कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस र एपीएफको लगातार जित

लोकेश बमद्वारा रामनरेश गिरीको एकै ओभरमा ५ चौका र १ छक्का प्रहार

काठमाडौँ — नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । मंगलबार पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ४ विकेट र एपीएफले वाग्मतीमाथि ७ विकेटले जित पाए । 

पुलिस र एपीएफको लगातार जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा लोकेश बमले २१ बलमै अर्धशतक बनाएपछि एपीएफले १ सय २६ रनको लक्ष्य ८ बलअगाडि पूरा गर्‍यो । प्लेयर अफ द म्याच लोकेशले कुल २४ बल खेल्दै ५० रन बनाउनेक्रममा १० चौका र १ छक्का प्रहार गरे । उनले प्रतिश जीसीको बलमा लङअनमा आदिल खानलाई क्याच दिए ।

लोकेशले चौथो ओभरमा रामनरेश गिरीलाई एकै ओभरमा ५ चौका र १ छक्का गरी २६ रन प्रहार गरे । छैटौं ओभरमा लोकेशले प्रतिशलाई पनि लगातार तीन चौका प्रहार गरे । ‘टिममा मेरो भूमिका नै आक्रामक ब्याटिङ गर्नु हो, मैले पावर प्लेको मजाले सदुपयोग गरें,’ रामनरेशलाई नै दोस्रो ओभरमा लगातार तीन चौका प्रहार गरेका आसिफ शेख त्यही ओभरमा आउट भएपछि ब्याटिङमा आएका लोकेशले भने ।

आसिफले १२ रन बनाउँदा ५ बलमात्र खेले । अर्का ओपनर प्रदीप ऐरी ५४ बलमा ३६ र सन्दीप जोरा १७ बलमा १५ रन बनाई अविजित रहे । यसबीचमा सुमित महर्जन ७ रनमा आउट भए । वाग्मतीका रामनरेश, रिजन ढकाल र प्रतिशले १–१ विकेट लिए ।


फिल्डिङका क्रममा घाइते भुवन कार्की । तस्बिर : केशव थापा/कान्तिपुर

यसअघि वाग्मतीले १२५–८ को स्कोरमात्र बनाएको थियो । ओपनर इशान पाण्डेले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २९ रन बनाए । उनका ओपनिङ जोडी सुवास खकुरेलले २१, नन्दन यादवले १६ बलमा ३ चौका र १ छक्कासहित २४ र आदिलले १९ रन बनाए । एपीएफका अविनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो र कप्तान शरद भेषावकरले १–१ विकेट लिए ।

पुलिसलाई करण केसीको बलिङले जित दिलायो । कीर्तिपुरमा पुलिसले टस जितेपछि आएको आर्मीविरुद्ध करणले उत्कृष्ट बलिङ गरे । करणले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएपछि आर्मी १९.५ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । करणलाई साथ दिनेक्रममा गुलशन झा र योगेन्द्रसिंह कार्कीले २–२ तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

आर्मीबाट कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए । उनले ३६ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर सोमपाल कामीले ३५ बलमा ६ चौकासहित ४२ रन बनाए । हरि चौहान, कुशल मल्ल र सुसन भारी समान १२ रनमा आउट भए । पुलिसले १८ ओभरमै १ सय ४१ रन बनायो । ओपनर कुशल भुर्तेलले २२ बलमा ५ चौका र १ छक्कासहित ३५ रन बनाए । शंकर राना र दीपेन्द्र ४–४ रनमा आउट भए पनि अनिल शाहले ११ बलमा १ चौका र २ छक्कासहित २२, आरिफले १० र रशिद खानले १९ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाउँदै पुलिसलाई जिताए । दिलीप नाथले २५ बलमा २ चौका र १ छक्कासहित २५ र योगेन्द्र ८ बलमा ९ रन बनाई अविजित रहे । आर्मीका शाहब आलमले ३, जितेन्द्र मुखियाले २ र कुशलले १ विकेट लिए ।

प्रकाशित : पुस २८, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?