कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तत: थ्रीस्टार लयमा

थ्रीस्टार २–० हिमालयन
हिमेश

काठमाडौँ — थ्रीस्टार क्लब त्यहीं पुगेको छ, जहाँ हुनुपर्ने थियो । के थ्रीस्टारले लय समातेको हो त ? अन्तत: सायद यस्तै भएको छ । थ्रीस्टार नेपाली घरेलु फुटबलको त्यस्तो टिम हो, जसले उपाधिको लागि चुनौती दिने गर्छ । सकेन भने पनि शीर्ष चारका लागि । अन्यथा यो क्लबलाई सुहाउँदैन पनि ।

अन्तत: थ्रीस्टार लयमा

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई पराजित गर्‍यो ।

यो जितको धेरै अर्थ छ । थ्रीस्टार लगातार ६ खेलमा अपराजित रहेको छ, भलै त्यसमा चार बराबरी रहे । अझ तीन गोलरहित बराबरी । अनि आठ खेलमा पाँच क्लिन सिट पनि पुगेको छ । थ्रीस्टारको यो लगातार दोस्रो जित हो, यसले भने बढी अर्थ राख्छ । यो जितपछि थ्रीस्टारको १३ अंक भएको छ र यो शीर्ष चारबाट खालि एकै अंकको मात्र दूरी हो । उसले अब तेस्रो स्थानका लागि आर्मी र संकटालाई चुनौती पेस गर्न सक्नेछ ।

शीर्ष दुई स्थानमा रहेका मछिन्द्र र मनाङ भने उसको पहुँचमा छैनन् । थ्रीस्टारले अहिलेसम्मको यात्राको बीचमा तीन खेल गोलरहित बराबरी नखेलेको भए, अहिलेको लिग समीकरण बेग्लै हुने थियो । खेलपछि थ्रीस्टार प्रशिक्षक उर्जन श्रेष्ठले भने, ‘जितमा खुसी छौं । पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा राम्रो खेल्यौं र गोल निस्कियो । अन्सुमन क्रोमा आएपछि राम्रो भएको छ । उनलाई हामीले पहिले नै अनुबन्ध गर्नुपर्ने थियो । अब टिम राम्रो हुनेछ ।’

थ्रीस्टारको पहिलो गोल ५७ औं मिनेटमा निस्केको थियो, जतिबेला रितिककुमार खड्काको प्रहार ‘हेभी डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । त्यो प्रहार बचाउने क्रममा अमृत श्रेष्ठलाई छोएको बलले पोस्टको दिशा लिएको थियो । त्यस स्थितिमा हिमालयनका गोलरक्षक दीप कार्कीले बलको बाटो अनुमान गर्न सकेनन् । त्यो गोल धेरै अर्थमा आत्मघाती जस्तै देखिएको थियो, तर त्यसमा अमृतको दोष थिएन र रेफ्री कबिन ब्यञ्जनकारले त्यसलाई आत्मघाती गोल पनि मानेनन् ।

दोस्रो गोल भने तिनै विदेशी खेलाडी क्रोमाको नाममा रह्यो, जसको आगमनपछि थ्रीस्टारको प्रदर्शन सुधारिएको छ । लाइबेरियाली फरवार्डले इन्ज्युरी समयको सातौं मिनेटमा यो गोल गरे, सब्टिच्युट लाकेन लिम्बूले निकालेको सटीक पासमा । यो जितपछि हिमालयनमाथि थ्रीस्टारको गौरव मान्न मिल्ने अपराजित यात्रा कायम रह्यो । अहिलेसम्म यी दुई टिमबीच भएका ६ खेलमा यो थ्रीस्टारको चौथो जित हो, बाँकी दुई खेल बराबरीमा टुंगेका छन् ।

यो हारपछि हिमालयनको लगातार तीन खेलको जित यात्रा टुंगेको छ । यो नतिजाले हिमालयन ११ अंकमा पाँचौं स्थानमा झरेको छ । थ्रीस्टारका पूर्वखेलाडी रहेका युगलकिशोर राई अहिले हिमालयनका प्रशिक्षक छन् । हारलाई विश्लेषण गर्दै उनले भने, ‘हामीले अवसर त बनायौं, तर त्यसलाई गुमायौं पनि । फुटबलमा जित्न स्कोर गर्नुपर्ने हुन्छ नै । समग्रमा खेल राम्रै रह्यो, आज जितेको भए, शीर्ष तीनको लडाइँमा हुने थियौं । अब त्यो रहेन ।’

प्रकाशित : पुस २५, २०७८ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?