कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्च करोडौं, बनेन गतिलो मैदान

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–१२ मा रहेको सदरमुकामको खेल मैदानमा गत वर्ष नगरपालिकाले २४ लाख खर्चेर प्यारापिट बनायो । तर प्यारापिटको संरचना २४ लाख बराबरको नभएको भन्दै स्थानीयले विरोध गरेका छन् । उपभोक्ता समितिले निर्माण गरेको प्यारापिटको प्राविधिक मूल्यांकनमै प्रश्न उठाएको छ ।

खर्च करोडौं, बनेन गतिलो मैदान

सिद्धिचरण नगरपालिका ४ रुम्जाटार खेलमैदानमा लाखौं खर्चिएर प्यारापिट निर्माण भइरहेको छ । अत्यन्तै साँघुरो मैदानमा निर्माण गरिएका अन्य संरचनाले झनै साँघुरो बनेको छ । सदरमुकाम र रुम्जाटार दुवै ठाउँका खेलमैदानमा ११–११ खेलाडीले फुटबल खेल्न मिल्ने आकार छैन । दुई वर्षअघि मानेभन्ज्याङ गाउँपालिका–४ केत्तुकेमा ३० लाख बजेटमा डाँडा फोडेर ‘ओखलढुंगा रंगशाला’ निर्माण कार्य सुरु भयो । तर, बाँकी कुनै काम हुन सकेको छैन । यो मैदानको बजेट राष्ट्रिय खेलकुद परिषद्मार्फत विनियोजित थियो ।

तीन वर्षअघि सिद्धिचरण नगरपालिका–२ ठूलाछापमा बीसौं लाख खर्चेर निर्माण गरिएको मैदानको पर्खाल निर्माण सम्पन्न नहुँदै भत्कियो । उपभोक्ता समितिका अध्यक्ष विवादित भए । यी केही उदाहरणमात्र हुन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो पाँच वर्षमा खेलमैदानको निर्माण शीर्षकमा १० करोडभन्दा बढी खर्च भइसकेको छ । स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकारको बजेट खर्च भएको हो । कतिपय खेलमैदानमा स्थानीय चन्दासमेत उठाएर खर्च गरेका छन् । तर अहिलेसम्म जिल्लामा एउटै पनि जिल्लास्तरीय खेल प्रतियोगिता सञ्चालन गर्ने मैदान छैन ।

‘हामी खेल मैदानमा यतिसम्म गरिब भयौं कि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सदरमुकाममा गर्न नसकेर गाउँका खेलमैदानमा गएर गर्नुपर्ने अवस्था भयो,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बालकुमार खनालले भने, ‘प्रदेश र राष्ट्रियस्तरको त कुरै छाडौं जिल्लास्तरका खेलकुद प्रतियोगिता गर्ने खेलमैदान जिल्लामा कतै पनि छैन ।’

राष्ट्रिय खेलकुद परिषद्मार्फत जिल्ला खेलकुद विकास समितिमातहत जिल्लामा गएको एक दशकमा करिब १ करोड हाराहारीको बजेट खेल मैदान निर्माणमा खर्च भएको छ । ती बजेट सदरमुकामको खेल मैदान, केत्तुके, बेतिनी, ढुस्के, व्याकुल माइला खेलमैदान, खिजिचण्डेश्वरी, रामपुर र मूलखर्कलगायतका मैदानमा खर्च भएको हो ।

खर्च भएका यी कुनै खेल मैदानमा राम्रोसँग भलिबलसम्म खेलाउने संरचना छैन । ‘भएका पुराना मैदानलाई दीर्घकालीन योजना बनाएर स्तरोन्नति गर्ने काम भएन,’ खेलकुदप्रेमी तथा स्थानीय नेत्रबहादुर नेम्बाङले भने, ‘नेताहरूले पहुँचका भरमा आफ्नो सीमित कार्यकर्ता पोस्नका लागि डाँडा, जंगल, खोला किनारमा खैलमैदान बनाउने भन्दै खर्च गर्नेभन्दा अरू केही काम हुन सकेको छैन ।’

अहिलेसम्म जिल्लामा एउटा इन्डोर खेल खेलाउने कभर्डहलसम्म नभएको उनले बताए । खेल मैदान निर्माणको योजनामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेशबाट प्राप्त कतिपय योजनामा उपभोक्ता समितिले स्थानीय तहसँग समेत बजेट लिएर एउटै योजना देखाएर डुप्लिकेसन गरी अनियमितता समेत गरेको आरोप छ ।

जताततै मैदान खनिएका कारण पर्यावरणमै असर पुगेको छ । मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईले खेलमैदान निर्माण गर्ने भन्दै पुराना पोखरी, आहालहरू पुर्ने कामले पर्यावरणमा असर पुगेको गुनासो गरे । कतिपय स्थानमा जंगलक्षेत्र, सार्वजनिक जग्गा मासेर खेलमैदान निर्माण गर्दा असर पर्ने गरेको छ ।

प्रकाशित : पुस २३, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?