कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी बढ्यो लिगको तयारी खर्च ?

‘ए’ डिभिजन लिग च्याम्पियनलाई १ करोड पुरस्कार दिने प्रस्ताव अस्वीकृत भए पनि ४२ क्लबको लागि तयारी खर्च १ करोड ५ लाख वृद्धि गरिएको छ
राजु घिसिङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले गत साउन १७ गते भएको छलफलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा क्लबहरूलाई तयारी खर्च २०–२० लाख रुपैयाँ दिने भनेका थिए, जसलाई त्यो भेलाले निर्णय पनि गरेको थियो ।

कसरी बढ्यो लिगको तयारी खर्च ?

गत मंसिर ३ गतेदेखि उपत्यकाको शीर्ष श्रेणीको लिग सुरु भयो । थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाको प्रतिस्पर्धासँगै आइतबार लिगमा ५५ खेल सकिए । अब यो सिजनका ३६ खेलमात्रै हुन बाँकी छ । लिगका १३ मध्ये आठौं चरणको प्रतिस्पर्धा चलिरहेकै बेला एन्फाको कार्यसमितिले निर्णय गर्‍यो– लिगको तयारी खर्च हरेक क्लबलाई २२ लाख ५० हजार दिने । अर्थात् अध्यक्ष र महासचिवले घोषणा गरेभन्दा २ लाख ५० हजार रुपैयाँ बढी ।

‘ए’ डिभिजन लिगका क्लबका लागि मात्रै होइन, शुक्रबार सकिएको दुईदिने बैठकले ‘बी’ र ‘सी’ श्रेणीका क्लबलाई पनि लिगको तयारी खर्च गत सिजन (२०७६ साल) दिइएकोभन्दा २ लाख ५० हजार थप गर्ने निर्णय गर्‍यो । अब ‘बी’ डिभिजनका क्लबले १२ लाख ५० हजार र ‘सी’ श्रेणीका टिमले ९ लाख ५० हजार रुपैयाँ पाउनेछन् । तीनै श्रेणीमा १४–१४ क्लब छन् । यसर्थ एन्फालाई यही आर्थिक वर्षमा १ करोड ५ लाख व्यायभार थपिएको छ । यो सिजन ‘बी’ र ‘सी’ डिभिजन लिग सुरु हुन बाँकी छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले लिगका क्लबहरूलाई तयारी खर्च थपिएको रकम पनि अझै कम भएको बताए । उनले भने, ‘एन्फामा भइरहेको फजुल खर्च र भत्ता कटौती गरेर भए पनि फुटबल खेल्ने क्लबहरूलाई बजेट बढाउनुपर्छ । त्यसैले मैले त्योभन्दा (२२ लाख ५० हजार) बढी तयारी खर्च दिने प्रस्ताव गरेको थिएँ ।’ बैठकमा चर्काचर्की परेपछि अध्यक्ष शेर्पा तयारी खर्च २–२ लाख थप्न तयार भए । त्यसमा १–१ लाख थपेर २३ लाख बनाउने प्रस्ताव केन्द्रीय सदस्य किरण राईले गरे । केहीबेरको तातो छलफलपछि तयारी खर्च २२ लाख ५० हजार पुर्‍याउने सहमति भएको थियो ।

अध्यक्ष शेर्पाले क्लबहरूलाई तयारी खर्च थप्नका लागि एन्फामा स्रोतको अभाव भएको दाबी गरेका थिए । शेर्पा समूह र वरिष्ठ उपाध्यक्ष नेम्वाङ समूहको चर्को बहसपछि बल्ल कार्यसमिति बैठक तीनै श्रेणीका क्लबलाई तयारी खर्च २ लाख ५० हजार थप्ने निर्णयमा पुगेको थियो । एन्फाले जिल्ला लिग सञ्चालनको लागि ५–५ लाख दिइरहेको छ । यसमा वृद्धि गर्ने प्रस्तावबारे अध्यक्ष शेर्पाले बैठकमा भने, ‘कुनै जिल्लामा त्यो बजेट पनि बढी भएको छ । त्यसैले थप्न अवश्यक छैन ।’ त्यसैले जिल्ला संघको लागि लिगलाई बजेट थप्ने प्रस्ताव अस्वीकृत भयो ।

पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग (२०७६) च्याम्पियन हुँदा मछिन्द्रले ५० लाख पुरस्कार पाएको थियो । उपविजेता आर्मीले ३५ लाख र तेस्रो भएको मनाङ मर्स्याङ्दीले २५ लाख प्राप्त गरेका थिए । त्यसमा यसपालि वृद्धि गर्ने घोषणा गर्दै अध्यक्ष शेर्पाले गत साउनमै भनेका थिए, ‘विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रोलाई २५ लाख पुरस्कार दिइनेछ ।’ एन्फाको निर्णयबिना नै अध्यक्षले पुरस्कार वृद्धिको घोषणा गरेको उल्लेख गर्दै बैठकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आक्रोश पोखे, ‘संस्थामा कहींकतै निर्णय भएको छैन । बाटोमा हिँड्दाहिँड्दै मिडियामा पुरस्कार घोषणा गर्न मिल्छ ?’ यसमा अध्यक्ष मौन बसिदिए ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले ‘ए’ डिभिजन लिग च्याम्पियनलाई १ करोड, उपविजेतालाई ५० लाख र तेस्रोलाई २५ लाख पुरस्कार दिनुपर्ने प्रस्ताव पनि ल्याए, जसलाई अध्यक्ष शेर्पाले ‘स्रोतको अभाव’ भन्दै अस्वीकार गरिदिए । अनि नेम्वाङले भनिदिए, ‘हामी सबै पदाधिकारी लागौं । स्रोत खोजौं । प्रायोजक ल्याऔं । अनि करोडको पुरस्कार दिऔं ।’

तर, पाँच महिनाअघि अध्यक्ष शेर्पाले घोषणा गरेको ७५ लाख, ५० लाख र २५ लाख दिनेमै निर्णय भयो ।

२०७४ साल वैशाख २२ गते भएको निर्वाचनमार्फत् गणेश थापाको युग समाप्त पार्दै कर्माछिरिङ शेर्पा नेतृत्वको समूह एन्फाको सत्तामा पुगेको थियो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाइएका थापाविरुद्धको अभियानमा सँगै रहेका शेर्पा र नेम्वाङबीच एन्फाको सत्तामा पुगेको पहिलो वर्ष नै मनमुटाव सुरु भयो, जुन आउने निर्वाचन (१५ जेठ, २०७९) को प्रतिस्पर्धी समूहमै परिणत भइसकेको छ । त्यसैको संकेत पनि थियो लिग खेल्ने क्लबलाई तयारी खर्च र पुरस्कार बढाउने प्रस्तावमा चर्को बहस । यसको प्रत्यक्ष फाइदा राजधानीका ४२ क्लबलाई हुने भयो ।

एन्फाको नेतृत्व शेर्पाले लिएपछि दुईपल्ट राष्ट्रिय लिग आयोजना गर्ने घोषणा गर्दै क्यालेन्डरमै समेटिएको छ । तर, सञ्चालन भने भएको छैन । राष्ट्रिय लिग पछिल्लोपल्ट २०७१–७२ मा भएको थियो, जसको च्याम्पियन थ्रीस्टारले १ करोड रुपैयाँ पुरस्कार कब्जा गरेको थियो । नेपाली फुटबलमा अहिलेसम्मकै ठूलो पुरस्कार त्यही हो ।

प्रकाशित : पुस २६, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?