २५–१४ ले सेट जित्यो । आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ द म्याच र ईश्वरबहादुर थापामगर उत्कृष्ट डिफेन्डर भए ।

महिलातर्फ आर्मीले एपीएफको चुनौतीलाई ३–१ ले नै पन्छायो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २२–२५ ले गुमायो । तेस्रो सेटमा आर्मी लयमा फर्किँदै २५–१५ को पुनरागमन जित निकाल्यो । चौथो सेटमा एपीएफको चुनौतीलाई आर्मीले २५–२१ ले मत्थर बनायो । आर्मीकी सफिया पुन प्लेयर अफ द म्याच र पुष्पा चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए ।

प्रकाशित : पुस २८, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?